कोरोनाभाइरस: विदेशबाट फर्किएकाहरू दुई हप्ता स्वयम् क्वारन्टीनमा बसेको अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई

स्थानीय तह

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काभ्रेपलाञ्चोकमा महाभारत गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य सहायता कक्ष

कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै भारत र चीनसँगका सबै सीमा नाका बन्द गर्ने निर्णयसँगै सरकारले हवाई र स्थलमार्गबाट भित्रिएका नेपालीहरू स्वयम् क्वारन्टीनमा बसेको अनुगमन गर्न स्थानीय निकायहरूलाई परिचालन गर्ने जनाएको छ।

आइतवार सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरिका सबै स्थानीय तहलाई वडास्तरसम्मै कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन तथा शङ्कास्पद व्यक्तिहरूको निगरानी र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सरकारले कोभिड-१९ देखिएका देशहरूबाट यात्रा गरी आएका व्यक्तिहरूले १४ दिनसम्म सेल्फ क्वारन्टीन अर्थात् आफै एक्लिएर बसे/नबसेको अनुगमन गर्न पनि स्थानीय तहहरूलाई भनेको छ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्रीले भारततर्फका स्थल नाकाबाट प्रवेश गरेका नेपालीमध्ये हजारौँको विवरण प्रदेश सरकारले नाकामा सङ्कलन गरेको र सरकारी परिपत्र पालना गराउन सबै स्थानीय तहलाई परिचालन गर्न लागिएको बीबीसीलाई बताए।

स्वयम् क्वारन्टीनको कार्यान्वयन

नेपालले सोमवारदेखि भारत र चीन दुवैतर्फका सीमानाकाहरू बन्द गरेको छ र सबै अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध लगाएको छ।

सरकारले १४ दिनसम्म नेपाल प्रवेश गर्ने सबैलाई स्वयम् क्वारन्टीनमा बस्न आग्रह गरे पनि कैयौँ मानिसहरू बाहिर हिँडेका विवरण आएका थिए।

त्यसप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, "घरमै क्वारन्टीनमा बस्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न हामी स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गर्न चाहन्छौँ। बाहिरबाट आउनुभएको छ भने कम्तीमा दुई हप्ता घरभित्रै बसेर सहयोग गरिदिन पनि हामीले अनुरोध गरेका छौँ।"

कञ्चनपुर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, आवतजावत बन्द गरिएपछि गड्डाचौकी नाकामा सोमबार दमकलबाट सडक सफाइ गरिदैँ।

नेपाल र भारतबीच खुल्ला सिमाना रहे पनि भारतमा कोरोनाभाइरसको सङ्क्रमण देखिएयता सीमानाकाबाट हुने आवतजावतलाई नियन्त्रण गरिएको थियो।

दुवै देशका अधिकारीले डेढ साताअघि चारवटा नाकाबाट मात्रै आवतजावत खुला गरिएको बताएका थिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

भारत र तेस्रो देशबाट हालै नेपाल प्रवेश गर्नेहरू स्वयम् क्वारन्टीनमा बसे वा नबसेको अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता शर्माले एकै दिनमा ८० हजार नेपाली भारततर्फका नाकाबाट प्रवेश गरेको भन्दै सीमित स्रोतसाधनका कारण राज्यले सबैलाई क्वारन्टीनमा राख्न नसक्ने बताए।

उक्त भनाइमा सहमति जनाउँदै सीमावर्ती जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सबै नागरिकले आफू पनि सुरक्षित रहने र अरूलाई पनि सुरक्षित बनाउने गरी व्यवहार गर्नुपर्ने बताए।

उनी भन्छन्, "नाकाबाट आएका हजारौँ मानिस तराई र पहाडका गाउँघर अनि शहरतिर पसिसके। तिनको अनुगमन सम्बन्धित ठाउँको पालिका वा सुरक्षा निकायले गर्न सक्छन्। यहाँबाट अनुगमन गर्न सम्भव छैन। सबै स्थानीय तह र उनीहरूका स्वास्थ्य अधिकारीसँग हामीले यसबारे छलफल गर्न लागिरहेका छौँ।"

उनले गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको पछिल्ला तीन दिनका नाम र गन्तव्यसहितका विवरण सङ्कलन गरिएको भन्दै स्थानीय तहलाई अनुगमन गर्न सहयोग होस् भनेर त्यो विवरणलाई अनलाइनमार्फत्‌ सार्वजनिक गर्ने उल्लेख गरे।

यसअघि बीबीसीसँग कुरा गर्दै सुनौली नाकामा अघिल्लो साता गरिएका स्वास्थ्य जाँचको समन्वय गरिरहेकी सिदार्थनगर नगरपालिकाकी जनस्वास्थ्य शाखा प्रमुख उमा थापाले एकै दिनमा १३ हजारको सङ्ख्यामा मानिसहरूले नाका पार गरिरहेकाले प्रत्येक व्यक्तिको विवरण सङ्कलन गर्न नसकेको बताएकी थिइन्।

स्थानीय निकाय र स्वास्थ्य स्वयम्‌सेवकको भरमा अनुगमन

सरकारी परिपत्रमा प्रत्येक स्थानीय तहलाई कोभिड-१९ को पूर्वतयारी र प्रतिकार्यका लागि वडा तह र स्थानीय निकायको तहमा दुईवटा संयन्त्र बनाउन निर्देशन दिइएको छ।

वडा तहको संयन्त्रले स्वास्थ्यकर्मी तथा देशभरि रहेका ५२ हजारभन्दा बढी महिला स्वयम्‌सेविकालाई परिचालन गरी कोरोनाभाइरसका मुख्य लक्षण देखिएका व्यक्तिहरूको निगरानी गर्ने भनिएको छ।

त्यसबाहेक स्थानीय तहका प्रमुख रहेको अर्को संयन्त्रले वडास्तरको समितिलाई परिचालन गर्ने, बजेट लगायतमा निर्देशन दिने र कोभिड-१९ प्रभावित देशबाट नेपाल आएका व्यक्तिहरू क्वारन्टीनमा बसे वा नबसेको नियममन गर्ने उल्लेख गरिएको छ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नाकाबाट प्रवेश गरेका व्यक्ति क्वारन्टीनमा बसे वा नबसेको स्थानीय तहमार्फत्‌ अनुगमन गरिने बताए।

नेपाल भारत

तस्बिर स्रोत, RSS

उनी भन्छन्, "हामीले प्रत्येक स्थानीय तह र स्वास्थ्य निकायहरूलाई 'एलर्ट' गराएका छौँ। कतै पनि त्यस्तो शङ्कास्पद व्यक्ति देखिएमा जनप्रतिनिधिले स्वास्थ्य केन्द्रलाई जानकारी दिने र अस्पतालहरूसँग समन्वय गर्ने गरी हामीले एउटा निर्णय गरेका छौँ।"

उनी थप्छन्, "हामीले बाहिरबाट आएका व्यक्तिहरूको तथ्याङ्क लिने र टेलिफोन नम्बर समेत राख्ने गरेका थियौँ। ठूलो सङ्ख्यामा विवरण रहेकाले अनुगमन गर्न सकिन्छ भन्ने हामीले ठानेका छौँ। हामीले केन्द्रबाट परिपत्र पाएका छौँ र वडा अनि टोल तहमा त्यो अभियान पुर्‍याउँदैछौँ।

प्रदेश तहका अधिकारीले प्रत्येक प्रदेशमा लक्षण देखिएका व्यक्तिहरूलाई एक्ल्याएर उपचार गर्न सक्ने आइसोलेशन कक्षहरू निर्माण गरिएको बताए पनि कोरोनाभाइरसको जाँच गर्ने प्रयोगशाला तयार नभएको र उपकरणहरू आफूसँग नरहेको उल्लेख गरेका छन्।

सङ्घीय मामिला मन्त्रालयको परिपत्रमा प्रत्येक वडा कार्यलयमार्फत्‌ विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्न र निगरानी गर्न अनि त्यसको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।