कोरोनाभाइरस: न्यूयोर्कमा मात्रै ३,५०० को मृत्यु

कोरोनाभाइरस: न्यूयोर्क

तस्बिर स्रोत, Getty Images

अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ।

त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए।

"मेरो एक मनले उच्च विन्दु चाँडै पुगिहालोस् भन्छ। तर फेरि अर्को मनले होइन त्यसका लागि हामी तयार भइसकेका छैनौँ भन्छ," कोमोले भने।

चीनलाई धन्यवाद

कोमोका अनुसार थप भेन्टिलेटरको खोजी जारी छ।

एक हजार भेन्टिलेटर पठाइदिएकोमा उनले चीनलाई धन्यवाद दिए। ओरेगन राज्यले पनि १४० वटा भेन्टिलेटर सहयोग गरेको उनले बताए।

कोरोनाभाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताएको जनाएका छन्।

उनले संघीय सहयोग अब सबभन्दा धेरै प्रभावित इलाकाहरूमा केन्द्रीत गरिने बताए।

"दुर्भाग्यवश निकै धेरै ज्यानहरू जानेछन्," उनले भने।

कोरोनाभाइरस: न्यूयोर्क

तस्बिर स्रोत, Getty Images

शनिवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले आगामी साताहरूमा अमेरिकाको अवस्था कस्तो हुनेछ भनेर खुलेर बताएका थिए।

अर्को साता देशका निम्ति 'सम्भवत: सबभन्दा कठिन' हुने भन्दै उनले अमेरिकीहरूलाई धेरैको ज्यान जाने स्थितिबारे तयार रहन बताए।

उनले कोभिड-१९ विरुद्ध राज्यहरूलाई सहयोग गर्न 'व्यापक सैन्य परिचालन गरिने' भन्दै त्यसका लागि हजारौँ सैनिक, स्वास्थ्य कार्यकर्ता तथा जानकारहरू खटाइने बताए।

एक हजार सैनिकलाई छिट्टै न्यूयोर्क शहरमा खटाइने उनले बताए।

अमेरिकामा हालसम्म आठ हजारको ज्यान गइसकेको छ।

संसारभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण मर्नेहरूको सङ्ख्या ६०,००० नाघेको छ भने सङ्क्रमित झण्डै १२ लाख पुगेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर