तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसः एशियाली मुलुकहरू दोस्रो लहरको सङ्क्रमणको मारमा, अन्यत्रबाट भित्रिँदै सङ्क्रमित व्यक्ति
दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायतका एशियाली मुलुकहरूले अन्य देशबाट आएका मानिसबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरको सामना गरिरहेका छन्।
कोरोनाभाइरस सुरुमा देखा परेको देश चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलो पटक त्यहाँ नयाँ सङ्क्रमणका कुनै पनि घटना नदेखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।
सिङ्गापुरमा थप ४७ जनामा सङ्क्रमण देखिएको छ जसमध्ये ३३ वटा घटना बाहिरबाट आएका मानिससँग सम्बन्धित छन्।
विश्वसनीयता
दक्षिण कोरियामा सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढेर बिहीवार १५२ पुगेको छ।
यद्यपि त्यसमध्ये बाहिरबाट आएका मानिससँग सम्बन्धित कति घटना छन् भन्नेबारे स्पष्ट भएको छैन।
जापानमा थप तीन जनालाई सङ्क्रमण भएको बुधवार पाइएको छ।
सबैभन्दा बढी प्रभावित जापानको होकाइदोमा फेब्रुअरीदेखि लागु गरिएको आपत्कालीन अवस्था चाहिँ अन्त्य गरिँदैछ।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
कुल १५४ जना सङ्क्रमित भएको सो क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण फैलने क्रम रोकिन थालेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले मानिसहरूलाई सचेत तथा घरभित्रै रहन आग्रह गरेका छन्।
चीनको न्याश्नल हेल्थ कमिशनले जनाएअनुसार डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमणको नयाँ घटना पहिलो पटक देखिएको छैन।
सङ्क्रमण सुरु भएको वुहानमा पनि पहिलो पटक सङ्क्रमणको नयाँ घटना नदेखिएको उसले जनाएको छ।
तर विदेशबाट फर्केका ३४ जना व्यक्तिमा चाहिँ सङ्क्रमण देखिएको छ।
चीनमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ३,२४५ जनाले ज्यान गुमाइसकेका छन्।
यद्यपि चिनियाँ तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाइँदैछ।
लोरा बिकर, बीबीसी संवाददाता, सोल
कोरोनाभाइरस सङ्क्रमितको पहिचान गर्ने, ठूलो सङ्ख्यामा परीक्षण गर्ने तथा तत्कालै बिरामीलाई अलग्ग राख्ने दक्षिण कोरियाली कदमहरूको प्रशंसा भइरहेको छ।
यसै महिनाको सुरुतिर महामारी उत्कर्षमा पुगेयता अहिले आएर नयाँ सङ्क्रमणको दर न्यून देखिएको छ।
बुधवारको वृद्धिअघि चार दिनसम्म सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या दोहोरो अङ्कमा बढेको पाइएको थियो।
स्वास्थ्य अधिकारीहरूले ढुक्क हुने अवस्था नरहेको भन्दै मानिसहरूलाई ठूला जमघट तथा भिडभाडदेखि टाढै बस्न आग्रह गरिरहेका छन्।
'कृपया घरभित्रै बस्नुहोस्'
बढी ध्यान अहिले युरोप तथा अमेरिकातिर केन्द्रित भएको छ। तर सङ्क्रमणका नयाँ घटनाले एशियाले यो प्रकोपबाट पार पाइनसकेको सङ्केत दिएका छन्।
मलेशियाका एक वरिष्ठ स्वास्थ्य अधिकारीले मानिसहरूलाई घरभित्रै बस्न र परिवार तथा आफूलाई सुरक्षित राख्न बुधवार अनुरोध गरे।
घरबाट निस्कन र हिँडडुल गर्नमा आंशिक प्रतिबन्ध लगाएको मलेशियामा ७१० जनामा सङ्क्रमण देखिएको छ।
सङ्क्रमितमध्ये अधिकांश व्यक्तिहरू गत फेब्रुअरीमा क्वालालम्पुरमा आयोजित एउटा धार्मिक समारोहमा सहभागी भएका थिए।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरि दुई लाख १५ हजार ९५५ जना व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने अहिलेसम्म आठ हजार ७४९ मो मृत्यु भइसकेको छ।
त्यसमध्ये अधिकांश अर्थात् ८० प्रतिशत घटना युरोप तथा पश्चिम प्रशान्त क्षेत्रमा भएका छन्।