तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: भारतमा तेस्रो व्यक्तिको मृत्यु, महामारी रोकथाम गर्न देशभरि विभिन्न प्रतिबन्ध
भारतमा कोरोभाइरस सङ्क्रमणबाट थप एक व्यक्तिको मृत्यु भएपछि मृतकको कुल सङ्ख्या तीन पुगेको अधिकारीहरूले बताएका छन्।
महाराष्ट्र सरकारका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मङ्गलवार मृत्यु भएको हो। उनी दुबईबाट भारत फर्किएका थिए।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।
त्यसबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।
भारतमा अहिलेसम्म केही विदेशीसहित १२६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।
त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ।
अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको हो। तर सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।
- के हुन्छ: सङ्क्रमण भएपछि शरीरमा के हुन्छ
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
के-के बन्द?
कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको त्यहाँको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ।
महामारी फैलिन नदिन भारत सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ।
संस्कृतिमन्त्री प्रह्लाद पटेलका अनुसार ती स्थान मार्च ३१ सम्म बन्द रहनेछन्। त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लिइने उनले बताए।
भारतले कोभिड-१९ नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ:
- भारत आउन चाहने विदेशी नागरिकलाई दिइएको अधिकांश प्रवेशाज्ञा एक महिनाका लागि स्थगित
- भारत आउन पाउने मानिसले पनि अनिवार्य १४ दिन क्वारन्टीनमा बस्नुपर्ने
- सबै विद्यालय, कलेज र चलचित्र घर मार्च ३१ सम्म बन्द
- झन्डै ६० जना विदेशी खेलाडी पनि सहभागी हुने आईपीएल क्रिकेटको मिति मार्च २९ बाट सारेर एप्रिल १५
भारतको स्वास्थ्य मन्त्रालयले भारतले स्वास्थ्यसम्बन्धी रोगको प्रकोप रोकथाम गर्ने तयारी गरिसकेको दाबी गर्दै शङ्कास्पद सङ्क्रमणको परीक्षण गर्न ढिलो भएको भन्ने आरोपको खण्डन गरेको छ।
समुदायमा रोग फैलिन रोक्न भारतसँग पर्याप्त क्षमता नभएको विज्ञहरूको भनाइ छ।
अहिलेसम्म ६,००० जनामा कोभिड-१९ परीक्षण भएको भए पनि रोग फैलिन नदिन त्यो पर्याप्त नभएको उनीहरूको धारणा छ।
विज्ञहरूका अनुसार विशाल जनसङ्ख्या भएको भारतमा दैनिक हजारौँ मानिसको परीक्षण गरेर सङ्क्रमित मानिस छुट्याउन सके समुदायमा रोग फैलिनबाट रोक्न सकिन्छ।
सरकारले सरकारी प्रयोगशालामा बाहेक अब निजी प्रयोगशालामा पनि कोभिड-१९ परीक्षण गर्न दिने बताएको छ।
मृत्यु हुने व्यक्ति हो हुन्?
मङ्गलवार मृत्यु हुने व्यक्ति दुबईबाट फर्किएका थिए। तर अस्पताल भर्ना हुँदा त्यो जानकारी लुकाएको महाराष्ट्र सरकारले बताएको छ।
पछि शङ्का लागेर परीक्षण गर्दा उनलाई कोभिड-१९ भएको पुष्टि भयो।
मुम्बई महानागरपालिकाका अनुसार ती व्यक्तिमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको थियो।
गत साता दिल्लीमा एक वृद्धा र र कर्नाटक राज्यमा एक वृद्धको मृत्यु भएको थियो।
दिल्लीकी ६८ वर्षीया महिलालाई उनको छोराबाट भाइरस सरेको अधिकारीहरूले बताएका छन्। ती महिलामा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि थिए ।
उनका छोरा गत महिना युरोपको भ्रमण गरेर फर्किएका थिए। सुरुमा सङ्क्रमणको कुनै लक्षण नदेखिएको भए पनि एक दिनपछि उनलाई ज्वरो आएको सरकारले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसपछि पूरै परिवारको परीक्षण गरियो तथा आमा र छोरालाई अस्पताल भर्ना गरिएको थियो।
भारतमा कोरोनाभाइरसका कारण पहिलो व्यक्तिको भएको पुष्टि बिहीवार मात्रै भएको थियो।
ती व्यक्ति साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका ७६ वर्षीय पुरुष हुन्।
यो पनि हेर्नुहोस्