तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: सङ्क्रमणसम्बन्धी अनर्गल हल्ला फैलिएपछि नेपाली चिकित्सक र सरकार पनि 'हैरान'
कोरोनाभाइरस सङ्क्रमणबारे नेपालमा पनि विभिन्न आधारहीन हल्ला फैलिन थालेपछि जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञ र सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन्।
पर्याप्त सूचना उचित तरिकाले प्रवाह हुन नसकेकाले अनर्गल कुरा फैलिने गरेको उनीहरूको ठम्याइ छ।
चीनमा महामारीका रूपमा फैलिएको कोभिड-१९ र उक्त रोग गराउने भाइरसबारे 'अतिरञ्जित' कुरा फैलिएपछि मानिसहरू 'आत्तिएको' तथा समाजमा 'अनौठो गतिविधि' देखा परेको सरकारी अधिकारीहरूको भनाइ छ।
कोरोनाभाइरस सङ्क्रमणबारे नेपालमा फैलिएका हल्लाका कारण आफूहरू हैरान भएको उनीहरूले बताए।
उक्त भाइरसबारे विश्वका विभिन्न स्थानमा षड्यन्त्रका कुरा तथा अनेक हल्ला चलेपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसो नगर्न चेतावनी दिएको छ।
नेपाली अधिकारी र चिकित्सकहरूलाई हैरान पारेका तीन मुख्य कुराहरू यी हुन्:
शङ्काले भयको वातावरण
माघ २९ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई 'आवश्यक सहयोग गरिदिनुहुन' भन्दै एउटा 'अत्यन्त जरुरी' पत्र पठायो।
त्यसमा उक्त गाउँपालिकाको वडा नम्बर ३ मा "हाल विश्वमा फैलिरहेको नयाँ कोरोनाभाइरसको जस्तो लक्षण देखिने बिरामीहरू देखा परेको" उल्लेख छ।
वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई बोधार्थ दिइएको उक्त पत्रमा "सो रोगको पीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइदिन" माग गरिएको छ।
उक्त पत्र सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यममा नेपालमा ठूलो सङ्ख्यामा मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको हुन सक्ने आशयका समाचारहरू प्रकाशित हुन थाले।
सिन्धुपाल्चोकमा मात्र नभएर उक्त पत्रले देशैभरि तरङ्ग उत्पन्न गराइदियो।
तर स्वास्थ्य मन्त्रालयले त्यहाँ 'मौसमी रुघाखोकी' भएको जनाएको छ।
जनचेतनाको कमीका कारण उक्त हल्लाले धेरैलाई अत्याइदिएको भन्दै मन्त्रालयले उक्त क्षेत्रमा देखिएको प्रकोपमा कोरोनाभाइरसको सम्बन्ध नभएको बताएको छ।
मन्त्रालयका प्रवक्ता प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बीबीसीसँग भने, "अहिले उच्च हिमाली क्षेत्रमा मौसमी रुघाखोकी लागिरहेको छ। प्रत्येक वर्ष यस्तो हुने गर्छ।"
"तर त्यहाँका कार्यकारी प्रमुखले पत्रै लेखिदिनुभयो। जनस्वास्थ्यका विषयमा यसरी लेखेर त्रास फैलाउनुहुँदैन। उहाँले त्यो अत्यन्त गलत काम गर्नु भएको छ।"
अझ उक्त पत्र सामाजिक सञ्जालमा भाइरल नै भएपछि आफूहरूलाई निकै अप्ठ्यारो परेको र जनमानसमा थप त्रास फैलिएको अधिकारीहरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला पनि यस्तै हल्लाका कारण मानिसहरू निकै त्रसित भएका र त्यसको असर चिकित्सकहरूमा पनि परेको बताउँछन्।
उनले भने, "सही सूचना दिनुपर्ने ठाउँमा त्यस्तो सूचना नपुगेर पनि यस्तो भएको हो।"
उनका अनुसार दक्षिण कोरियाबाट आएका एक व्यक्तिलाई कोरोनाभाइरसको कुनै लक्षण नै नदेखिईकन धरानबाट शङ्का गरेर अस्पतालमा पठाइएको जानकारी दिए।
पछि परीक्षण गर्दा उनलाई पनि मौसमी रुघाखोकी लागेको देखियो।
त्यस्तै रसुवागढीकी एकजना २४ वर्षीया महिलालाई दमको रोग थियो। एक्कासि उनमा पनि कोरोनाभाइरसको शङ्का भन्ने खालको समारचार फैलिएको उनी बताउँछन्।
"हामीले टेकुमा उहाँहरूलाई जेनरल वार्डमा राखेर नै उपचार गरेर पठायौँ," बास्तोलाले भने, "अफवाह धेरै फैलिएर धेरै मानिसहरू त्रासमा बाँचिरहेका छन्।"
विशेष खालका मास्कको खोजी
विशेष खालका मास्कको प्रयोग नगरे कोरोनाभाइरस सर्छ भन्ने हल्लाका कारण नेपालमा त्यस्ता मास्कको खोजी गर्नेहरू बढेको जानकारहरू बताउँछन्।
समाचारमा एउटा विशेष खालको मास्क 'एन-९५' लगाउनुपर्छ भन्ने विवरणहरू आएपछि धेरैले त्यस्तै मास्क खोज्दा बजारमा अभाव उत्पन्न भएको चिकित्सकहरू बताउँछन्।
बास्तोला भन्छन्, "अहिले तपाईंले बजारमा गएर एन-९५ मास्क खोज्नुभयो भने पाउनुहुन्न। अनि मैले नै धेरै मान्छेले त्यस्तो मास्क लगाएको देखेँ।"
उनका अनुसार अहिले नेपालमा सावधानी अपनाउनका लागि सामान्य 'मेडिकेटिड मास्क' लगाए हुने अवस्था छ।
तर अनर्गल कुरा फैलिएपछि धेरैले आत्तिएर 'एन-९५' मास्क नै खोजिरहेको उनको तर्क छ।
बास्तोला भन्छन्, "त्यो आवश्यक छ कि छैन भन्ने हो। अहिले त सर्जिकल मास्क मात्र लगाए हुन्छ। एन-९५ मास्क राम्ररी लगाउन जानेन भने कपडाको मास्क बराबर पनि हुँदैन। त्यसको साइज हुन्छ, त्यो मिलेन भने मास्क लगाउनुको कुनै अर्थ छैन।"
स्थानीयवासीको विरोध
चीनबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई केही समय अलग्गै चिकित्सकीय निगरानीमा राख्ने विषयमा प्रकाशित समाचारले केही स्थानमा अस्वाभाविक विरोध उत्पन्न भयो।
कोभिड-१९ को केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा अहिले नेपालीहरू स्वदेश फर्किने पर्खाइमा छन्। अहिलेसम्म उनीहरूमध्ये कसैलाई पनि सङ्क्रमण नभएको बताइन्छ।
तर उनीहरूलाई नेपालमा ल्याएर राख्न लागिएको भनिएको भक्तपुरको खरिपाटीका स्थानीयवासी आन्दोलित बने।
भक्तपुरका नेताहरूले पनि त्यसको विरोध गरे।
कतिपयले चीनबाट सङ्क्रमित नेपालीहरूलाई उद्धार गर्न लागिएको खबर फैलाएकाले त्यस्तो अवस्था सिर्जना भएको स्वयम् आन्दोलनकारीले बताएका छन्।
यद्यपि मङ्गलवार भएको एउटा छलफलपश्चात् त्यहाँका आन्दोलनकारीले आन्दोलन फिर्ता लिएका छन्।
खरिपाटीवासी प्रकाश लामिछानेले बीबीसीसँग भनेका थिए, "रोग लागेको होला वा नहोला तर चीनबाट मानिसहरू ल्याएर राखे यहाँका ७५ प्रतिशत मानिसहरू घर छाड्न तयार भएका छौँ।"
"यदि उहाँहरू बिरामी होइन भने पनि कम्तीमा सरकारी अधिकारीहरू आएर हामीलाई 'काउन्सिलिङ' त गरिदिनुपर्यो। यहाँ त मानिसलाई 'वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खायो' जस्तो भएको छ।
"त्यसलाई त सरकारले हटाइदिनुपर्यो नि!"
मङ्गलवार चिकित्सकहरूको टोलीसहित स्थानीय प्रशासनले खरिपाटीवासीलाई यथार्थ जानकारी दिएपछि आन्दोलन फिर्ता भएको थियो।