तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: वुहानमा नवजात शिशुलाई सङ्क्रमण भएको पुष्टि
चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।
चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्म भएको थियो।
सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको पत्ता लागेको थियो।
कसरी सर्यो भाइरस?
तर ती शिशुमा गर्भावस्थामै भाइरस सरेको हो वा जन्मपछि सरेको यो त्यो स्पष्ट भइसकेको छैन।
अहिलेसम्म चीनमा ५६३ जनाको मृत्यु भएको र २८,००० भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भइसकेको छ।
तर थौरै सङ्ख्यामा मात्र बालबालिका पीडित भएको बताइन्छ।
चिनियाँ समाचारसंस्था सिन्ह्वाले ती शिशुलाई सङ्क्रमण भएको समाचार बुधवार प्रकाशित गरेको हो।
उसका अनुसार ३.३५ किलो तौल भएका ती शिशुको अवस्था अहिले स्थिर छ र तउनलाई निगरानीमा राखिएको छ।
के भन्छन् विज्ञ?
विज्ञहरूका अनुसार गर्भमै उनलाई सङ्क्रमण भएको हुन सक्छ।
वुहानस्थित बाल अस्पतालका चिकित्सक जेङ लिङ्कले समाचारसंस्था रोएटर्सलाई भने, "यसबाट आमाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्ने सम्भावित मार्गबारे हामीले ध्यान पुर्याउनुपर्ने देखाउँछ।"
तर जन्मपछि आमाबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ।
कोलम्बिया यूनिभर्सिटीमा कार्यरत सरुवा रोगका विशेषज्ञले बिज्नस इन्साइडरलाई बताएअनुसार आमाले खोक्दा उत्सर्जित बिन्दुबाट सास फेर्दा शिशुमा पनि भाइरस सरेको हुन सक्छ।