कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनले गर्‍यो सङ्क्रमण गर्ने चिनियाँ प्रयासको प्रशंसा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वव्यापी सङ्कट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम 'उपयुक्त' भएको टिप्पणी गरे।

प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्ल्यूएचओको त्यस्तो प्रशंसा आएको हो।

जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।

चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा 'सरकारी कमजोरी र अपूर्णता' पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसङ्घीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो।

चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।

जिनिभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्ल्यूएचओको सुझावविपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्।

'प्रतिबन्धको समीक्षा आवश्यक'

महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गरे।

अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती 'छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा' हुनुपर्ने बताए।

अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभरि २४,००० भन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।

डब्ल्यूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल भने पनि त्यो 'महामारीको अवस्थामा नपुगेको' जनाएको छ।

यो नयाँ भाइरसबारे ज्यानुअरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो।

पछिल्लो अवस्था

मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ्‌कङ र फिलिपिन्समा समेत एक-एक जनाले ज्यान गुमाएका छन्।

अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ।

ब्रिटेन र फ्रान्सले समेत आफ्ना नागरिकहरूलाई सकेसम्म चीन छाड्न भनेको छ।

ताइवानले शुक्रवारबाट मुख्यभूमि चीनको पछिल्लो दुई सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ।

मकाउले समेत आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनोहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेका छन् र सुरुका केही दिन उनीहरूलाई क्वारन्टीनमा राखेर निगरानी गरेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झन्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन्।

पचहत्तर प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए।