कोरोनाभाइरस: चीनबाट उद्धार गरिने नेपालीलाई 'क्वारन्टीन'मा राख्न चार स्थान चयन

कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तबाट १८० जना नेपालीहरू उद्धारको पर्खाइमा रहेका बेला सरकारले उनीहरूलाई 'क्वारन्टीन' गर्ने चार स्थानको टुङ्गो लगाएको अधिकारीहरूले बताएका छन्।

सरुवा रोग फैलिएको स्थानबाट आउने मानिसलाई निश्चित अवधिका लागि चिकित्सकीय निगरानीमा अलग्गै राख्ने कामलाई क्वारन्टीन भनिन्छ।

प्रस्तावित केही स्थानमा आवश्यक पूर्वाधार पनि नरहेको तथा कतिपय स्थानमा स्थानीयवासीको अवरोध रहेका कारण सरकार अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा क्वारन्टीनस्थल व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

स्वास्थ्य, गृह, रक्षा, परराष्ट्र मन्त्रीसहित विभिन्न सरोकारवाला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो निर्देशन दिएका हुन्।

यसअघि खरीपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्रमा उद्धार गरिएका नेपालीहरूलाई राखिने बताइएको थियो।

तर स्थानीय स्तरबाट भएका विरोध वा अवरोध चिन्ताको विषय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन्।

कोरोनाभाइरसको सङ्क्रमणबारे पर्याप्त जानकारी नहुनाले अनावश्यक भय फैलाइएको र त्यसैका कारण विरोध समेत भएको उनको बुझाइ छ।

विरोध

प्रवक्ता श्रेष्ठले भने, ''सबैले बुझ्नुपर्‍यो कि क्वारन्टीन गर्ने भनेको स्वस्थ मानिसलाई सुरक्षित स्थलमा राख्ने हो, बिरामीलाई राख्ने होइन।"

"प्रभावित क्षेत्रबाट आउने भएकोले रोग सर्ने अवधिभरि लक्षण देखिइहाल्छ कि भनेर सुरक्षित स्थानमा राख्ने हो। तर यहाँ गलत बुझाइ छ।''

वुहानबाट नेपाल फर्किन इच्छुक भएका सबै नेपालीहरू पूर्ण सुरक्षित वा स्वस्थ रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

उनीहरूलाई नेपालमा ल्याएर क्वारन्टीनमा राखेर निगरानी गर्ने र कुनै लक्षण नदेखिए घर पठाइने सरकारको योजना छ।

सरुवा रोग विशेषज्ञ अनुप सुवेदी भन्छन्, "आफ्नै नेपाली दाजुभाइलाई क्वारेन्टाइनमा राख्न चयन भएको सम्भावित स्थानबारे हाल भइरहेको विरोध अशोभनीय छ। किनकि सङ्क्रमित भएको लक्षण देखिएको मान्छे नेपाल फर्कनै पाउँदैन।"

अनेक सावधानी अपनाइने कार्ययोजना रहेको हुनाले क्वारन्टीन गरिने ठाउँका स्थानीयमा सङ्क्रमण फैलिने सम्भावना नरहने उनको भनाइ छ।

खरीपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र रहेको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले स्थानीयवासीले प्रतिपक्षी दलको उक्साहटमा विरोध गरेको बताए।

उनले भने, ''सरकारले खरीपाटीमै क्वारन्टीन गर्ने निर्णय गर्छ भने हामीलाई कुनै आपत्ति हुँदैन किनकि उक्त कार्य नेपालीहरूकै हितका लागि हो।"

अभिभावक चिन्तित

सरकारले विशेष विमान पठाएर उद्धार गर्ने निर्णय गरेको पाँच दिन बितिसक्दा पनि क्वारन्टीन गर्नका लागि स्थान र अन्य पूर्वाधारको बन्दोबस्ती नहुँदा चीनको हुबेमा रहेका नेपाली नागरिकहरू थप चिन्तित बनेको उनीहरूका आफन्तले बताएका छन्।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख सागर दाहाल भने, "स्वास्थ्य मन्त्रालयमा आएर दिनहुँ हुबेमा रहेका नेपालीका आफन्तले उद्धारका लागि आग्रह गरिरहेका छन्। तर क्वारेन्टीन गरिने स्थानको अहिलेसम्म टुङ्गो लाग्न सकेन।''

बिहीवार पनि करिब ३० जना विद्यार्थीका अभिभावकहरू स्वास्थ्य मन्त्रालय पुगेर त्यहाँका अधिकारीहरूसँग आफ्ना छोराछोरीको उद्धार गरिदिन हारगुहार गरेका छन्।

उनीहरूले हुबेको वुहान सहरमा हरेका नेपाली विद्यार्थीहरू कस्तो अवस्थामा बसिरहेका छन् भनेर भिडिओ कल गरेर पनि अधिकारीहरूलाई देखाएको उक्त भेटमा सहभागी एक विद्यार्थीकी आफन्त सोमिला कक्षपतीले बताइन्।

उनले भनिन्, "हाम्रा आफन्तहरू चीनमा खाना पनि नपाएर छटपटाइरहेका छन्। त्यो कुरा कम्तीमा यहाँका अधिकारिहरूले बुझिदिनुपर्‍यो नि!"

क्वारन्टीन भनेको के हो?

स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाइ सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।

त्यसका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु जरुरी हुन्छ।

उक्त अवधिमा सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गर्छन्।

कोरोनाभाइरसको हकमा कम्तीमा दुई सातासम्म क्वारन्टीन गर्ने अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ।

उक्त अवधिमा क्वारन्टीनमा राखिएका मानिसहरूको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अङ्गको भित्री भागबाट समेत विभिन्न नमुना निकालेर परीक्षण गरिन्छ।

उक्त अवधिमा उनीहरूको उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तीहरूले विशेष सावधानी अपनाउने गर्छन्।

यो पनि हेर्नुहोस्