इरान विमान दुर्घटनाः ब्रिटिश राजदूत तेहरानमा पक्राउ

रब मकेयर

तस्बिर स्रोत, gov.uk

तस्बिरको क्याप्शन, इरानका लागि ब्रिटिश राजदूत रब मकेयर

युक्रेनी यात्रुवाहक विमानलाई "भुलवश" खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन्।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन" भनेको छ।

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको बुझिएको छ।

पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए।

उल्लङ्घन

यूकेका विदेशमन्त्री डोमिनिक राबले एउटा वक्तव्यमा भनेका छन्, "तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो।"

तस्निम समाचारसंस्थाले ब्रिटिश राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्वीर ट्विटरमा पोस्ट गरेको थियो।

इरानी सञ्चारमाध्यमका अनुसार मकेयरमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ।

प्रदर्शनकारी

तस्बिर स्रोत, EPA

शनिवार इरानी अधिकारीहरूले युक्रेनी यात्रुवाहक विमानमा "मानवीय त्रुटि" का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए।

त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए।

यसअघि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानी स्वीकारोक्ति "पहिलो महत्त्वपूर्ण कदम" भएको भन्दै उक्त "दुःखद घटना" बारे अनुसन्धान गर्न आग्रह गरेका थिए।

"अक्षम्य गल्ती"

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो।

युक्रेनी विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए। स्वीडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा सवार थिए।

तर शनिवार राष्ट्रपति हसन रुहानीले इरानी सेनाले "भुलवश" युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए।

उनले क्षेप्यास्त्र प्रहार एउटा "अक्षम्य गल्ती" भएको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानी क्षेप्यास्त्रले विमानमा यसरी प्रहार गर्‍यो

अमेरिकी सैनिकहरू बस्दै आएका इराकस्थित दुईवटा सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि विमान दुर्घटनाको खबर आएको थियो।

ज्यानुअरी ३ तारिखमा अमेरिकाले इरानी सैनिक जेनरल कासिम सुलेमानीलाई मारेपश्चात्‌ चर्किएको तनावबीच युक्रेनी विमान क्षेप्यास्त्र प्रहारको मारमा परेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा गरिएको क्षेप्यास्त्र आक्रमणमा सुलेनमानी मारिएपछि तेहरानले त्यसको बदला लिने जनाएको थियो।