इरान विमान दुर्घटना: 'भुलवश' युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति, राष्ट्रपतिले भने 'अक्षम्य गल्ती'

इरान विमान दुर्घटना

तस्बिर स्रोत, Getty Images

इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले "मानवीय त्रुटिका कारण" विमान खसालिएको स्वीकारोक्ति गरेको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा "मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको" निष्कर्ष निस्किएको एउटा ट्वीटमा लेखेका छन्।

उक्त घटनालाई "ठूलो विपत्ति र अक्षम्य गल्ती" भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। तर इरानले त्यसको खण्डन गरेको थियो।

इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई 'हास्यास्पद' भन्दै त्यो अमेरिकाको 'मनोवैज्ञानिक कारबाही' को अंश भएको दाबी गरेका थिए।

तर "सम्भवत: त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको" अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबावमा परेको थियो।

के भएको हुन सक्छ?

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्षेप्यास्त्रले विमानमा यसरी प्रहार गर्‍यो

अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए।

दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।

इरान विमान दुर्घटना

फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ।

मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले दुर्घटनामा "आतङ्कवाद" को भूमिका नभएको बताएका थिए।

इरान विमान दुर्घटना

तस्बिर स्रोत, Getty Images

अनुसन्धानबारे इरान के भन्छ?

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गरिने वचन दिएको छ।

तर टेलिभिजनमा प्रसारित दृश्यमा दुर्घटनास्थलमा भग्नावशेष हटाउन उपकरणहरू प्रयोग गरेर खनिएको देखिएको थियो।

त्यसो गर्दा महत्त्वपूर्ण प्रमाण दुर्घटनास्थलबाट हटाएको हुन सक्ने शङ्का उत्पन्न भएको थियो।

इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो।

तर एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको शुक्रवार बताए।

इरानसँग रुसमा निर्मित टोर क्षेप्यास्त्र हान्न सक्ने प्रतिरक्षा प्रणाली छ

तस्बिर स्रोत, AFP/GETTY IMAGES

तस्बिरको क्याप्शन, इरानसँग रुसमा निर्मित टोर क्षेप्यास्त्र हान्न सक्ने प्रतिरक्षा प्रणाली छ

अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको पुष्टि गरेको छ।

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ, र क्यानडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ।

विश्वव्यापी उड्डयन नियमानुसार कुनै पनि अनुसन्धानको नेतृत्व गर्ने अधिकार इरानको हो, तर सामान्यतया विमान निर्मातापनि अनुसन्धानमा संलग्न हुन्छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका थिए।

क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए।