इरानमा विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु

तस्बिर स्रोत, AFP
इरानमा बुधवार विहान १७६ जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।
युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।
इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ।
उडान सङ्ख्या पीएस ७५२ रहेको उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ।
सो विमानमा यात्रु र चालक दलका सदस्यगरी १७६ जना रहेको बताइएको छ।
विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।
सो विमानमा मृत्यु हुनेहरू कम्तीमा विभिन्न छ देशका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाडेम प्रिस्ताइकोले बताएका छन्:
- ८२ जना इरानी
- ६३ क्यानेडेली
- ११ युक्रेनी, चालक दलका सदस्यसहित
- १० स्वीडिश
- चार जना अफगान
- तीन जना जर्मन
- तीन जना ब्रिटिश
तेहरानस्थित युक्रेनको दूतावासले सो दुर्घटना विमानको इञ्जिनले काम गर्न छोडेका कारण भएको बताएको छ।









