इरानको क्षेप्यास्त्र प्रहारपछि बग्दादको अवस्थाबारे यसो भन्छन् इराकका नेपाली

इराक

तस्बिर स्रोत, facebook/jitman

इरानले आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ युद्ध भड्कने खतरा बढिरहेको बताइएको छ।

तर द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

नेपालीहरू सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन्।

इरान-अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ।

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इराको राजधानी बग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा कार्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी:

बम हान्यो भन्ने सुनिन्छ

मेरो घर गोर्खा हो। म इराक आएको नौ वर्षजति भयो। म बग्दादस्थित एउटा होटलमा काम गर्छु।

हाम्रो होटल बग्दादको ग्रीन जोन (यस क्षेत्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ।

यहाँबाट १० मिनेट हिड्दा ग्रीन जोन पुगिन्छ। अहिले स्थिति खासै गाह्रो छैन। तर गएराति चाहिँ बम हान्यो भन्ने सुनियो।

इराकीहरूले बम पड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि खतरै हुन्छ कि भन्ने लाग्छ।

इराक

तस्बिर स्रोत, facebook/jitman

तस्बिरको क्याप्शन, जीतमान बग्दादस्थित एउटा होटलमा कार्यरत छन्

दूतावासबाट कल आयो

म होटल भित्रै भएकाले बम पड्किएको त सुनिन। बग्दादको स्थिति सामान्य नै देखिएको छ।

यहाँका अमेरिकी सेनाहरू बाहिर निस्किएको देखिएको छैन। सेनाहरू भने थपिएका थपिएकै छन् भन्ने सुनिन्छ।

अहिले इराकी जनताहरू एकजुट भएका छन्। एकै स्वरमा "अमेरिकीहरूलाई बाहिर निकाल्नु पर्छ" भनिरहेका छन्।

त्यसैले होला बाहिर जुलुस रोकिएको छैन। अब दुई/चार दिनमा के हुन्छ हेरौँ।

इराकीका कुरा सुन्दा अलि बढी नै खतरा होला जस्तो छ।

हामीलाई कुवेतस्थित नेपाली दूतावासबाट कल गरिरहनु भएको छ।

हुनत यहाँ होटलहरू पनि धैरै सुकिसके। मान्छे आउनै छाडे। सबै आफ्नो देशमा फर्किएर गए।

हाम्रो होटलमा पनि ८०-९० वटा कोठाहरू रहेका छन्। पहिले ती सबै भरिन्थे। अहिले १५/२० वटामा मात्र मान्छे छन्।

इरान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इरानी सैन्य जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन इराकस्थित सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेको इरानले जनाएको छ

सुरक्षा कडा पारिएको छ

म बसेको क्षेत्रमा मात्रै डेढ सय भन्दा बढी नेपाली काम गर्छन्। धेरैसँग भिसा र पासपोर्ट पनि हुँदैन।

कोही संयुक्त राष्ट्रसङ्घका नियोगहरू र कोही अमेरिकी सेनाको आधार शिविरमा पनि काम गर्छन्।

सैन्य शिविरभित्र फोन चलाउन पाइन्न भन्छन् साथीहरू। कहिलेकाहीँ इन्टरनेटमार्फत् कुरा हुन्छ। त्यहाँ काम गर्ने साथीहरूसँग फेसबुकमा कुरा हुन्छ।

अहिले त अवस्था त्यस्तो बिग्रिएको छैन। तर खतरै भयो भने त आफ्नो देश फर्केर जानु पर्‍यो।

अहिलेसम्म बम पड्किने र बन्दुक हानाहान चाहिँ भएको छैन।

इराकी फौजले खानतलासी लिने काम भने बढाएको छ। पहिले भन्दा धेरै इराकी फौज सडकमा तैनाथ देखिन्छन्।

अहिले बजार र होटल त सुनासन बनिसके। हामीसँग काम गर्ने र अन्यत्र काम गर्ने भारतीयहरूलाई चाहिँ उनीहरूको दूतावासले अनिवार्य फिर्ता लाने भनेको छ।

कतिपय त फिर्ता पनि गइसके। हेर्दै जाउँ के हुन्छ। शान्ति आउँछ कि!