इरानका विदेशमन्त्रीले भिसा पाएनन्, इरानी संसद्‍द्वारा अमेरिकी सेना आतङ्ककारी घोषित

सुलेमानी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सुलेमानीलाई इरानमा नायक मानिन्थ्यो

अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न लागेका इरानी विदेशमन्त्रीलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको विवरण आएको छ।

त्यो निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ।

इरानी विदेशमन्त्री जावाद जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा बोल्न चाहेका थिए।

यसैबीच इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ।

इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन गरेको छ।

अमेरिकाविरोधी भावना

इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रेभलूशनरी गार्ड्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीले भने, "शहीद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्... अहिले उनको मृत्यु भएको छ।"

शवयात्रामा सहभागीहरूले अमेरिका र ट्रम्पविरोधी नारा लगाएको संवाददाताहरूले बताएका छन्।

"उनी [सुलेमानी] जनताको सेवा गर्न तत्पर महापुरुष मानिन्थ्यो...। उनको हत्याको प्रतिशोध लिनैपर्छ," एक १८ वर्षीय विद्यार्थीले एक समाचार संस्थालाई बताए।

तेहरानमा पनि हजारौँ मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएका थिए

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, तेहरानमा पनि हजारौँ मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएका थिए

सोमवार सर्वोच्च नेता आयतूला अलि खामनेईले तेहरानमा सुलेमानीको शवयात्रामा प्रार्थना गरेका थिए।

उनलाई सुलेमानीको शवपेटिकामा आँशु झार्दै गरेको देखिएको थियो।

इरानको सरकारी टेलिभिजनले दशौँ लाख मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएको जनाएका छन। मानिसहरूको भिड अन्तरिक्षबाट खिचिएको तस्बिरमा पनि देखिएको छ।

इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ।

कूड्स फोर्स आईआरजीसीअन्तर्गत छ। उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ।

झन्डै ५,००० जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो। उनले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको थिए।