इरान-अमेरिका तनाव: नेपाली बजारमा सुनको मूल्य बढ्यो, अझै बढ्ने अनुमान

तस्बिर स्रोत, EPA
केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको भए पनि मङ्गलवार केही घटेको छ।
सुनको मूल्य अप्रत्याशित रूपमा बढेपछि विश्वभरि नै विक्री गर्ने क्रम बढेको थियो। त्यसैले मङ्गलवार सुनको भाउ केही घटेको विज्ञहरू बताउँछन्।
अहिले अमेरिका र इरानबीच जारी तनावले सुनको मूल्य विश्वभरि नै बढेको बताइन्छ।
नेपाली बजारमा मङ्गलवार छापावाल सुनको भाउ प्रतितोला ७५,००० रुपैयाँ तोकिएको छ। सोमवार छापावाल सुनको मूल्य प्रतितोला ७६,००० रुपैयाँ थियो।
नेपाली विक्रेताका अनुसार सोमवार विश्वबजारमा सुनको भाउ प्रतिऔन्स १,५७५ डलर हुँदा नेपाली बजारका लागि मूल्य निर्धारण गरिएको थियो।
मङ्गलवार विश्वबजारमा प्रतिऔन्स १,५६० डलर भएकाले नेपाली बजारमा सुनको मूल्य केही घटेको हो।
एक औन्समा २.४३ तोला हुन्छ। नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारका लागि एक डलरको सटही दर ११५.४० रुपैयाँ तोकेको छ।
विशेषगरी मध्यपूर्वमा तनाव बढ्नेबित्तिकै विश्वभरि सुनको मूल्य प्रभावित हुने विक्रेताहरूले बताउँछन्।
मध्यपूर्वमा द्वन्द्व बढ्दा किन सधैँ सुनको भाउ बढ्छ त? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष तेजरत्न शाक्यसँग बीबीसी न्यूज नेपालीले कुरा गरेको छ।

उनीसँग गरिएको कुराकानीको सार
इतिहास हेर्ने हो भने मध्यपूर्व मात्र होइन अमेरिका संलग्न भएको जुनसुकै द्वन्द्वले सुनको भाउ बढाउने गरेको छ। भियतनाम युद्धका बेला पनि सुनको भाउ निकै बढेको थियो।
अमेरिकास्थित वाल स्ट्रीटको शेअर र अन्य बजारले विश्वको अर्थतन्त्रलाई असर गर्ने हुँदा त्यसो हुन्छ।

तस्बिर स्रोत, Getty Images
यदि वाल स्ट्रीटमा शेअरको भाउ घट्यो भने लगानीकर्ता निराश हुन्छन्। उनीहरूले अन्यत्र विकल्प खोज्छन्।
त्यस्तै अमेरिकी डलरको भाउ घट्यो भने पनि लगानीकर्ताले अन्य विकल्प खोज्छन्।
त्यसरी खोजिने विकल्पमा पहिलो स्थानमा सुन आउँछ। मानिसहरू सुनलाई प्रमुख लगानी गर्ने वस्तुका रूपमा लिन्छन्।
सुनकै आधारमा मुद्राको मूल्य पनि निर्धारण हुन्छ।
हुन त विश्वस्तरीय नेताहरूले विभिन्न समयमा सुनका आधारमा मुद्राको मूल्य तय गर्ने कुरालाई फेर्न नखोजेका होइनन्। तर उनीहरू त्यसमा सफल भएनन्।
भियतनाम युद्धको बेला पनि यस्तो प्रस्ताव गरिएको हामीले इतिहासमा भेट्छौँ।
त्यस बेला सुनको भाउ प्रतिऔन्स ३५ डलरबाट बढेर एक्कासि ७० डलर पुगेको थियो। तर अहिले त यो बढेर १,५६० डलर भइसक्यो।
पहिले युरोपेलीहरू सुनलाई ध्यान दिँदैनथे। तर पटकपटक अर्थतन्त्र खराब हुन थालेपछि सुनमा लगानी गर्ने चलन बढेको हो।
मानिसहरू सुनलाई प्रमुख लगानी गर्ने वस्तुका रूपमा लिन्छन्
गत डिसेम्बर अन्त्यसम्ममा सुनको भाउ बढाउने सबैभन्दा ठूलो कारण अमेरिका-चीनबीच भएको व्यापारयुद्ध थियो।
त्यसले गर्दा शेअर बजार कमजोर भएको थियो। तर गत डिसेम्बर १५ मा अमेरिका र चीन एकखाले समझदारी भएपछि त्यसमा केही कमी आउने अपेक्षा गरिएको थियो।
अहिले आएर इरान र अमेरिकाबीच एक्कासि देखिएको तनावले गर्दा सुनमा असर परेको छ। अहिले धेरैलाई अब द्वन्द्व हटाउन नसकिने वातावरण तयार भयो भन्ने परेको छ।
त्यसैले गर्दा सुनमा लगानी गर्नेहरू बढेकाले भाउ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा डिसेम्बर अन्त्यमा सुनको मूल्य प्रतिऔन्स १,५२३ डलर थियो। अझ डिसेम्बर १५ तिर त १,४८० डलरको हाराहारीमा थियो।
तर ज्यानुअरी सुरु हुनेबित्तिकै प्रतिऔन्स १,०२३ डलरबाट १,५५३ डलर पुग्यो।
सोमवार अझ बढेर १,५७५ डलर पुग्यो। मङ्गलवार चाहिँ विश्वभरि सुन बेच्ने मानिसहरू बढेकाले भाउ १५ डलरजति घट्यो।
अब चाँडै सुनको भाउ प्रतिऔन्स १,६०० डलरजति पुग्ने अनुमान छ।

तस्बिर स्रोत, EPA
विगत ५/७ महिनादेखि तेलको भाउको असर भने सुनमा देखिएको छैन। तेलको भाउ बढ्दा सुन उत्खनन गर्दा लाग्ने इन्धन लागत बढ्ने भएकाले सुनको भाउ बढ्नेगर्थ्यो।
तर अहिलेका लागि यो कारण होइन। हताश भएर मानिसहरूले सुन किनेका हुन्।
अबका दिनमा सुनको भाउ कता जान्छ भन्ने चाहिँ भन्न सकिने अवस्था छैन।
किनकि इरान र अमेरिकाबीचको तनाव के हुन्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन।
यो तनावले सुनको भाउलाई अनुमान नै गर्न नसकिने बनाइदिएको छ।

यो पनि हेर्नुहोस्









