भेनेजुएला: पैसाको अभाव धान्न ढुकुटीको सुन बेच्दै

टर्कीको कोरमस्थित सुन प्रशोधन केन्द्रमा भेनेजुएलाका उपराष्ट्रपति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भेनेजुएलाका उपराष्ट्रपतिले जनवरी १६ मा टर्कीको कोरमस्थित सुन प्रशोधन केन्द्रको भ्रमण गरेका थिए

भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन्।

भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू बाहिर आइरहेका छन्।

त्यसक्रममा उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ।

यूएईको आबु धाबी स्थित लगानी कम्पनी नुर क्यापिटलले गत साता मात्रै भेनेजुएलाको केन्द्रीय ब्याङ्कसँग तीन टन सुन किनेको स्वीकार गरेको छ।

रोएटर्स समाचार संस्थाले हेरेको एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको छ।

सुन नकिन्न चेतावनी किन?

नुर क्यापिटल र अन्य फर्महरूलाई अमेरिकाले भेनेजुएलाको सुन नकिन्न चेतावनी दिइरहेको छ किनभने अमेरिकाले आर्थिक प्रतिबन्धहरू लगाएर निकोलस मदुरोलाई सत्ताबाट हटाउन चाहन्छ।

रोएटर्स समाचार संस्थाका अनुसार गत साता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन टन सुन बोकेर उडेको थियो।

बीबीसीकी क्यान्डस पिएट् भन्छिन्, "रुसी विमानहरू पनि त्यो विमानस्थलमा आउजाउ गरिरहेको हल्ला छ। तर रुसले त्यो असत्य भएको बताउँछ। स्पष्ट रूपमा निकोलस मदुरो सरकार अहिले आर्थिक दबाबमा परिरहेको छ।"

भेनेजुएलाको सुन खानी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ताहरू व्यक्त हुने गरेका छन्

भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोले भने भेनेजुएलाका सम्पत्तिको सुरक्षा गर्न विभिन्न उपायहरू अपनाउनु पर्नेमा जोड दिइरहेका छन्।

भेनेजुएलाको सुन नकिन्न टर्कीलाई चेतावनी

बीबीसीलाई प्राप्त जानकारी अनुसार टर्कीले पनि भेनेजुएलाको सुन किनिरहेको छ।

भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन हुन जान्छ।

त्यसैले टर्कीमाथि अहिले सुन नकिन्न दबाव बढिरहेको छ।

टर्कीका राष्ट्रपति रिजेप तायिप एर्दोआनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई दह्रो समर्थन गरिरहेका छन्। मदुरो आफैँ चौतर्फी राजनीतिक दबाब भोग्दैछन्।

टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको छ।

गत वर्ष भेनेजुएलाले ९० करोड डलर मूल्य बराबरको सुन प्रशोधन गर्न भन्दै टर्कीमा पुर्‍याएको थियो। तर प्रशोधित सुन फेरि भेनेजुएला फर्काइएको कुने प्रमाण छैन।

यो पनि पढ्नुहोस: