इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ५० जनाको मृत्यु

कासिम सुलेमानीको शवयात्रा

तस्बिर स्रोत, AFP

अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्।

आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।

इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।

केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो।

सुलेमानी

तस्बिर स्रोत, EPA

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ।

सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो।

तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो।

कूड्स फोर्सका नयाँ प्रमुख इस्माइल गानी शोकाकुल भएर आफ्ना पूर्ववर्ती सुलेमानीप्रति श्रद्धा व्यक्त गर्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कूड्स फोर्सका नयाँ प्रमुख इस्माइल गानी शोकाकुल भएर आफ्ना पूर्ववर्ती सुलेमानीप्रति श्रद्धा व्यक्त गर्दै