इरान विमान दुर्घटना: युक्रेनी विमानसेवाको बोइङ 'तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो'

तस्बिर स्रोत, AFP
मङ्गलवार इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयासमा रहेको इरानी अनुसन्धानकर्ताहरूले बताएका छन्।
उक्त बोइङ ७३७-८०० विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो।
प्रारम्भिक छानबिनका अनुसार उड्न लाग्दा विमानमा केही समस्या भएको र "आगो लागेको" थियो।
इरानले विमानको ब्ल्याकबक्स बोइङ कम्पनी वा अमेरिकालाई नदिने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय उड्डयन नियमानुसार इरानले छानबिनको नेतृत्व गर्न पाउँछ। तर प्राय: विमान निर्माता कम्पनीलाई अनुसन्धानमा सहभागी गराइन्छ।
अमेरिका र इरानबीच तनाव चुलिएको बेला इरानको राजधानीमा उक्त भयानक दुर्घटना भएको थियो।
दुर्घटना हुनुभन्दा केही घण्टाअगि इरानले इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

तस्बिर स्रोत, Getty Images
तर यी दुई घटनाबीच सम्बन्ध भएको कुनै प्रमाण भेटिएको छैन।
इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुख अली आबेद्जादेहले भने, "विमानस्थलबाट पहिला पश्चिमतिर लागेको उक्त विमान केही समस्या भएपछि दाहिने मोडियो र दुर्घटना हुँदा विमानस्थलतिर फर्किएको थियो।
उनका अनुसार प्रत्यक्षदर्शीले जमिनमा खस्नुअघि विमानमा आगो लागेको देखेका थिए तर विमानलाई इमाम खोमेनी विमानस्थलतिर फर्काउने प्रयास गर्नुअघि चालकले आसन्न सङ्कटबारे कुनै सूचना दिएका थिएनन्।
प्रारम्भिक छानबिनमा पत्ता लागेका कुराहरू युक्रेन र बोइङलाई उपलब्ध गराइएको उनले बताए।
स्वीडन र क्यानडाका नागरिक पनि दुर्घटनामा परेकाले ती देशलाई पनि विवरण दिइएको छ।
युक्रेनले बिहीवार एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।
कसले गर्दैछ छानबिन?
अमेरिकामा निर्मित बोइङ विमान दुर्घटनामा पर्दा प्राय: यूएस न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्ड छानबिनमा संलग्न हुन्छ। तर त्यसका लागि सम्बन्धित देशबाट अनुमति लिनुपर्छ र त्यो देशको कानुन पालन गर्नुपर्छ।
तर इरानका अधिकारीहरूले विमान निर्माता र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने बताएका छन्।
इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई उद्धृत गर्दै इरानी समाचारसंस्था मेहरले भनेको छ, "यो दुर्घटनाको इरानको उड्डयन प्राधिकरणले छानबिन गर्नेछ तर युक्रेनीहरू पनि उपस्थित हुन सक्छन्।"

तस्बिर स्रोत, EPA
तर उनका अनुसार विमानको ब्ल्याकबकसमा भएका ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डेटा रेकर्डको कुन देशमा अध्ययन गर्ने भन्ने स्पष्ट भइसकेको छैन।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका छन्।
बोइङले आवश्यक सहयोग गर्न आफू तयार भएको बताएको छ।
क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छन्।
विमानमा को थिए?
तेहरानबाट किएभका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा चालकदका सदस्यसहित कुल १७६ जना थिए। अधिकांश यात्रु इरान र क्यानडाका थिए।
मृतकमध्ये १५ जना बालबालिका थिए।

तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।
फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ।
छानबिनको औपचारिक प्रतिवेदन नआएसम्म दुर्घटनाको कारणबारे अनुमान नगर्न युक्रेनी राष्ट्रपतिले आग्रह गरेका छन्।
इरानी सञ्चारमाध्यमले प्राविधिक कारणले विमान दुर्घटनामा परेको भन्दै एक अधिकारीलाई उद्धृत गरेका छन्।
मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले "आतङ्कवाद" को भूमिका नभएको जनाएका छन्।
दुई देशबीच तनाव चरमोत्कर्षमा पुगेका बेला इरानले अमेरिकी सेनालाई आतङ्ककारी घोषणा गरेको छ।









