काठमाण्डूसहित नेपालभर वर्षा र हिमपात, तापक्रम अझै घट्ने

गएको २४ घन्टायता नेपालमा मौसम बिग्रिएपछि उत्तरी क्षेत्रमा हिमपात भएको छ भने राजधानी काठमाण्डूसहित पश्चिम र मध्य नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

वर्षासँगै तापक्रम पनि कम भएको छ। काठमाण्डूमा शुक्रवार बिहान ११:४५ बजेको तापक्रम ११ डिग्री सेल्सीयसको आसपास थियो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको आकाशमा कालो बादल फैलिएको र ठाउँ-ठाउँमा वर्षा तथा हिमपात भइरहेको छ।

शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन "केही समय लाग्ने" मौसमविद्ले बताएका छन्।

पछिल्लो मौसमी अवस्थाका कारण नेपालगञ्ज, दिपायल र डडेलधुरामा वर्षा र उत्तरतर्फको जुम्ला लगायतका स्थानमा हिमपात भएका खबर प्राप्त भएका छन्।

उच्च हिमाली भेगमा तापक्रम शून्यमा झर्न थालिसकेको छ।

मौसम सुधार कहिले होला?

महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार शनिवार साँझबाट 'बिस्तारै मौसममा सुधार हुन थाल्नेछ'।

"तर एकैचोटी आकाश खुलिहाल्ने अवस्था छैन। बदली हुने क्रम पनि चल्दै गर्छ। सफा हुन केही दिन लाग्छ।"

उनले भनिन्, "अब यो मौसम सफा भएपछि पहाडमा घाम लाग्न थाल्नेछ। तर तराई भेगमा भने बाक्लो कुहिरो लाग्न थाल्नेछ।"

"यसपछि त्यस क्षेत्रमा शीतलहर पनि सुरु हुनसक्छ।"

मौसमविद्का अनुसार अहिलेको प्रतिकूल मौसमी अवस्थामा सुधार भएपनि जाडो महिना भएकोले अझै केही साता तापक्रम भने घट्ने क्रममा नै रहने छ।

शनिवार र आइतवारको मौसम

महाशाखाले पछिल्लो मौसमी अवस्थाका कारण "पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा धेरै हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना" रहेको जनाएको छ।

उसले ती स्थानका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

शुक्रवार "देशैभरि सामान्य बदली रहने र पश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र मध्य र पूर्वमा हल्का वर्षाको सम्भावना रहेको" महाशाखाको पुर्वानुमान छ।

उसका अनुसार शनिवार र आइतवार पनि विभिन्न स्थानमा "सामान्य बदली" र "हल्का वर्षा" हुने सम्भावना छ।

आकाशे पानीमा निर्भर किसानहरूका लागि अहिलेको हिमपात र वर्षाले केही सहयोग गर्ने मौसमविद् पोखरेलले बताइन्।

जुम्ला र आसपास जनजीवन प्रभावित

जुम्लास्थित बीबीसी समाचारदाता कृष्णमाया उपाध्यायका अनुसार शुक्रवार जुम्ला, कालिकोट र आसपासका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि सामान्य जनजीवन प्रभावित भएको छ।

उनका अनुसार हिमपातका कारण बालबालिका, ज्येष्ठ नागरिक र घरबाहिर काम गर्ने मजदुरहरू प्रभावित भएका छन्।

उनी भन्छिन्, "विद्यालयका वार्षिक परीक्षा पनि प्रभावित भएको छ।"

"हवाई यातायात रोकिएको छ भने बजार सुनसान छ र मानिसहरू घरभित्रै आगो तापेर बसिरहेका छन्।"