बाक्लो हिमपातका बेला नेपालमा झन्डै १,२०० याक, चौँरीको मृत्यु, क्षतिको विवरण अझै अपूरो

    • Author, सुरेन्द्र फुयाल
    • Role, बीबीसी नेपाली सेवा

गएको फागुन, चैत महिनामा मुस्ताङ, मनाङ, उत्तरी गोरखा र अन्य हिमाली भेगमा "बाक्लो हिमपातका कारण" झन्डै १,२०० याक तथा चौँरीगाईको मृत्यु भएको विवरण बीबीसीलाई प्राप्त भएको छ।

मुस्ताङ, मनाङ र उत्तरी गोरखामा ठूलो सङख्यामा याक, चौँरी र अन्य चौपाया मरेको थाहा भएको छ। मुस्ताङ पश्चिमको धवलागिरिदेखि पश्चिमका हिमाली क्षेत्रमा पनि क्षति भएको अनुमान गरिएपनि त्यस क्षेत्रको तस्बिर अझै प्रष्ट भइसकेको छैन।

केही महिनाअघि राजधानी काठमाण्डू वरपरका पहाडसमेत सेताम्मे हुने गरी हिमपात भयो। लगभग त्यही बेला अनपेक्षित रूपमा बाक्लो हिमपात भएकाले मुस्ताङ मनाङ, गोरखासहित विभिन्न हिमाली जिल्लामा याक, चौँरीगाई, भेडा, च्याङ्ग्रा र गाई तथा गोरुको व्यापक क्षति भएको विवरण बीबीसीले सङ्कलन गरेको छ।

काठमाण्डूस्थित सरोकारवाला निकायले क्षतिको पूर्ण विवरण अझै सङ्कलन गरिसकेका छैनन्।

हिमपातपछिको असर कस्तो?

बाक्लो हिमपातको मार पूर्वी हिमालयमा पनि परेको थियो। वसन्त ऋतु सुरु हुँदै गर्दा नेपालसँग सीमा जोडिएको भारतको सिक्किमको मुकुथाङ उपत्यकामा करिब ३०० याक तथा चौँरी मरेको विवरण बीबीसीलगायतका सञ्चारमाध्यममा सार्वजनिक भएका थिए।

सिक्किमका अधिकारीले सञ्चारमाध्यमलाई बताए अनुसार "हिमपात भएको बेला याक तथा चौँरीहरू उच्च भूभागमा फसेपछि तिनलाई आहारा अभाव" भएको थियो।

लगभग त्यही समयमा बाक्लो हिमपातका कारण नेपालको हिमाली भेगमा पनि त्यस्तै विपद् आइपर्‍यो: हिमपात नरोकिएपछि उच्च भूभागमा याक, चौँरीका अतिरिक्त थुप्रै घोडा, गाई तथा गोरु र सयौँ भेडा-च्याङ्ग्राको ज्यान गयो।

त्यति धेरै सङ्ख्यामा चौपायाको मृत्यु हुनुको कारण र कारकबारे औपचारिक र विस्तृत अनुसन्धान भइसकेको छैन। तर स्थानीयबासिन्दा र अधिकारीहरूको भनाइमा सिक्किममा जस्तै "मौसमी प्रतिकूलता र उचित खानपानको अभावका कारण" नेपालको हिमाली भेगमा पनि उस्तै क्षति भएको हुन सक्छ।

त्यो क्षतिको सबैभन्दा बढी असर अन्नपूर्ण र धवलागिरी हिमालबीच कालीगण्डकी नदी किनारमा फैलिएको मुस्ताङमा देखियो। मुस्ताङ पूर्वको मनाङ र उत्तरी गोरखामा पनि उस्तै विपद् परेको थाहा भएको छ।

कहाँ कति क्षति?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार उच्च भेगमा "अत्यधिक चिसो र उपयुक्त आहारा अभाव"का कारण मुस्ताङ, मनाङ र उत्तरी गोरखामा याक र चौँरीको सबैभन्दा धेरै क्षति भएको थियो। हिमपातका बेला मुस्ताङमा ५२२ र मनाङमा ११० याक चौँरीगाईको मृत्यु भएको थियो।

३०० भन्दा बढी याक चौँरीको क्षति बेहोरेको मुस्ताङको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बीबीसीसँग भनिन्, "हिउँ नपर्ने बेलामा बाक्लो हिउँ पर्‍यो। माथि लेकमा रहेका याक चौँरी अनि भेडा च्याङ्ग्रा तल झार्न सकिएन। खान पाएनन र धेरै चिसो भएपछि धेरै मरे।"

मुस्ताङका अन्य गाउँपालिका र छिमेकी मनाङका लेकका खर्कहरूमा पनि क्षतिका उस्तै-उस्तै दृश्य देखिएको अधिकारीहरू बताउँछन्।

फागुन चैतको अविरल हिमपातका बेला उत्तरी गोरखाका हिमाली गाउँमा पनि झन्डै ५०० याक चौँरी मरेको विवरण बिकट चुमनुब्री गाउँपालिकाका स्थानीय अधिकारीहरूले बीबीसीलाई उपलब्ध गराएका छन्।

सामागाउँका वडाअध्यक्ष वीरबहादुर गुरुङ र चुमका वडाअध्यक्ष लामा पासाङका अनुसार ठूलो हिमपातको बेला चुममा १७० र सामागाउँमा २६३ याक चौँरी मरेका थिए। त्यस्तै साम्दोमा ३५ र छिमेकका अन्य दुई गाउँमा १५ र ६ वटा याक, चौँरी मरेका थिए।

गुरुङले भने, "लो गाउँमा पनि त्यस्तै क्षति भएको छ।" त्यहाँको क्षतिको विवरण प्रष्ट छैन। ती गाउँमा केही घोडा पनि मरेको गुरुङले बताए।

रुबी उपत्यका र लाङटाङमा क्षति

गोरखादेखि पूर्वको जिल्ला धादिङको उत्तरी भेगमा पर्ने रुबी उपत्यकाको सोमदाङमा पनि "तीन वटा याकका साथै घोरल र झारल जस्ता वन्यजस्तुका शव फेला परेको" टिप्लिङ गाउँका दावा थापाले बताए।

त्यही बेला काठमाण्डूदेखि उत्तरतिर रहेको रसुवाको लाङटाङ क्षेत्रमा करिब ५० याक, चौँरी मरेको जानकारी किसानहरूले आफूलाई दिएको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष कार ग्याल्मु श्रेष्ठले बताइन्।

"हिउँ परेको बेला क्यान्जिन क्षेत्रमा ३० वटा घोडा पनि मरेका रहेछन्," उनले भनिन्।

त्यस्तै सोलुखुम्बुमा २१ याक तथा चौँरीगाई मरेको विवरण प्राप्त भएको छ।

फागुन चैतको "बेमौसमी हिमपातको बेला" धवलागिरि पश्चिममा रहेका हिमाली जिल्लाहरूमा याक, चौँरी र अन्य चौपायाको क्षति भएका छिटपुट विवरण आएपनि त्यसको यकिन तथ्याङ्क सङ्कन गर्ने क्रम अझै जारी रहेको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले बीबीसीलाई बताए।

सरकारी निकाय किन बेखबर?

देशमा भएका याक, चौँरी र अन्य पशुपन्छीसम्बन्धी सरोकारवाला राख्ने निकाय हो कृषि तथा पशुपन्छी विकास मन्त्रालय। तर मन्त्रालयमा फागुन चैतको क्षतिबारे पूर्ण सूचना अझै उपलब्ध छैन।

अहिले "सङ्घीय र प्रादेशिक ढाँचा अनुसार कार्यालयहरूको पुरसंरचनाको काम चलिरहेकोले" दुर्गम हिमाली "जिल्लाबाट समयमैँ सूचना तथा तथ्याङ्क थाहा पाउन नसकिएको बताइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विपद् व्यवस्थापनका शाखाका वरिष्ठ कृषि अधिकृत गङ्गादत्त आचार्यका अनुसार "कार्यालयहरूको पुनसंरचनाको क्रममा सूचना प्रवाह संयन्त्र छिन्नभिन्न हुन पुगेकोले सूचना सङ्कलनमा ढिलाइ भएको हो।"

उनले भने, "यो वर्ष मात्र त्यस्तो भएको हो। अर्को वर्षदेखि हाम्रो सूचना सङ्कलको काम चुस्तदुरुस्त हुने छ।"

हिमाली भेगमा याक,चौँरीको महत्त्व

नेपालको हिमाली भेग र तिब्बतको पठारमा विचरण गर्ने गाई जस्तै ठूलो जनावरको भालेलाई याक भनिन्छ। पोथीलाई चौँरीगाई भनिन्छ। याक तथा चौँरी स्थानीय बासिन्दाको पोषण र जीविकोपार्जनको एक प्रमुख स्रोत हो।

शक्ति र समृद्धिको प्रतीक समेत रहेको याक तथा चौँरीको तिब्बत तथा नेपालको हिमाली क्षेत्रमा सामाजिक एवं सांस्कृतिक महत्त्व समेत रहेको छ।

नेपालमा याक र चौँरीको संख्या कति छ त्यो प्रष्ट छैन।

हिमाली खोँच तथा खर्क एवं पठार क्षेत्रमा याक, चौँरीलाई भारि बोकाउँदै सरसामान ढुवानीको लागि समेत प्रयोग गर्ने गरिन्छ। नेपालको हिमाली क्षेत्रमा एउटा याकको मोल एक लाख रुपैयाँभन्दा बढि तोकिएको हुन्छ।

एउटा चौँरीगाईको मोल ७० हजार रुपैयाँ जति पर्छ। एउटा घोडाको मूल्य एक लाख वा त्यो भन्दा बढि पर्छ। मुस्ताङमा एउटा भेडा वा च्याङ्ग्राको मूल्य २० देखि ३० हजार रूपैयाँ पर्छ।

क्षतिपूर्तिको प्रतीक्षा

बेलैमा सूचना सङ्कलन हुन नसक्दा पीडित किसानहरू क्षतिपूर्ति पाउनबाट वञ्चित भएका छन्। उत्तरी गोरखाको अति दुर्गम चुमनुब्री गाउँपालिकामा पर्ने सामागाउँ चुम उपत्यका र लो जस्ता गाउँका किसानले त क्षतिपूर्तिको लागि अहिलेसम्म पहल समेत गरेका छैनन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार मुस्ताङमा फागुन चैत महिनामा बाक्लो हिमपातपछि याक चौँरी, घोडा गाई गोरु र भेडाच्याङ्ग्रा गरी ४,६०० बढी चौपाया मरेको विवरण सङ्कलन भएको छ।

ठूलो संख्यामा याक चौँरी तथा अन्य पशु एक्कासि मरेपछि तुलनात्मक रूपमा सुगम मुस्ताङमा चाहिँ किसानहरूलाई क्षतिपूर्ति दिलाउन स्थानीय जिल्ला तथा प्रादेशिक तहमा विभिन्न पहलहरू भइरहेका छन्।

सङ्घीय संसदमा मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको भनाइमा "प्रदेश सरकारले २० लाख र सङ्घीय सरकारले करिब ७० लाख रूपैयाँ क्षतिपूर्ति दिने आश्वासन दिएको छ।"

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ। हिमपात पीडित किसानलाई अन्नपूर्ण क्षेत्र परियोजना एक्यापले "केही रकम क्षतिपूर्ति दिएको" थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बताइन्।

उत्तरी गोरखाको पीडा

बाँकी नेपाली भूभागदेखि निकै पर रहेको प्रतीत हुने उत्तरी गोरखाको पीडा बेग्लै छ।

चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले बीबीसीसँग भने, "घरेपिच्छे ९-१० वटा जस्तो याक, चौँरी मरेका छन्। सरकारले क्षतिपूर्ति दिइहाल्यो भने पनि थोरै पाइन्छ। क्षतिपूर्ति लिन सदरमुकाम धाउन धेरै झन्झट् हुन्छ। गोरखा बजार पुगेर फर्किन नै आधा महिना लाग्छ। हामीले त क्षतिपूर्तिको माया नै मारिसक्यौँ।"

पशुपन्छी मन्त्रालयका अधिकारीहरूका अनुसार हिमाली क्षेत्रका पशुपालक किसानले पशु बिमा नगरेको हुनाले याक, चौँरी गुमाएका किसानलाई उचित क्षतिपूर्ति दिलाउन समस्या देखिएको हो। पशु बिमा कार्यक्रम सुगम जिल्लाहरूमा बिस्तारै फैलने क्रममा रहेको छ।

त्यस्तो बिमा कार्यक्रम मुस्ताङ, मनाङ, चुमनुब्री, रुबी, लाङटाङ र खुम्बुजस्ता नेपालका बिकट उच्च हिमाली क्षेत्रका याक, चौँरी किसानका घर तथा खर्कमा पुग्न कति सयम लाग्ने होला? जबाफ सहज छैन।