तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैवाहिक अंगीकृत नागरिकता: भारत माइती भएका महिला सांसदहरू यसो भन्छन्
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि लामो समयदेखि छलफल चलिरहेको छ।
नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई दिइने अंगीकृत नागरिकता तत्काल दिने अहिलेको व्यवस्था कायम राख्ने वा केही वर्षपछि मात्रै दिने भन्नेमा सांसदहरूको फरकफरक धारणा आएको छ।
भारत माइती भएका नेपालका महिला सांसदहरू चाहिँ राजनीतिक अधिकारका बारेमा एकमत नभएपनि तत्कालै नागरिकता पाउनुपर्नेमा एक मत देखिएका छन्।
संसद्मा भने तत्काल नागरिकता पाउने अहिलेको व्यवस्था नराखिए बुहारी पाउनै गाह्रो हुने तर्क गर्ने र सात वर्षपछि मात्रै दिनुपर्ने तर्क राख्नेहरू छन्।
विधेयकमा भने अंगीकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्ष र नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई १५ वर्षको समय राखिएको छ।
'नागरिकता नदिए अधिकारबाट वञ्चित'
शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि यसबारे छलफल भएको छ।
भारत र नेपालको सीमा वारपार विवाह चल्ने भएकाले भारतबाट बिहे गरी अंगीकृत नागरिकता लिनेको सङ्ख्या ठूलो छ।
राजनीतिमा सक्रिय त्यस्ता महिलाहरू प्रत्येकजसो ठूला पार्टीमा सक्रिय पनि छन्।
संसद्को यो विषयमाथि छलफल भइरहँदा भारत माइती भएका महिला सांसदहरू के भन्छन्?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले अहिले रहेकै व्यवस्था हुनुपर्ने पार्टीको धारणा रहेको बताइन्।
'भारतजस्तो यहाँ छैन'
यादव भन्छिन्: "विवाह भइसकेपछि प्रक्रिया पुर्याउन जति समय लाग्छ त्यति पुर्याएर दिँदा हुन्छ।"
"कुनै महिला विवाह गरेर आइसकेपछि श्रीमानले छोड्यो भने नागरिकता नहुँदा न उसले कुनै अधिकार पाउँछ न उसका सन्तानले।"
नयाँ व्यवस्था लागु भए उताका अभिभावकले आफ्नो छोरीलाई विवाह गरेर नेपालमा दिन नमान्ने उनले बताइन्।
तर कतिपयले चाहिँ सात वर्षमा मात्रै नागरिकताको अधिकार पाउने व्यवस्था भारतमा पनि रहेको भन्दै त्यसले समस्या नहुने बताउँछन्।
तर यादव भन्छिन्, "यताजस्तो समस्या त्यता हुँदैन।"
"यहाँ सानो कुराका लागि पनि नागरिकता नै चाहिन्छ। तर त्यता त विवाह लगत्तै मतदातासूचीमा नाम आउँछ।"
संघीय समाजवादी फोरमकी प्रतिनिधि सभा सांसद रेणु यादवले राजनीतिमा सक्रिय हुन नपाउने तर नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताइन्।
उनी भन्छिन्: "विवाह भइसकेपछि महिलाले केही अधिकार नपाइ उनको श्रीमान्लाई केही भइहाले उसको बिजोग हुन्छ।"
"त्यसैले विवाह हुने बित्तिकै विवाहिताले तुरुन्तै नागरिकता लिन पाउनुपर्छ। बरु राजनीतिमा भाग लिन नपाउने कुरा हुनसक्छ।"
राष्ट्रिय जनता पार्टीको तर्फबाट प्रदेश नम्बर २ मा सभासद् रहेकी सुरिता साहले पनि विवाह गरेर आउने महिलालाई तत्कालै नागरिकता दिनुपर्ने बताइन्।
पहिलो संविधानसभामा सभासद् रहेकी साहले भनिन्: "अहिले जसरी विवाह गरेर आउने बित्तिकै विदेशी महिलाले अंगीकृत नागरिकता पाउँछन् त्यसैगरी अब पनि दिनुपर्छ।"
"अहिलेको नागरिकता ऐनमा भएकै जस्तो व्यवस्था हुनुपर्छ नत्र विवाह गरेर आउने महिलालाई अन्य अधिकार लिन समस्या हुन्छ।"