दक्षिण एशियाली खेलकुद: आमा बनेर मैदान फर्किएका चर्चित नेपाली खेलाडीहरू

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
शारीरिक बल निकै महत्त्वपूर्ण हुने खेलकुद क्षेत्र छोडिसकेका पुराना खेलाडीहरू फर्केर पुन: सफल हुने सम्भावना न्यून हुन्छ।
अझ महिला खेलाडीहरूलाई आमा बनेर मैदानमा फर्कनु र जित्नु झन् कठिन हुन्छ।
तर चर्चित नेपाली खेलाडीहरू तेक्वान्दोकी मनिता शाही र आयशा शाक्य एवम् करातेकी अमृता शाक्य १३ औँ दक्षिण एशियाली खेलकुद सागमा सफलता हात पार्ने दाउमा छन्।
के अझै उनीहरूमा पदक जित्न चाहिने सीप, क्षमता र बल बाँकी छ त?
तेक्वान्दो प्रशिक्षक संगिना वैद्य भन्छिन्, "वर्षौंको अन्तर्राष्ट्रिय अनुभवले उनीहरू नयाँ खेलाडीभन्दा फरक छन्, तर फिटनेसको स्तर पुरानो छैन।"
"दक्षिण एशियाली खेलकुदका लागि तीन महिना समय छ। त्यतिन्जेल उनीहरूले फिटनेस स्तर उच्च बनाउनुपर्छ।"
सहयात्री प्रशिक्षक
सन् २००६ मा श्रीलङ्कामा भएको १० औँ साग मा तेक्वान्दोकी वैद्य, शाक्य र शाहीले सँगसँगै खेलेका थिए।
सो प्रतियोगितामा शाहीले नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी हुन्। सन् २०१९ मा अहिले वैद्य राष्ट्रिय टोलीकी प्रशिक्षक भइसकेकी छन्।
शाही र शाक्य भने वैद्यको नेतृत्वमा खेलाडीको रूपमा पुन: मैदानमा फर्किएका छन्।
शाही भन्छिन्, "मनसाय र हिम्मत राख्नु खेलकुदमा मैले सिकेको कुरा हो। म मेरो उदेश्य नजिकनजिक पुगिसकेकी छु।"
"छनोटको अन्तिम खुड्किलो पार भएपछि म सपना पूरा गर्न एकाग्र हुनेछु।"

शाही र शाक्यले सन् २००६ को एशियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिए।
यसबीच उनीहरूको जीवनमा अनेक आरोह अवरोह आए।
शाक्यले तेक्वान्दो खेलाडी दीपक बिष्टसँग बिहे गरिन्। दुई छोराको आमा बनिन्।
मनिता अमेरिका पुगिन्। दुई वर्ष त्यहीँ बसिन्। नेपाल फर्केर बिहे गरिन् र अहिले १७ महिने छोरीकी आमा बनिसकेकी छन्।
छोरी छोडेर तेक्वान्दो कोर्टमा पसिना बगाइरहेकी शाही भन्छिन्, "आफ्नै देशमा हुने साग खेल्न समयले जुराइदिए जस्तो लागिरहेको छ।"
"विदेशमा थुप्रै पदक जितेँ। अब आफ्नै देशमा जितेर विश्राम गर्ने मेरो इच्छा हो।"
प्रदेश नं ५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यी खेलाडीहरू मैदानमा देखिँदा कतिपयले आश्चर्य प्रकट गरेका थिए।
इतिहास कोर्ने रहर
करातेमा साग रजत पदकधारी अमृता शाक्य पनि बन्द प्रशिक्षणमा छिन्।
बिहे गरेर घरजम गरेर बसेका र आमा बनिसकेका खेलाडीलाई खेलमा फर्किनु सजिलो काम होइन। राष्ट्रिय च्याम्पियन बनेर सागमा छनोट हुन त झनै गाह्रो हुन्छ।
सन् २०११ को सागमा फाइनलमा पराजित भएपछि खेल त्याग्दै घरजम गरेकी शाक्यलाई भने त्यस्तो लाग्दैन।
दुई वर्षीया छोरीकी आमा शाक्य भन्छिन्, "सामान्यतया यो गाह्रो काम हो। तर मेरो पति र सबै परिवार खेलकुदमा संलग्न भएकोले मलाई सजिलो छ।"
"परिवार नै मेरो पुनरागमनका प्रेरणा हुन्।"

पुरुष खेलाहीहरू पनि फर्किए
नौ वर्षअघि बाङ्ग्लादेशको ढाकामा सम्पन्न ११ औँ सागमा करातेमा स्वर्ण पदक जित्ने खेलाडी हुन् विनोद शाक्य गुभाजु।
उमेरले उनी अहिले ४३ लागिसके। अहिले बन्द प्रशिक्षणमा उनीसँगै खेलिरहने अधिकांश खेलाडीहरू उनका चेलाहरू वा चेला उमेरका हुन्।
तर उनको जोसलाई भने उमेरले छेक्न खोजेको देखिँदैन।
गुभाजु भन्छन्,"मसँगैका साथीहरू कोही प्रशिक्षक, कोही रेफ्री, कोही रिटायर्ड त कोही विदेश पुगिसकेका छन्।"
"म भने मेरा चेलाचेली सँगसँगै खेलिरहेको छु। यो नयाँ अनुभव पनि हो। म के सन्देश दिन चाहन्छु भने फिट भइराखे खेल्न सकिन्छ, पदक जित्न सकिन्छ। "
उनीसँगै प्रशिक्षणमा छन् साग रजत पदक विजेता विनोद महर्जन।
देशमा खेल्ने चाहना
यी खेलाडीहरूले शारीरिक व्यायाम भने कहिले नछोडेको र खेलमोह त्याग्न नसकेको बताउँछन्।

अझ सागमा फर्किनुको मुख्य आँट भने नेपालमै प्रतियोगिताको आयोजना हुनुलाई मान्छन्।
महर्जन भन्छन्, "खेल्न कति कठिन छ मलाई थाहा छ।"
"तर हाम्रो मुख्य आकर्षण भने नेपालमै प्रतियोगिता खेल्न पाउनु हो। यस्तो समय जीवनमा फेरि कहाँ आउँछ र?"
पुनरागमन र सफलताको इतिहास
केही त्यस्ता पुराना नेपाली खेलाडीहरू पनि छन् जसले पुनरागमन गरेर सागमा स्वर्ण पदक जितेका छन्।
क्यानडामा बसोबास गर्ने तेक्वान्दोका राजकुमार राईले ४३ वर्षको उमेरमा नेपालमा आठौँ साग खेल्न आए र स्वर्ण जिते।
उसुकी बीना खड्का लामाले पनि त्यस्तै कथा दोहोर्याएकी थिइन्।
आठौँ सागमा उसु समावेश नभएपछि उनी अमेरिका लागिन्। तर पाँच वर्षपछि श्रीलङ्कामा खेलेर उनले स्वर्ण पदक जितिन्।
लामा सम्झिन्छन्, "साग खेल्ने भनेपछि मैले प्रशिक्षणको अवधि बढाएँ। अरू सबै कुरा त्यागेँ र सफल भएँ।"
"अहिले फर्केका खेलाडीहरूलाई पनि म त्यही शुभकामना दिन चाहन्छु। मेहनत र धैर्य छोडेन भने सफल भइन्छ।"












