अजितकुमार यादव: प्रतियोगितामा भाग लिन पाउने आशा मारेका किशोर धावकले कसरी जिते अन्तर्राष्ट्रिय स्वर्ण

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
हङ्कङमा प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघिसम्म पनि अजितकुमार यादवले भिसा हात पारेका थिएनन्। पाँच दिनअघि किनेको हवाई टिकटको मिति पनि सारिसकिएको थियो।
पहिलो पटक विदेशमा खेल्न जाने मौका गुम्ने जोखिम बढेपछि १७ वर्षीय यादवले हताश हुँदै प्रशिक्षक धनीराम चौधरीलाई भने, "गुरु, यस्तै रहेछ! विदेशमा खेल्नु मेरो भाग्यमा नै रहेनछ। अब छोडौँ।"
तर तिनै यादवको गलामा २४ घण्टापछि सुनको तक्मा झुन्डिएको थियो।
एशियाली जुनियर स्तरमा स्वर्ण पदक जित्ने पहिलो नेपाली धावकका रूपमा इतिहासमा उनको नाम अङ्कित भइसकेको थियो।
अन्योलदेखि कीर्तिमानको गौरवपूर्ण क्षणसम्म उनको यात्राको कथा साँच्चै अनौठो छ। उनकै शब्दमा "फिल्मका लागि कल्पनामा बुनिने कथाजस्तै।"
खासै नाम नसुनिएका यी धावकले अन्तर्राष्ट्रिय पदक जित्दा सामाजिक सञ्जालमा पनि राम्रै चर्चा भयो।
पहिलो अवरोध
यादवले हङ्कङमा सम्पन्न जुनियर खेलाडीहरू सहभागी हुने एशियाको ठूलो एथ्लेटिक्स प्रतिस्पर्धा 'तेस्रो एशियन एथ्लेटिक्स च्याम्पियनशिप' को तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन्।
तर उनले मैदानको प्रतिस्पर्धा गर्दाभन्दा पनि त्यहाँसम्म पुग्न ठूलो सास्ती खेपे।
पहिलो सङ्घर्ष एथ्लेटिक्सको प्रशासकीय निकाय नेपाल एमचर एथ्लेटिक्स सङ्घसँग थियो।
एथ्लेटिक्स सङ्घ अहिले आन्तरिक विवादमा छ। पदाधिकारीहरूबीच चरम गुटबन्दी छ। निर्वाचनको सँघारमा रहेको सङ्घलाई अब तत्कालै निर्वाचन नगरे प्रतिबन्ध लगाइनसक्ने भन्दै अन्तर्राष्ट्रिय दबाव पनि आइसकेको छ।
यस्तोमा स्थितिमा राजीनामा दिइसकेका सङ्घका पूर्वमहासचिव सुनिल राजवंशीले यादवलाई हङ्कङमा हुने प्रतियोगिताको सहभागी गराउन सक्रियता देखाए।

यो पनि पढ्नुहोस्

यादव भन्छन्, "मेरो सहभागिताको सम्पूर्ण अन्तर्राष्ट्रिय पत्राचार सुनिल गुरुले गरिदिएका हुन्। नत्र सम्भव थिएन।"
दोस्रो अवरोध
प्रतियोगितामा भाग लिने निश्चित त भयो, तर भिसा प्रक्रिया र हङ्कङ पुग्ने बाटो त अझै टाढा नै थियो। भिसा प्राप्त गर्न उनका प्रशिक्षक धनीराम चौधरीले ठुलै सङ्घर्ष गर्नुपर्यो।
कहिले कागजपत्रको समस्या, कहिले रकमको समस्या त कहिले होटल बुकिङ नहुँदाको समस्या।
अनि भिसा पाउन सकेनन्। फेरि पूर्वमहासचिव राजवंशीकै पहलमा भिसा प्राप्त भयो।
हातमा भिसा आउँदा हङ्कङ पुग्न एक दिनको समय मात्र बाँकी थियो।
प्रतियोगिता सोमवार (चैत्र ४ गते) थियो। उनले शनिवार (चैत्र २ गते ) बिहान मात्र भिसा पाएका थिए।
धन्न, सोही दिनको राति हङ्कङ उड्ने व्यवस्था भयो।
आइतवार (चैत्र ३ गते ) बिहान हङ्कङ विमानस्थल पुग्दा आयोजकका तर्फबाट कोही पनि उपस्थित थिएनन्। निर्धारित समयभन्दा ढिलो पुग्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यस्तो हुनेगर्छ।
झोलामा नेपालको झन्डा दिएर बिदाइ गरिएको थियो र म त्यो झोला नखोली नेपाल फर्किन चाहन्नथेँ। जब ४५ देशमाझ नेपालको झन्डा ओढेर मैले राष्ट्रिय गीत गाएँ, त्यो शब्दमा बयान गर्न सक्दिन।
ट्याक्सी लिएर होटल खोज्नु, आयोजकसमक्ष हाजिर हुनु र खेलाडी दर्तामा आफ्नो नाम पक्का गर्नुजस्ता काममा आइतवारको दिन बित्यो।
यादव भन्छन्, "न राम्ररी खान पाइयो, न सुत्न नै। नाम दर्ता हुन्छ कि नाइँ भन्ने चिन्तामा नै समय बित्यो।"
सामान्यतया पदक जित्ने लक्ष्य र सम्भावना बोकेका खेलाडीहरू केही चाँडो प्रतियोगिता हुने देशमा पुग्ने गर्छन्। त्यहाँको हावापानीसँग घुलमिल हुन र अभ्यासलाई अझ तिखार्न यस्तो गरिन्छ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न देश छोडेका १७ वर्षीय यी किशोरले भने नितान्त भिन्न परिस्थिति खेप्नुपर्यो।
'नेपालको जर्सी थिएन'
सोमवार प्रतियोगिताको दिन ट्र्याकमा हुने प्रत्येक घटना अजितको लागि नौलो थियो।
उनी भन्छन्, "पहिलो कल, दोस्रो कल भन्ने हुँदोरहेछ। प्राविधिकले सुरुमा मैले लगाउने लुगाहरु जाँच्न आए। तर मैले गल्ती गरिसकेको रहेछु।"
खेलाडीले देशको नाम लगाएको जर्सी लगाउनुपर्छ। तर अनुभवहीन यादवलाई यो कुरा थाहा थिएन।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

प्राविधिकले देशको टीशर्ट लगाउन निर्देशन दिँदा उनी छक्क परे। आफूसँग सादा टीशर्ट मात्र भएको भन्दै उनले त्यही लगाएर दौडिन अनुमति मागे।
यादव भन्छन्, "धन्न ती प्राविधिकले मेरो अनुरोध मान्नुभयो। नत्र म दौडिन नै नपाउने रहेछु।"
एकपछि अर्को तनाव, झमेला र मानसिक दबाव झेल्दै ४५ देशका प्रतियोगीहरूसँगै तीन हजार मिटर दौडिन उनी ट्रयाकमा पुगिसकेका थिए।
त्यतिबेला उनको मनमा के थियो?
भन्छन्, "म साँच्चै डराएको थिएँ। त्यति धेरै दर्शकमाझ विदेशी भूमिमा।"
तर उनले तुरुन्तै थपे, "जब दौडिन सुरु गरेँ डर कता भाग्यो भाग्यो। अब मेरो ध्यान कम्तीमा पदक जित्छु भन्नेमा गयो।"

'सपनाजस्तो जित'
यादवका अनुसार उनले पहिलो फन्कोमा अरू प्रतिद्वन्द्वीलाई उछिनिसकेका थिए। तर गुरु धनीरामबाट एक फन्कोमा ६८ सेकेन्डभन्दा बढी नदौडिनु भन्ने निर्देशन पाएकाले गतिमा नियन्त्रण राखे।
तर अरूले रणनीतिक रूपमै तल र माथि गर्दै दौडिन थालेपछि उनले आफ्नो स्वाभाविक गति लिए।
उनी सुनाउँछन्, "अन्तिम ल्यापअगाडि मैले सबै विपक्षीलाई पछाडि पारिसकेको रहेछु। अब डर थियो त केवल उनीहरूले मलाई उछिन्लान् भन्ने। अन्तिम ल्यापमा कसैले नभेट्नेगरी दौडिरहेँ, अन्तिम विन्दु नपुगेसम्म।"
स्वर्ण पदक जितेपछिको क्षणलाई उनले 'सपनाजस्तो' भनी प्रतिक्रिया दिए। उनको बोली अवरुद्ध भयो।
उनी भन्छन्, "मलाई झोलामा नेपालको झन्डा दिएर बिदाइ गरिएको थियो। र म त्यो झोला नखोली नेपाल फर्किन चाहन्नथेँ। जब ४५ देशमाझ नेपालको झन्डा ओढेर मैले राष्ट्रिय गीत गाएँ, त्यो शब्दमा बयान गर्न सक्दिनँ। "
उनले निर्धारित दूरी आठ मिनेट ३०:३२ सेकेन्डमा पूरा गरेका हुन्।

को हुन् अजितकुमार यादव?
अजितकुमार यादवको घर सप्तरी जिल्लाको राजविराज हो।
उनी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हुर्काएका प्रतिभा हुन्।
कीर्तिपुर मच्छेगाउँस्थित एपीएफ स्कुलमा आठ कक्षामा अध्ययनरत हुँदा उनी शिक्षा दिवसको अवसरमा आयोजित रोड रेसमा तेस्रो भएका थिए।
त्यसबापत पाँच हजार रुपैयाँको पुरस्कार पाएका थिए। त्यो समाचार पत्रिकामा छापिएपछि उनलाई एथ्लेटिक्स मोहले छोयो।
अरू प्रतियोगितामा पनि उनले राम्रो प्रदर्शन गरे। विद्यालय खेलकुदको रूपमा रहेको राष्ट्रपति रनिङ शील्डमा मध्यदूरीमा उनी सर्वोत्कृष्ट हुन्थे।
पछिल्ला दुई वर्षमा सिनियर खेलाडीहरूसँगै खुल्ला प्रतिस्पर्धामा उनी देखिन थालेका छन्। खुल्ला काठमान्डू म्याराथनको पाँच किलोमिटरमा उनी लगातार दुई वर्ष विजेता बनेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

आजसम्म आइपुग्दा उनले केही महत्त्वपूर्ण कीर्तिमान कायम गरिसकेका छन्।
केही मुख्य खेलका उपाधि र नगद पुरस्कार पाएका उनमा प्रभावशाली खेलाडी बन्ने सम्भावना देखिएको छ।
उनले पन्ध्र सय मिटर दौडमा चार मिनेट दुई सेकेन्डको राष्ट्रिय कीर्तिमान तथा पाँच किलोमिटर दौडमा आठ मिनेट ४४ सेकेन्डको कीर्तिमान राखेका छन्।
अबको उनको लक्ष्य के हो?
यादव भन्छन्, "नेपालमै हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुदमा कुनै न कुनै पदक छुने।"
(सबै तस्बिर अजितकुमार यादवको सौजन्य)











