मायाले उज्यालिएका दृष्टिविहीन महेश र मनकेसीको सङ्घर्ष र सफलताको कथा

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
'प्रेमको आँखा हुँदैन' भनिन्छ। यदि त्यसो हो भने दृष्टिविहीनहरूको प्रेम कस्तो हुन्छ होला?
"खोइ त्यो त थाहा छैन। यति चाहिँ थाहा छ, [प्रेमले] जीवन उज्यालिएको छ। दृष्टिविहीन हौँ भन्ने महसुस कत्ति पनि हुन्न," महेश साह र मनकेसी चौधरी भन्छन्।
चौधरी दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीकी प्रमुख खेलाडी हुन् भने महेश उनको खेल र जीवनका सारथि।
एक्काइस वर्षीया चौधरी पाँच मिटरको दूरीसम्म मात्र देख्न सक्छिन्। नेत्रहीन क्रिकेटको भाषामा उनी 'बी टू' अर्थात् आंशिक दृष्टिविहीन खेलाडी हुन्।
तीन वर्ष जेठा साह भने पूर्ण दृष्टिविहीन हुन्।
पाकिस्तानमा भर्खरै सम्पन्न पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट खेल्न जाँदा श्रीमतीलाई पुर्याउन त्रिभुवन विमानस्थलको ढोकासम्म पुगेका साह उनी फर्कँदा पनि त्यही ढोकामा उभिन आइसकेका थिए।
साहले भने, "डेढ महिनाभन्दा बढी भइसक्यो, न्यास्रो कतिकति। झन् उनको सफलता सुनिरहँदा गाउँमा एक्लै बस्नै सकिएन।"
'ढुकुरको जोडी'
यो जोडीको माया क्रिकेटमा मात्र सीमित छैन। आफ्नो गाउँ देउताल, बारामा उनीहरू 'ढुकुरको जोडी' र 'परेवाको जोडी'को रूपमा चर्चित छन्।
चितवनमा देउसी खेल्ने एउटा कार्यक्रममा उनीहरूको पहिलो जम्काभेट भएको थियो।
साह त्यतिबेला दृष्टिविहीनहरूको 'ज्योति नमुना सीप तथा रोजगार केन्द्र'का अध्यक्ष थिए।
केन्द्रको आयस्रोत जुटाउनका लागि देउसी खेल्न दृष्टिविहीन साथीहरू खोज्दै गर्दा उनको चौधरीसँग भेट भयो।
अनि देउसीभैलो र सङ्गीतको तरङ्गसँगै उनीहरूबीच प्रेमको अङ्कुर टुसाएको रहेछ।
साह सीधै बिहेको प्रस्ताव लिएर चौधरीको घर चितवन खैरनीस्थित मझुईमा पुगे। चौधरीकी आमाको पहिलो प्रश्न तेर्सियो, "तिमी देख्न सक्दैनौ। मेरो छोरी कसरी पाल्छौ?"
साहले उत्तर दिए, "भैँसी हो र पाल्नलाई? हामी त सँगै बाँच्ने हो। जसरी नि बाँचिन्छ।" सुनेर उनी अवाक् भइन्, अर्को प्रश्न सोधिनन्।
विसं २०७४ सालको जेठ ८ गते चौधरी र साहको बिहे भयो।
जागिरका लागि सङ्घर्ष
साहका दुईवटा योजना थिए।
पहिलो, श्रीमतीको क्रिकेट यात्रालाई जुनसुकै स्थितिमा पनि निरन्तरता दिने। दोस्रो, एउटा जागिर खाएर जीवन सहज ढङ्गले अगाडि बढाउने।
पहिलो काम उनको वशमा थियो। दोस्रोको लागि भने सङ्घर्ष गर्नुपर्यो।
साह गाउँगाउँमा गएर कपडा बेच्ने काम गर्थे। बिहेपछि छोडे। जागिरको लागि ठाउँ ठाउँ धाए, तर पाएनन्।

तस्बिर स्रोत, Picasa
लामो मेहनतपछि श्रीमतीले एउटा चाउमिन कारखानामा काम पाइन्।
साहपनि श्रीमतीसँगै काम गर्न चाहन्थे तर पूर्ण रूपमा देख्न नसक्नेले चाउमिन कसरी बनाउने? साहुको यो प्रश्नको जवाफ उनीसँग थिएन।
तर साहु नभएको मौका छोपेर उनले चाउमिन बनाउने सीप सिके।
उनी भन्छन्,"कति पटक घाउ भयो, रगत बग्यो। त्यसको हिसाब छैन। तर मैले काम सिकेरै छोडेँ।"
एक दिन साहु सुनिल तामाङले उनले गरेको काम देखेपछि उनको कामको प्रशंसा गरे। तामाङले भनेछन्,"देख्नेले गर्ने कामभन्दा तिम्रो राम्रो छ। जागिर पक्का।"
अहिले दुवैजना सिमरा चाउमिन उद्योगमा काम गर्छन्।
श्रीमती हेड मिस्त्री हुन भने साह सहायक मिस्त्री। श्रीमतीको दैनिक कमाइ ३५० रुपैयाँ अनि श्रीमान्को ३०० रुपैयाँ।
उनीहरू भन्छन्,"जीवन चलेकै छ। खुसी के भने एउटै कम्पनीमा काम गर्न पाएकोले चौबीसै घण्टासँगै बिताउन पाइन्छ। बिहान तरकारी किन्न जाँदापनि सँगै, काम पनि सँगसँगै। अनि बजारमा भेट्नेहरूले भन्छन् - ऊ हेर ढुकुरको जोडी।"
कीर्तिमानी मनकेसी चौधरी
चौधरीले क्रिकेट खेल्न थालेको एक दशक नाघिसक्यो। बिहेअगाडि क्रिकेटकै सेरोफेरोमा उनको जीवन थियो।
उनी अब्बल खेलाडी हुन्। सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटा टी-२० खेलमा तीनवटै जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।
उनी टोलीकी विकेटकिपर हुन्।
भर्खरै पाकिस्तान यात्रामा त उनले अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने पहिलो नेपाली नेत्रहीन खेलाडीको रूपमा कीर्तिमान नै राखिन्। चार खेलमा उनले दुई अर्धशतक प्रहार गरिन्।
अनि 'बी टू' समूहमा 'ओमन अफ द सिरिज' हात पारिन्।

यो पनि हेर्नुहोस्

काठमाण्डू फर्किएलगत्तै उनीहरू सफलताको कथा गाउँलेहरूलाई सुनाउन हतारिएको देखिन्थे।
चौधरी बारा नेत्रहीन युवा सङ्घकी कोषाध्यक्ष पनि हुन्।
माया र विश्वास
साह कक्षा १२ मा पढ्दैछन्। चौधरीले भने कक्षा १२ पछि पढाइ जारी राख्न मन गरिनन्। उनलाई काममा बढी लगाव छ।
"बुढेसकालका लागि पैसाको जोहो गर्नुपर्छ नि," उनी भन्छिन्।
पाकिस्तानमा चौधरीले नगद पुरस्कार पनि पाइन्।

तस्बिर स्रोत, CABN
उनले जीवनमा खेलेर यति धेरै पैसा पाएको पहिलो पटक हो। दुई खेलमा उत्कृष्ट खेलाडी हुँदा ३० हजार र 'ओमन अफ द सिरिज' उपाधि पाउँदा २५ हजार गरी कुल ५५ हजार पाकिस्तानी रुपैयाँ उनको हात परेको थियो।
त्यो पैसाले के गर्ने त? उनले भनिन्, "ऋण छ, तिर्छु।"
पाकिस्तानबाट शृङ्खला जितेर आएपनि नेपाल सरकारले भने नगद पुरस्कार दिएन। तर यसमा उनलाई दु:ख छैन।
यी दुवैलाई सरकारबाट कुनै अपेक्षा नै रहेनछ।
कारण? क्रिकेट खेल्ने मैदानदेखि एउटा बल पाउनसम्म सरकारको अभिभावकत्व नपाएको उनीहरूको तीतो अनुभव छ।
चौधरीलाई त श्रीमान्को माया नै प्रशस्त छ। श्रीमती राष्ट्रिय खेलाडी हुनुलाई गर्व गर्ने साह श्रीमतीको सफलतामा आफ्नै सफलता देख्छन्।
उनी भन्छन्, "श्रीमती मात्र होइन, ऊ त अन्तर्राष्ट्रियस्तरमा देश चिनाउने खेलाडी पो हो त। सबैका श्रीमती कहाँ राष्ट्रिय खेलाडी हुन्छन् र?"

तस्बिर स्रोत, CABN
आफ्नो सफलताको खुसीमा सहभागी हुन श्रीमान् आइपुगेकोमा चौधरी झन् प्रफुल्लित देखिन्थिन्।
उनले भनिन्, "खुसी छु, भाग्यमानी पनि छु। खेल्न श्रीमान्ले साथ दिनुभयो। साहुले पनि डेढ महिनासम्म छुट्टी दिए।"
उज्यालो मुहारको सपना
यो जोडीले जीवनमा ठूलो सपना बुनेको छैन। एकअर्कालाई साथ दिँदै जीवन बाँच्ने उनीहरूको सङ्कल्प छ।
साह भन्छन्, "म देख्दिनँ। बाटो देखाउन श्रीमतीको पाइलापाइलामा साथको आवश्यकता छ।"
चौधरी भन्छिन्,"उनको साथ नभए म क्रिकेट ब्याट चलाइरहन सक्दिनँ।"
यति भनिरहँदा उनीहरूमा दृष्टिविहीन भएको कुनै लघुताभास वा पीडा देखिँदैन। उनीहरूको आफ्नै संसार छ र आफ्नै सपना छ।
साह वाचा गर्छन्,"मनको मुहार त म देख्न सक्दिनँ। तर त्यो अनुहारलाई सधैँ उज्यालो भएको महसुस गर्ने मेरो सपना हो। त्यो प्रयास म गरिरहनेछु। बाँचुन्जेल।"
महेश साहले यसो भन्दा मनकेसी चौधरी पुलकित भइन्। अनि उनीहरू दुवैको मुखाकृति उज्यालियो, मायाको भाषा बुझेर होला।











