दक्षिण एसियाली खेलकुद: ढिला हुनसक्ने आशङ्कामाझ लोगो र मस्कट सार्वजनिक

खेलकुद
तस्बिरको क्याप्शन, लोगो र मस्कट

निर्धारित समय भन्दा डेढ वर्ष ढिला भइसकेको र थप ढिलो हुन सक्ने आशङ्का माझ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ।

६ महिनापछि काठमाण्डू र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमवार एक समारोहबीच लोगो र मस्कट सार्वजनिक गरेको हो।

उक्त लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले तयार पारेका हुन्।

जसबापत उनले एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।

विशेषता

साग गेम्सको लोगो अन्तर्राष्ट्रिय शान्तिको प्रतिकको रुपमा रहेको परेवाको आकृति छ।

परेवामा प्रयोग भएको रङ्गले शान्ति सन्देश दिलाएको तथा उँभोतिर उडिरहेको परेवाको पखेटाले हिमाल दर्साएको लोगोका डिजाइनर भोलानाथ पौड्यालले बताए।

त्यस्तै परेवाको पछिल्लो भागमा सातवटा प्वाँख राखिएको छ। जसले सहभागी सातवटा दक्षिण एसियाली राष्ट्रको प्रतिनिधित्व तथा रंगशालाको ट्रयाक दर्साइएको ग्राफिक डिजाइनर पौड्यालले जनाएका छन्।

मस्कट भने लोपोन्मुख जनावर कृष्णसार राखिएको छ।

मस्कट प्रतियोगितामा समावेश सबै खेलहरूको विभिन्न मुद्रामा हुनेछ।

लोगो

तयारी

लोगो तथा मस्कट सार्वजनिक समारोह भएसँगै साग गेम्स निर्धारित समयमा हुने वा नहुने अन्योलता हटेको ठानिएको छ।

निर्धारित तालिका अनुसार साग गेम्स आगामी डिसेम्बर एक देखि १० तारिख ( मंसिर १५ देखि २४ गते) सम्म काठमाण्डू र पोखरामा हुनेछ।

नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, "साग गेम्स आयोजनाको विषयमा देखिएको अन्योलता हटेको छ र सरकार अब गम्भीर रुपमा अगाडि बढेको सङ्केत देखिएको छ। यो खुशीको विषय हो।"

साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका मन्त्री विश्वकर्माले पनि तयारी अब तीब्र गतिमा अगाडि बढ्ने बताएका छन्।

मन्त्रालयले प्रतियोगिताको लागि अत्यावश्यक चारवटा समिति पनि गठन गरेको छ। जसमा प्राविधिक समिति, बजेटको खाका कोर्न आर्थिक समिति, राष्ट्रिय टिमको तयारी गर्ने तयारी समिति र सुरक्षा व्यवस्थापनका लागि सुरक्षा समिति गठन भएको जनाएको छ।

साग गेम्स आयोजनाको सम्पूर्ण खर्च ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले साग गेम्स आयोजनाको लागि विगतमा जस्तै खेल पूर्वाधारको अब समस्या नहुने बताए।

विगतमा पूर्वाधार निर्माण सम्पन्न नभएका कारण खेल आयोजनामा अन्योल देखिएको थियो।