ओमानको खाडीमा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानी टीभीमा देखाइएको दृश्य - यसरी जल्यो तेल बोलेको ट्याङ्कर

ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकाको आरोप इरानी पक्षले अस्वीकार गरेको छ।

अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्।

ओमानको खाडी तेल ट्याङ्करहरूको आवतजावत हुने एउटा प्रमुख रणनीतिक जलमार्ग हो।

त्यहाँ दुईवटा तेल ट्याङ्करमाथि आक्रमण भएपछि अमेरिकाले त्यसका लागि इरानलाई जिम्मेवार भएको दाबी गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी आकलन "गोप्य सूचना, आक्रमणमा प्रयोग गरिएका हतियार र अन्य कारणमा आधारित" भएको बताए।

अस्वीकार

तर इरानले त्यो आरोप आधारहीन रहेको बताएको छ।

एक इरानी अधिकारीले ती आक्रमणसँग "इरानको कुनै सम्बन्ध नभएको" बीबीसीलाई बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, माइक पोम्पेओ भन्छन्, "बिनसित्ति गरिएका आक्रमण शान्ति र सुरक्षालाई चुनौती"

जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा आक्रमण भएलगत्तै ट्याङ्करहरूमा रहेका चालकदलका सदस्यहरूको उद्धार गरिएको थियो।

इरान र अमेरिका दुवैले आफूले चालकदलको उद्धार गरेको दाबी गरेका छन्।

'शङ्कास्पद'

आक्रमण भएका तेल ट्याङ्करहरू

तस्बिर स्रोत, FREDERICK A TERRY/ARTJOM LOFITSKI

सीधै खाडीको द्वन्द्वमा होमिन नचाहेको बताउने अमेरिका आफ्नो स्वार्थको रक्षा गर्ने पक्षमा छ।

इरानले ट्याङ्कर आक्रमणमा आफ्नो संलग्नता नभएको बताउँदै ती आक्रमण शङ्कास्पद भएको जनाएको छ।

शुक्रवार राष्ट्रसङ्घस्थित इरानी नियोगले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, "इरान १३ जुनमा तेल ट्याङ्ककरहरूमा भएको घटनाका सम्बन्धमा अमेरिकाले गरेका आधारहीन दाबीलाई अस्वीकार गर्छ र ती आक्रमणको भर्त्सना गर्छ।"

चिन्ता

अहिले ट्याङ्करमा आक्रमणको समाचार आएपछि तेलको मूल्य चार प्रतिशतले बढेको छ।

त्यसै क्षेत्रमा गत महिना चारवटा तेल ट्याङ्करमाथि आक्रमण भएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणसँग सम्बन्धित तथ्य बाहिर आउनुपर्ने बताउँदै खाडी क्षेत्रमा तनाव अझै बढ्न सक्ने चेतावनी दिएका थिए।