इरान अमेरिकासँग आर्थिक युद्धमा: रुहानी

हसन रुहानी

तस्बिर स्रोत, Reuters

इरानका राष्ट्रपति हसन रुहानीले इरानको तेल तथा वित्तीय क्षेत्रमा संयुक्त राज्य अमेरिकाले पुन: प्रतिबन्धहरू लागु गरेपछि देश आर्थिक युद्धको अवस्थामा रहेको बताएका छन्।

ती प्रतिबन्धहरू अन्तर्राष्ट्रिय नियमवपरीत र अन्यायपूर्ण भएको भन्दै उनले तिनलाई सगौरव छल्ने जनाएका छन्।

राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट बाहिरिएको घोषणा गरेका छ महिनापछि वाशिङ्टनले इरानविरुद्ध लगाइएको हालसम्मकै सबैभन्दा कडा भनिएका प्रतिबन्धहरू पुन: लागु भएका छन्।

ट्रम्प प्रशासनले सन् २०१५ मा गरिएको एक परमाणु सम्झौतापछि फुक्का गरिएका सबै प्रतिबन्धहरू पुन: लागु गरिदिएको छ।

प्रभाव

ती प्रतिबन्धको प्रभाव तेलनिर्यात, पानीजहाज परिवहन र ब्याङ्कजस्ता क्षेत्रमा पर्नेछन् र त्यसबाट खनिजतेलमा सम्पन्न इरानसँग कारोबार गर्न साह्रै अप्ठ्यारो पर्नेछ।

तर राष्ट्रपति हसन रुहानीले अवज्ञाकारी धारणा व्यक्त गर्दै इरानले तेलको बिक्रीलाई निरन्तर राख्‍ने बताएका छन्।

आर्थिक मामिला अधिकारीहरूसँगको बैठकमा राष्ट्रपतिले भने, "हामीले गर्वका साथ ती प्रतिबन्धहरूलाई तोड्ने छौँ।"

इरानको परमाणु गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ तयार पारिएको उक्त परमाणु सम्झौतामा कायमै रहेका युरोपेली देशहरूले व्यवसायहरूलाई ती प्रतिबन्धहरूलाई छल्न सघाइने जनाएका छन्। तर यो प्रयास सफल हुनेमा शङ्का व्यक्त गरिएको छ।

घोषणा

यो वर्ष केही अघि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त परमाणु सम्झौतालाई "सबैभन्दा खराब सम्झौता" भन्दै त्यसबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए।

इरानले उस्को परमाणु गतिविधिमा कटौती गरेका बदलामा उक्त देश विरुद्धका प्रतिबन्धहरूलाई केही खुकुलो तुल्याउने प्रावधान उक्त सम्झौतामा छ।

अन्तर्राष्ट्रिय परमाणु अस्त्र निगरानी निकाय,आईएईए, ले इरानले उक्त सम्झौताको पालना गरिरहेको जनाएको छ।

ट्रम्प

तस्बिर स्रोत, Reuters

तर राष्ट्रपति ट्रम्पले आफूले इरानलाई फेरि वार्ताको टेबलमा ल्याउन चाहेको बताएका छन्।

प्रतिबन्ध

नयाँ प्रतिबन्धअन्तर्गत सात सयजनाभन्दा बढी मानिसहरू, निकाय, समुद्री वाहन र विमानहरू प्रतिबन्धित सूचीमा परेका छन्।

तिनमा ठूला ब्याङ्क, तेल निर्यातकर्ता र समुद्री पारवहन कम्पनीहरू पर्दछन्।

त्यसका साथै अन्तर्राष्ट्रिय रकम भुक्तानी सेवा प्रदान गर्ने ब्रसल्सस्थित स्विफ्ट नेटवर्कले पनि प्रतिबन्धमा परेका इरानी निकायहरूसँग सम्बन्ध विच्छेद गरिदिन सक्छ। त्यसो भयो भने इरान अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट एक्लिन सक्छ।