विश्व नेताहरूद्वारा इरान सम्झौताको बचाउ

विश्व नेताहरूद्वारा इरान सम्झौताको बचाउ

तस्बिर स्रोत, AFP

संयुक्त राज्य अमेरिकाले इरानसँग गरिएको परमाणु सम्झौताबाट पछि हट्ने बताए पनि विश्वका धेरै नेताहरूले सो सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यूरोपेली संघ- ईयूले उसका सबै सदस्यहरूका तर्फबाट एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौताबाट बाहिरिएको अमेरिकाले झैं तेहरानमाथि उसले पुनः प्रतिबन्धहरू नलगाउने उल्लेख गरेको छ।

चीन तथा रुसले पनि सो सम्झौतामाथि समर्थन कायमै राख्ने जनाएका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले अमेरिकी निर्णयप्रति दु:ख लागेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

मनशाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले सोही किसिमको चिन्ता व्यक्त गरे।

ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सो सम्झौताबाट पछि हट्ने ब्रिटेनको कुनै मनशाय नभएको तर अमेरिकाले आफ्ना आगामी कदमहरूबारे स्पष्ट पार्नु पर्ने जनाएका छन्।

सो सम्झौता कायमै रहेको फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँको धारणा छ।

उनका अनुसार कुनै न कुनै रूपमा सो सम्झौतालाई निरन्तरता दिनेबारे छलफल गर्न आउँदो सोमबार ब्रिटिश, जर्मन तथा इरानी समकक्षीहरूले भेट गर्नेछन्।

जर्मनी अनि पाँच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यहरू अमेरिका, ब्रिटेन, फ्रान्स, चीन र रुसले सन् २०१५ मा इरानसँग सो सम्झौता गरेका थिए।

इरान

तस्बिर स्रोत, Getty Images

परित्याग

संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा निगरानीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइएईए) ले तेहरानले जनाएका प्रतिबद्धतालाई प्रमाणित गर्न महत्त्वपूर्ण रूपमा उसले सघाएको भन्दै इरानसँग गरिएको परमाणु सम्झौताको बचाउ गरेको छ।

इरानले आफ्नो तर्फबाट सम्झौताको पूर्ण पालना गरिरहेको पनि आइएईएले पुनः पुष्टि गरेको छ।

तर आफ्ना पूर्ववर्ती बराक ‌ओबामाको कार्यकालमा हस्ताक्षर गरिएको सो हस्ताक्षर पूर्णरूपमा त्रुटिपूर्ण भएको तर्क प्रस्तुत गर्दै सम्झौताबाट पछि हट्ने तथा प्रतिबन्धहरू पुनः लागू गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका थिए।

परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि पनि उनको देशसँग व्यापारिक सम्बन्ध जारी नै रहने भनेर यूरोपेली हस्ताक्षरकर्ताहरूले प्रत्याभूत गराउन नसके इरानले सो सम्झौता परित्याग गर्ने त्यहाँका सर्वोच्च नेता आयोतल्लाह अलि खामेनीले बताए।

सामाजिक संजालको वेबसाईट ट्वीटरमा एउटा सन्देश राख्दै खामेनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सिधै सम्बोधन गर्दै 'ट्रम्प, तिमीले गल्ती गर्‍यौ' भनेका छन्।

समर्थन

यूरोप अमेरिकामाथि निर्भर भएको र त्यसैले उसले स्वतन्त्र निर्णयहरू आत्मसात गर्न नसक्ने पनि इरानको रिभोलुस्नरी गार्डका कमाण्डर खामेनीले जनाएका छन्।

इरानी सांसदहरूले अमेरिका-विरोधी नारा लगाएका थिए र परमाणु सम्झौताको एक प्रति जलाएका थिए।

इरान-विरोधी भनिने देशहरू साउदी अरेबिया तथा इजरेलले भने सम्झौता त्याग्ने ट्रम्पको निर्णयमा समर्थन जनाएका छन्।