अमेरिका-इरान तनाव: के दुई देशबीच युद्धको सम्भावना बढेको हो?

USS Abraham Lincoln

तस्बिर स्रोत, AFP

Published

अमेरिकाले इरानलाई 'स्पष्ट र सोझो सन्देश' दिनका लागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन गरेको छ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो परिचालन 'समस्या हुन सक्ने सम्भावना र तनाव वृद्धिका केही सङ्केत र चेतावनीहरू'का कारण भएको बताएका छन्।

बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने बताए।

एक विज्ञप्तिमा बोल्टनले भने: "अमेरिकाले युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको छ।"

जोन बोल्टन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जोन बोल्टनले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका छन्

उनले थपे: "अमेरिकाले इरानसँग युद्ध चाहेको होइन। तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ।"

अमेरिकाले परिचालन गर्ने निर्णय गरेको लडाकू पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ।

अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त भइरहेको अवस्थामा यो निर्णय आएको छ।

फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताए।

अमेरिका-इरान सम्बन्ध

गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा गरेको परमाणु सम्झौताबाट हात झिकेका थिए।

सो सम्झौतामार्फत इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणु गतिविधि कम गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई निरीक्षण गर्न दिने सहमती जनाएको थियो।

गएको महिना ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलाई आर्थिक प्रतिबन्धबाट दिइएको छुटलाई अन्त्य गर्ने बताएको थियो।

सोही समयमा अमेरिकाले इरानको रिभोलुसनरी गार्ड कोर लाई विदेशी आतंककारी समूह भन्दै कालोसूचीमा राखेको थियो।

ट्रम्पले इरानमाथि नयाँ सम्झौता गर्न दबाव दिइरहेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार त्यस्तो नयाँ सम्झौताले इरानको परमाणु गतिविधिका अतिरिक्त क्षेप्यास्त्र कार्यक्रम तथा मध्यपूर्वमा इरानले गरिरहेको भनिएको 'खराब व्यवहार' पनि समेट्नु जरूरी छ।

आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्रो छ र इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ। यसले गर्दा विदेशी लगानीकर्ताहरू इरानमा लगानी गर्न अनिच्छुक छन् भने इरानमा विरोधहरू भइरहेका छन्।

इरानले अमेरिकाको आर्थिक प्रतिबन्धको जवाफ स्ट्रेट अफ होरमुज बन्द गरेर दिने चेतावनी दिएको छ।

यो समुन्द्री बाटोबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुन्छ।