निर्मला हत्या प्रकरण: 'न्याय नपाएसम्म धर्नाबाट उठ्दिनँ'

पश्चिम नेपालको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारजनले न्यायको माग गर्दै आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना शुरू गरेका छन्।
घटना भएको एक सयभन्दा बढी दिन बितिसक्दा पनि त्यसमा संलग्नहरूलाई पत्ता नलगाइएपछि उनीहरूले धर्ना थालेका हुन्।
उनीहरूले अबको केही दिनसम्म पनि दोषी पत्ता नलागे आमरण अनशन शुरू गरेने चेतावनी समेत दिएका छन्।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले भने प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्।
माग
निर्मला पन्तका परिवारले पाँच दिन अघि पत्रकार सम्मेलन गरी स्थानीयवासीलाई धर्नामा आउन आह्वान गरेका थिए।
आइतवार पन्त परिवार सहित महिला अधिकारकर्मी र स्थानीयवासी नारा-जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा बसेका हुन्।
निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले भनिन्, "आजसम्म पनि दोषी पत्ता नलागेकाले हामी अनिश्चितकालिन धर्नामा बसेका हौँ।"
निर्मला पन्तका बुवा यज्ञराज पन्तले लामो समयदेखि न्याय माग्दा-माग्दै परिवार नै आर्थिक संकटमा परेपनि न्याय नपाएसम्म पछि नहट्ने बताए।
दाबी
"जबसम्म मेरो छोरीलाई न्याय मिल्दैन तबसम्म यो जिल्ला प्रशासनको गेटबाट उठ्दिनँ," उनले भने।
सरकारी अधिकारीहरूले भने घटनाको अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लाग्ने दाबी गर्छन्।
नेपाल प्रहरीका प्रवक्ता सुवेदीले बीबीसीसँग भने, "नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। जुन प्रक्रियाले अनुसन्धान गर्नुपर्ने हो त्यो भइरहेको छ।"
निर्मलाका परिवारले सरकारले दिने भनेको राहत पनि बुझेका छैनन्।
उनका आमा-बाबु दुवैजना बिरामी भएकाले औषधि खाएरै धर्नामा बसिरहेको बताइएको छ।
लामो समयसम्म पनि दोषी पत्ता नलगाई सरकारी निकायले अनुसन्धानको नाटक मात्र गरेको भन्दै महेन्द्रनगरवासी आक्रोशित छन्।









