निर्मला हत्याकाण्ड: प्रहरीको कार्यक्षमतामाथि प्रश्न

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको भनिएको हत्यामा बालिकाले लगाएको कपडा जलाउने, मुचुल्कामा बाबुको नक्कली औंठाछाप राख्नेजस्ता काम भएको पाइएको भन्दै प्रहरीको कार्यक्षमतामा प्रश्न उठेको बताएका छन्।
बुधवार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा महिला हिंसा, बलात्कार र हत्याबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन्।
गृहमन्त्रीले उनकै शब्दमा "सामन्तवादी र पूँजीवादी चेतनाको उपज"का रूपमा यस्ता घटनाहरू घटेको समेत बताएका थिए।
१३ वर्षे बालिकाको हत्याको दुई महिना पुग्दा समेत प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन बरू त्यसयता बलात्कारका घटनाहरू दैनिकजसो बढिरहेको भन्दै समितिका सांसदहरूले मन्त्रीसामु जवाफ मागेका थिए।
जवाफ
गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसाथ समितिमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाले बालिकाको बलात्कारपछि हत्याको अनुसन्धानमा सरकारको कामकारबाहीमाथि कुनै शंका नगर्न भन्दै सरकारको बचाउ मात्र गरेनन्, आफू मन्त्री भएपछि गरेका केही राम्रा कामको फेहरिस्त समेत सुनाएका थिए।
निर्मला हत्याकाण्डपछि प्रहरीबाट अनुसन्धानका क्रममा भएका गल्तीहरू समेत सरकारले सच्याइसकेकोले दोषी पत्ता लाग्ने बताए।
अनुसन्धानका लागि गठन भएको छानबिन समितिबाट सत्यतथ्य पत्ता नलाग्ने देखिएको भन्दै केही समयअघि राजीनामा दिएका वीरेन्द्र केसीबारे समेत सांसदहरूको जिज्ञासा उठेको थियो।

जसको बचाउ गर्दै थापाले भने, "प्रहरीबाटै मुचुल्कामा नक्कली औंठाछाप, लुगा नस्टजस्ता कामहरू हुँदा छानबिन टोली समेत त्यस्तै हुने हो कि भन्ने भयले राजिनामा दिएका थिए। निर्मला हत्याकाण्डमा तुरून्त परिणाम नआउँदा प्रहरीको कार्यक्षमतामा प्रश्न त उठेको छ। तर हामीले यसमा धैर्य गर्नुपर्छ।"
माग
सांसदहरूले प्रहरी संगठनभित्र यस्ता अनुसन्धानका लागि महिलाहरूको सङ्ख्या बढाउनुपर्ने, पीडितहरूको उपचार र क्षतिपूर्तिमा समान मापदण्ड हुनुपर्ने, प्रहरी संगठनको काममा राजनीतिक हस्तक्षेप हुन नहुने जस्ता विषय उठाएका थिए।
बलात्कारीलाई कडा सजाय दिने विषयमा सरकारकै नेतृत्व गरेको नेकपाकी सांसद सुजिता शाक्यले बलात्कारीलाई नपुंसकता विकास गर्ने केमिकल क्यास्ट्रेसनमा जानुपर्नेसमेत सुझाएकी थिइन्।
उनले भनिन्, "बलात्कारीलाई हामीले नपुंसक बनाउने सजाय दिन सक्यो भने उसलाई जीवनभर त्योभन्दा ठूलो दु:खको विषय बन्न सक्दैन।"
अन्य सांसदहरूले पनि लामो समयसम्म यसरी घटनाको दोषी पत्ता नलाग्दा दण्डहीनताको सन्देस समाजमा गइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
अवस्था
प्रहरीकै विवरण अनुसार पनि निर्मलाको हत्या भए यता जबरजस्ती करणीका घटनामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ। जसक्रममा १०७ अभियुक्त हिरासतमा छन् भने ४० फरार छन्।
सांसद लक्ष्मी चौधरीले भनिन्, "जबसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन, अन्य अपराधीहरूको मनोबल बढेको जस्तो देखिएको छ, जिस्क्याउन लागे जस्तो मात्र लाग्छ।"
अर्की सांसद तीर्था गौतमले भने बलात्कारीजत्तिकै प्रमाण नस्ट गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।
सडकदेखि सदनसम्म बहसको विषय बनेको निर्मलाको बलत्कारपछि हत्याको घटनाबारेको अनुसन्धान, समयक्रमसँगै फितलो हुँदै जाने हो कि भन्ने चिन्ता धेरैमा देखिन्छ।









