'प्रहरीद्वय विष्ट र भट्ट बर्खासी सिफारिस प्रक्रियामा'

निर्मला पन्त
तस्बिरको क्याप्शन, आइतवारबाट शुरू भएको बताएको उक्त प्रकृयाले केही समय लिन सक्ने गृहका अधिकारीहरूले बताएका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै बर्खास्त गर्न सिफारिस गरिएका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदीश भट्टको स्पष्टीकरण लिने प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ।

झण्डै तीन महिनाअघि उक्त घटना हुँदा विष्ट र भट्ट दुवै कञ्चनपुरमा कार्यरत थिए।

उनीहरूलाई भदौकै अन्तिम साता गृहको एक उच्चस्तरीय छानबिन समितिको सिफारिसमा निलम्बन गरिएको थियो।

त्यसपछि नेपाल प्रहरीले उनीहरूलाई असोज २९ गते सेवा निष्कासनका लागि सिफारिस गरेर गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

प्रकृया

मन्त्रालयले सेवा निस्कासनका लागि प्रक्रिया अघि बढाएको गृह सचिव प्रेमकुमार राईले बीबीसीलाई बताए।

उनले भने, "पहिले सफाईको मौका दिनुपर्छ अनि स्पष्टीकरण लिने काम हुन्छ।"

आइतवारबाट शुरू गरेको बताएको उक्त प्रक्रियाले केही समय लिन सक्ने गृहका अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीले थुप्रै आधारहरूमा टेकेर यस्तो निर्णयमा पुगेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।

अडिओ क्याप्शन सुरु हुँदैछ, अधिवक्ता सुष्मा गौतमसँग

"गृहकै छानबिन समितिको प्रतिवेदनका अलावा प्रहरी महानिरीक्षकको स्थलगत भ्रमणमा भेटिएका तथ्य र घटनाको छानबिनमा संलग्न प्रहरीहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरू बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको प्रारम्भिक विवरणका आधारमा यस्तो सिफारिस गरिएको हो।"

निर्मला प्रकरणलाई लिएर सरकारमाथि सडकदेखि सदनसम्म चर्को दबाब परिरहँदा समेत अहिलेसम्म अनुसन्धान दोषी पत्ता लगाउन सकिराखेको छैन।