तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप २०१८: इरानमा महिला छुटेपछि बिलबोर्ड परिवर्तन
महिलाहरूलाई छुटाइएको भनेर आलोचना भएपछि तेहरानमा विश्वकप २०१८ मा सहभागी इरानको राष्ट्रिय टोलीको समर्थनमा बनाइएको एउटा बिलबोर्ड फेरिएको छ।
राजधानी तेहरानमा राखिएको उक्त बिलबोर्डमा विश्वकपको ट्रफी बोकेका विभिन्न जातजातिका पुरुषहरूलाई उत्सव मनाउँदै गरेको देखाइएको थियो।
नयाँ बिलबोर्डमा महिला र पुरुषहरू सँगसँगै उभिएका देखिन्छन्।
त्यससँगै फारसीमा लेखिएको छ: सँगै हामी विजेता: एक राष्ट्र, एक ढुकढुकी।
'लैङ्गिक भेद'
पुरुषहरू मात्र सम्मिलित पुरानो बिलबोर्डको व्यापक आलोचना भएको थियो।।
स्थानीय 'कानुन' पत्रिकाले आफ्नो पहिलो पृष्ठमा 'महिलाविना हामी पराजित हुन्छौँ' भन्दै एउटा तस्बिर छाप्यो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि त्यसरी महिला छुटाइनु लैङ्गिक विभेद भएको भनेर टिप्पणी गरेका थिए।
सन् १९७९ को क्रान्तिपछि इरानमा महिलाहरूलाई खेलकुद आयोजना स्थलहरूमा जान दिइँदैन।
गत एप्रिलमा तेहरानस्थित एउटा रङ्गशालामा आयोजित एउटा फुटबल खेल हेर्न जाँदा केही महिलाहरूले नक्कली दाह्रीजुँगा हालेर पुरुषको जस्तै रूप बनाएका थिए।
यसैबीच अधिकारीहरूले विश्वकपमा इरान सहभागी हुने खेलहरू तेहरानको आजादी रङ्गशालामा ठूलो स्क्रीनमा देखाइँदा महिलाहरूलाई पनि हेर्ने अनुमति दिने योजना स्थगित गरेका छन्।
(यो सामग्री 'बीबीसी मनिटरिङ' ले उपलब्ध गराएको हो।)