विश्वकप२०१८: सलाहविनै इजिप्ट उरुग्वेविरुद्ध मैदानमा

इजिप्टका फर्वार्ड मोहमद सलाह शुक्रवार उरुग्वेविरुद्ध हुने आफ्नो टोलीको विश्वकप २०१८ को पहिलो खेलमा मैदानमा नउत्रिने भएका छन्।

लिभरपुल फुटबल क्लबका लागि खेल्ने २५ वर्षीय सलाह मे २६ मा च्यापिएन्स लिगको फाइनलमा रेआल मड्र‌िडसँग भएको खेलमा घाइते भएका थिए। उनको काँधमा चोट लागेको थियो।

सलाह बुधवारदेखि अभ्यासमा फर्किएका थिए।

बिहीवार इजिप्टका प्रशिक्षक हेक्टर क्युपरले सलाह राम्रो स्थितिमा रहेका र उनको चोट धेरै छिटो निको भएको बताएका थिए।

उनले सञ्चारमाध्यमलाई सलाह "शतप्रतिशत" खेल्नेछन् भनेर "आश्वस्त" पारेका थिए।

इतिहास

उरुग्वे र इजिप्टबीच जम्मा एकचोटि खेल भएको छ।

सन् २००६ को अगस्टमा भएको खेलमा उरुग्वेले इजिप्टलाई २-० गोलले पराजित गरेको थियो।

विश्वकपमा भने यो उनीहरूको पहिलो भेट हो।

उरुग्वे विश्वकपको खेलमा कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन।

इजिप्ट सन् १९९० पछि विश्वकपमा पहिलो पटक खेल्दैछ। रुसमा आयोजित विश्वकपमा इजिप्टको सहभागिता तेस्रो पटक हुँदैछ।

यसअघिका विश्वकपमा उसले कुनै पनि खेल जितेको छैन।

उरुग्वे दुईचोटि विश्वकप विजेता हो। सन् २०१० मा सो टोली चौथो भएको थियो।

गत छ विश्वकप प्रतियोगिताहरूमा उरुग्वेले आफ्नो पहिलो खेल जितेको छैन।