ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री

आफूले कार्यभार सम्हालेको डेढ हप्तापछि प्रधानमन्त्री केपी ओलीले गठबन्धन सहयात्री माओवादी केन्द्रलाई समेत सामेल गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सोमवार प्रधानमन्त्रीको दल एमाले र माओवादी केन्द्रका दुई/दुई मन्त्री थपिएका छन्।

एमालेका ईश्वर पोख्रेलले रक्षा र युवराज खतिवडाले अर्थ मन्त्रालय पाएका छन्।

माओवादी केन्द्रका रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका छन्।

उनीहरूले सोमवारै पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअघि ओलीले फागुन ३ गते आफूले शपथ गरेकै दिन एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्रिपरिषद्‌मा सामेल गरेका थिए।

अझै अपूर्ण

मन्त्रिपरिषद्‌ले सोमवारै पूर्णता पाउने टिप्पणी सत्तारूढ दलहरूका प्रमुख नेताहरूबाट यसअघि आएका थिए।

तर प्रधानमन्त्री ओली सोमवार चार मन्त्री मात्रै थप्न सफल भए जसपछि मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ।

केही दिनअघि मात्रै केन्द्रमा १८ वटामात्रै मन्त्रालय राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

मन्त्रालयको संख्या १८ भएपनि संविधानअनुसार उपप्रधानमन्त्री, मन्त्री, सहायक र राज्यमन्त्री गरी २५ जनासम्म मन्त्री राख्न पाइनेछ।

पृष्ठभूमि

सोमवार मन्त्री बनेकामध्ये युवराज खतिवडाबाहेक सबै राजनीतिमा सक्रिय नेता हुन्।

योजना आयोगका पूर्व उपाध्यक्ष एवम् राष्ट्र ब्याङ्कका पूर्व गभर्नर खतिवडा अर्थ क्षेत्रका विज्ञ हुन्।

र, उनले आफ्नो विज्ञता रहेको क्षेत्रसँग सम्बन्धित मन्त्रालय सम्हाल्ने मौका पाएका छन्।

उनी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित भएका थिए।

तर सर्वोच्च अदालतले मनोनितहरूलाई तत्काल शपथ नगराउन भनेपछि उनी राष्ट्रिय सभाको सदस्य बन्ने बाटो तत्कालका लागि रोकिएको छ।

मन्त्री बन्नका लागि संघीय संसदको सदस्य हुनुपर्ने प्रावधान संविधानको धारा ७८ मा छ।

तर सांसद नभएकाको हकमा सोही धाराको उपाधारा २ मा मन्त्रीले शपथ ग्रहण गरेको मितिले छ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ।

एमालेका महासचिव ईश्वर पोख्रेलसँग विगतमा उपप्रधानमन्त्री र मन्त्रीको कार्यभार सम्हालेको अनुभव छ।

माओवादी केन्द्रबाट विगतमा असन्तुष्टि पोखेर पार्टी छाडेका र पछि फर्किएका दुई नेता रामबहादुर थापा र मातृका यादव प्रारम्भिक चरणमा मन्त्रिपरिषद्‌मा सहभागी भएका छन्।