ओली पाँच वर्षकै लागि प्रधानमन्त्री: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेलाई पाँच वर्षको निम्ति प्रधानमन्त्री भएको बताएका छन्।

सोमवार पार्टी एकताबारे भएको सहमतिपत्रमा सरकारको नेतृत्वबारे केही उल्लेख छैन।

चितवनमा मंगलवार पत्रकारहरुले त्यसबारे जिज्ञासा राख्दा प्रचण्डले भने, "महाधिवेशन पछि त महाधिवेशनल के गर्छ भन्ने हुन्छ तर अहिलेको लागि चाहिं कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो।"

पार्टीको एकता महाधिवेशन डेढ या दुई वर्षभित्रै भइसक्ने उनले उल्लेख गरे।

आलोपालोको चर्चा

सरकारको नेतृत्व आलोपालो गरिने भन्ने बारेमा यसअघि चर्चा चलेका भए पनि सोमवार राति भएको सहमतिमा सो कुरा उल्लेख थिएन।

तर प्रचण्ड स्वयंले केही दिन अगाडि चितवनमै पुगेर आफू ढिलोचाँडो प्रधानमन्त्री भएरै त्यहाँ फर्कने घोषणा गरेका थिए।

साथै माओवादीका नेताहरुले पनि सरकारको नेतृत्व समेत आलोपालो हुन सक्ने अभिव्यक्ति दिएका थिए।

अर्थ

प्रचण्डको पछिल्लो टिप्पणीबारे प्रस्ट पार्दै उनी निकट एकजना नेता हरिबोल गजुरेलले पार्टी एकता नै भइसकेपछि नयाँ परिवेश आउने हुनाले अब आलोपालो भन्ने विषय नै नरहने बताए।

"एकता हुनु अघिसम्म दुईवटा अध्यक्ष हुने वा आलोपालो गर्ने भन्ने कुरा मनोवैज्ञानिक विषय रहन्छ। तर एकता भइसकेपछि त नयाँ परिवेशमा नयाँ निर्णय हुन्छ," उनले भने