तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘एमाले संशोधनमा राजी भए फोरम सरकारमा’
संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा नेकपा एमालेसँग सहमति भएमा भावी सरकारमा सहभागी हुने बाटो खुल्ने बताएका छन्।
एमाले अध्यक्षले शुक्रबार संविधान संशोधनको निम्ति वाम गठबन्धन तयार रहेको बताएका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधनमा सहमति हुने सम्भावना दर्शाउँदै तराई केन्द्रित दल वाम गठबन्धनको सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ती विषयमा वाम गठबन्धनसँग छलफल भएको स्वीकार गरे।
तर आफूहरु सरकारमा जान संशोधनमा सहमति र त्यसको कार्यान्वयनको मार्गचित्र तयार हुनु पर्ने बताउँदै भने, "प्रचण्डजीमा त समस्या छैन। तर एमालेले औपचारिक रुपमा मुख खोलेको छैन। हाम्रा माग सम्बोधन हुने गरी संशोधनमा सहमति हुनुपर्छ।"
सम्भावना
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई केन्द्रित दल वाम गठबन्धनको सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।
चितवनमा पत्रकारहरुसँग कुरा उनले भने, "उहाँहरुको चासो संविधान संशोधनमा छ, त्यसमा पनि समझदारी बन्ने सम्भावना छ।"
एमाले अध्यक्ष केपी ओलीले तराई केन्द्रित दललाई संशोधनको निम्ति छलफलमा आउन समेत आग्रह गरेका थिए।
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका एकजना सदस्य राजेन्द्र महतोको भनाइ छ, "सबैभन्दा ठूलो दल भएकाले समस्या समाधान गर्ने एमालेको जिम्मेवारी हो। काम गरेर देखाउनु पर्यो। संशोधनका मुद्दाबारे स्पष्ट नहुँदासम्म सरकारमा जाने कुरा हुँदैन।"
खासगरी प्रदेश नम्बर २ मा बलियो उपस्थिति देखाएका दुई प्रमुख दललाई वाम गठबन्धनले मनाउने प्रयास गरेको जस्तो देखिन्छ।
तर उनीहरुले उठाउँदै आएको संविधान संशोधनको विषय त्यति सहज ठानिएको छैन।