तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान: जैनब अन्सारीको हत्यारालाई मृत्युदण्ड
पाकिस्तानमा छ वर्षीया बालिका जैनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका एक पुरूषलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको छ।
बलात्कार तथा हत्याको मुद्दाको सुनुवाइ हुने बेला अदालत वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो। अदालतमा बालिकाका बुवा पनि उपस्थित थिए।
जैनब अन्सारीको मृत शरीर गत महिना लहोरदेखि दक्षिणमा पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभरि आक्रोश व्यक्त भएको थियो।
२४ वर्षीय इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफू संलग्न रहेको स्वीकार गरेका थिए।
आलोचना
अलीले अन्य बालबालिकालाई पनि आफूले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए।
पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बालिका हत्याका अन्य घटनामा पनि अलीनै संलग्न रहेको बताएका छन्।
जैनबको घर नजिकै बसोबास गर्ने अलीलाई प्रहरीले 'डीएनए' प्रमाणको आधारमा पक्राउ गरेको थियो।
जैनबको मृत शरीर फेला परेपछि कसुर नगरमा आक्रोशपूर्ण प्रदर्शनहरू भएका थिए।
नगरबासीले बालबालिकाहरूको हत्या रोक्न सरकारले पर्याप्त कदम नचालेको भन्दै विरोध प्रदर्शन चर्काएका थिए।
अलीले विगत करिब एक वर्षअघि देखि आपराधिक क्रियाकलाप गर्ने गरेको स्थानीयवासीको भनाइ छ। उनीहरूले अलीलाई ढिलो पक्राउ गरेको भन्दै प्रहरीको आलोचना गरेका छन्।
मुद्दा
न्यायाधिवक्ता एहतीशाम कादिर शाहले रोएटर्स समाचार संस्थालाई बताए अनुसार अन्य अपराधको कानूनी उपचारका लागि अलीविरुद्ध छिट्टै थप मुद्दाहरू दायर गरिनेछ।
अलीले अपराध कबुल गरेपछि उनका वकिल पछि हटेका थिए।
अलीलाई अपहरण, बलात्कार, हत्या तथा आतङ्कवादको कसुरमा मृत्युदण्ड र अप्राकृतिक मैथुनको कसुरमा आजीवन कारावास र ठूलो जरिवाना सजाय सुनाइएको छ। उनले पुनरावेदन गर्न १५ दिनको समय पाउने छन्।
जैनब र अन्य बालबालिकाको हत्याको अनुसन्धान गर्न प्रहरीमाथि तीव्र दबाब परेको थियो।
जैनब हराएपछि आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभी भिडिओ फूटेज फेला पारेका थिए।
एक पुरूषले ती बालिकालाई लिएर हिँडिरहेको देखिने त्यो भिडिओको एक अंश सामाजिक सञ्जालमा धेरैले हेरेका थिए।