लास भेगसः आक्रमणको उद्देश्य के होला?

अमेरिकी प्रहरीले लास भेगसमा बन्दुकधारीले आक्रमण गर्नुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको बताएको छ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब भनिएको उक्त गोलीकाण्डमा कम्तीमा ५९ जना मारिएका छन् भने ५२७ जना घाइते भएका छन्।

६४ वर्षीय हमलाकारी स्टिभन प्याडक बसेको होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेभाडा राज्यस्थित प्याडकको घरबाट पनि हातहतियार र गोलीगट्ठा बरामद गरिएको छ।

सम्बन्ध

तर प्याडकलले आक्रमण गर्नुको उद्देश्यबारे अहिलेसम्म थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकु समूहबीच कुनै सम्बन्ध रहेको देखिएको छैन।

विगतमा कुनै आपराधिक क्रियाकलापमा पनि उनी संलग्न नरहेको अधिकारीहरुले बताएका छन्।

केही छानबिनकर्ताहरुले प्याडकको मानसिक अवस्था बिग्रेको हुनसक्ने आशंका गरे पनि त्यसको आधिकारिक भएको छैन।

एकता

बन्दुकधारीबारे पहिलेदेखि कुनै जानकारी नभएको प्रहरीले जनाएको छ।

घटनापछि राष्ट्रपति डोनल्ड ट्रम्पले एकता र शान्तिका लागि अपील गर्दै उक्त गोलीकाण्डलाई 'दुष्टताले भरिपूर्ण क्रियाकलाप' भनेका छन्।

लास भेगसकी मेयर क्यारोलिन गुडम्यानले अक्टोबर १ तारखलाई अहिलेसम्मकै सबैभन्दा कालोमध्येको एक दिन भनेकी छन्।

प्याडकले लास भेगसस्थित एउटा होटलको ३२ औं तल्लाको कोठाबाट त्यहाँदेखि नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए।