मेलम्चीको पानी कति महँगो, आयोजना असफल बन्ने आशङ्का किन?

सुन्दरीजल

तस्बिर स्रोत, melamchiwater.gov.np

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डूका धाराहरूमा पानी झारिए पनि पूर्ण क्षमतामा निरन्तर पानी ल्याउन र लक्षित सबै घरमा पुर्‍याउन धेरै काम बाँकी छ।

काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले काठमाण्डूका तीन जिल्लामा उसका साढे दुई लाख ग्राहक छन्।

तीमध्ये करिब डेढ लाख ग्राहकको धारामा मेलम्चीको पानी पुगिरहेको उसको अनुमान छ। उसले बाँकीलाई अन्य स्रोतको पानी उपलब्ध गराउँदै आएको बताउँछ।

काठमाण्डूको सुन्दरीजलदेखि काठमाण्डू उपत्यकाभित्रका घर-घरमा पाइप पुर्‍याउने लगायतका काम मेलम्ची सब प्रोजेक्ट-२ को आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ।

दुई चरणमा गरेर ८५ हजार र ६० हजार घरधुरीसम्म पाइपलाइन जोड्ने उसको जिम्मेवारी छ।

निर्देशनालयका उपनिर्देशक तथा प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार अहिलेसम्म एक हजार १० किलोमिटर लामो नयाँ पाइपलाइन बिछ्याइसकिएको छ। त्यसमध्ये ४२९ किलोमिटरमा परीक्षण गरिएको छ भने ५८१ किलोमिटरमा परीक्षण गर्नै बाँकी छ।

प्रवक्ता श्रेष्ठ भन्छन्, “मेलम्चीको पानी नआएकाले परीक्षण गर्न सकिएको थिएन। अब पानी उपलब्ध भएकाले बर्खा अघिसम्म परीक्षण गरिसक्ने लक्ष्य छ।”

कहिले पाइपलाइन, कहिले पानी?

दोस्रो चरण अन्तर्गत ७९६ किलोमिटर पाइप बिछ्याउने काम जारी छ। त्यसको ७५ प्रतिशत काम सकिएको निर्देशनालयका अधिकारीहरूले जनाएका छन्।

निर्देशनालयको पहिलो चरणको काममा ३४ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेकोमा हालसम्म करिब २३ अर्ब रुपैयाँ खर्च भएको छ।

प्रवक्ता श्रेष्ठले भने, “एक वर्षमा बाँकी काम पूरा गर्न सकिन्छ र त्यो काममा अब करिब ११ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।”

आयोजनास्थल

तस्बिर स्रोत, melamchiwater.gov.np

तर जानकारहरू सरकारी निकायबीचको समन्वय लगायतका जटिलता चिर्दै एक वर्षमा बाँकी पाइपलाइन बिस्तार चुनौतीमुक्त नभएको बताउँछन्। त्यसपछि पानी परीक्षण गर्नुपर्ने छ।

उनीहरू पहिलो चरणकै आधाभन्दा बढी पाइप लाइनको परीक्षण नसकिएकाले दोस्रो चरणको पाइपलाइन परीक्षण गर्दासम्म अझै दुई वर्ष लाग्ने अनुमान गर्छन्।

नयाँ पानी पोखरी बनाउने, पानी पोखरीसम्म मुख्य पाइपलाइन बिस्तार गर्ने र त्यहाँबाट घर घरसम्म पाइप जोड्ने जिम्मेवारी निर्देशनालयको हो।

सुरुमा मेलम्ची खानेपानी विकास समितिले नै सबै काम गर्ने भनिए पनि आयोजनामा ढिलाइ हुँदै गएपछि निर्देशनालयलाई उक्त जिम्मेवारी दिइएको हो।

मेलम्चीको खर्च: ६५ अर्ब, अझै बढ्ने?

नेपाल सरकार र प्रमुख दातृ निकाय एशियाली विकास ब्याङ्कबीच २०६४ सालमा आयोजना पुनर्संरचना गर्दै ६ वर्षभित्र काम पूरा गर्ने सहमति अनुसार त्यसो गरिएको अधिकारीहरूले जनाएका छन्।

जसअनुसार मेलम्ची खानेपानी विकास समितिको कार्यक्षेत्रमा सिन्धुपाल्चोकमा प्रवेश मार्ग, सुरुङ, हेडवर्क्स र काठमाण्डूको सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनाउने जिम्मेवारी पर्‍यो।

त्यस्तै जग्गा प्राप्ति, मुआब्जा वितरण, सामाजिक उत्थान, वातावरण कार्यक्रम र क्षतिपूर्ति वितरण लगायतका काम पनि उसैले गरेको हो। समितिको काममा हालसम्म ३० अर्ब रुपैयाँभन्दा केही बढी खर्च भएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

यसरी हालसम्मको लक्ष्य अनुसार मेलम्ची खानेपानी आयोजनाको कूल खर्च कम्तीमा ६५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ। काममा भएको ढिलाइ र अमेरिकी डलरको मूल्य बढ्दै जाँदा आयोजनाको लागत बढ्दै गएको जानकारहरू बताउँछन्।

काठमाण्डू उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार काठमाण्डू उपत्यकामा दैनिक करिब ४७ करोड लिटर पानीको माग छ।

उनले भने, “मेलम्चीबाट १७ करोड लिटर पानी आएपछि हाल दैनिक २६-२७ करोड लिटर पानी वितरण भइरहेको छ।”

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, PM MEDIA

प्रत्येक धारा बराबर साढे ४ लाख रुपैयाँ लगानी?

आयोजना कार्यान्वयन निर्देशनालयले परीक्षण गरिएको ७१ किलोमिटर पाइपलाइन मात्र केयूकेएललाई हस्तान्तरण गरेको छ। त्यसैले मेलम्चीको पानी आउने धाराको सङ्ख्या निश्चित नभएको प्रवक्ता राईले जनाए।

तर मेलम्चीको पानी झरिरहेको पुरानो धाराको सङ्ख्या डेढ लाख रहेको अनुमान गरिएको छ।

त्यो सङ्ख्यालाई आधार मान्दा मेलम्चीको पानी ल्याउँदा हालसम्म भएको खर्च एक धारा बराबर झन्डै साढे ४ लाख लगानी पर्न आउँछ।

घर घरमा धारा बिस्तार भएर मेलम्चीको पानी आपूर्ति भएमा प्रतिधारामा देखिएको लगानी मात्र नभई महसुलबाट मेलम्ची आयोजनामा भएको खर्च पनि कम हुँदै जाने अधिकारीहरूको तर्क पाइन्छ।

प्रकृतिको प्रहार: अब मुहान नयाँ कि पुरानै?

मेलम्चीबाट २०७७ साल चैत महिनामा काठमाण्डूमा पानी ल्याइयो। तर तीन महिनापछि २०७८ सालको असारमा आएको बाढीले मुहान नै पुरिदियो।

मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैशाखमा फेरि पानी ल्याइयो। साउन २८ र २९ गतेको बाढीले त्यो संरचनामा पनि क्षति पुर्‍याइदियो।

अहिले भइरहेको पानी आपूर्ति पनि अस्थायी व्यवस्थामा निर्भर छ। त्यसैले हेडवर्क्स केही माथि नयाँ ठाउँमा बनाउने दातृ निकायको प्राविधिक सुझाव प्राप्त भएको अधिकारीहरू बताउँछन्।

त्यसको निम्ति थप सुरुङ र नयाँ हेडवर्क्स बनाउँदा थप करिब पाँच अर्ब लगानी हुने र ४-५ वर्ष जति लाग्ने विज्ञहरूको भनाइ छ।

बाढी

तस्बिर स्रोत, RSS

एक अधिकारी भन्छन्, “त्यसैले पुरानै मुहानमा केही संरचना थपेर पानी चलाउन सकिन्छ कि भन्नेबारे पनि छलफल भइरहेको छ।”

प्रधानमन्त्री प्रचण्डले हालकै अस्थायी संरचनालाई बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको जनाएका छन्।

तर कतिपय जानकारहरूले त्यसो गर्दा बाँकी रहेको सुरुङमा पनि क्षति पुग्ने सक्ने जोखिम हुने ठान्छन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहमद अन्सारीले भने, “सुरुङ आफैमा जोखिमपूर्ण वा कमजोर छैन। तर बाढीले क्षति नपुर्‍याओस् भनेरै हामीले वर्षा याममा ढोका बन्द गर्ने हो। अहिलेकै अवस्थामा हामीले वर्षमा ८ महिना जति पानी पुर्‍याउने गरी काम गर्न खोजेका छौँ, वैकल्पिक व्यवस्थाबारे छलफल जारी छ।”

तर एक अर्का अधिकारीले वर्षमा करिब पाँच महिना मात्रै पानी वितरण सम्भव हुने बताउँछन्। उनले भने, “बर्खामा बन्द गर्दै पर्‍यो, पानी सङ्लो भएपछि खोल्दा करिब पाँच महिना मात्रै आपूर्ति गर्न सक्ने देखिन्छ।”

आयोजनास्थल

तस्बिर स्रोत, melamchiwater.gov.np

थप पानीको निम्ति थप लगानी कति?

अहिलेको मेलम्ची पूर्ण सञ्चालनमा आउँदा पनि काठमाण्डूको माग पूरा गर्न नसक्ने भएकाले नजिकै याङ्ग्री र लार्केको पानी पनि ल्याउने योजना पुरानै हो।

त्यसको निम्ति सरकारी बजेटमा मुहानसम्म सडक बनाउने, मुआब्जा र क्षतिपूर्ति वितरण गर्ने काम सरकारी बजेटमा भइरहेको छ। त्यसमा एक अर्ब रुपैयाँ जति खर्च भएको छ। तर बनाइएको आधा बाटोमा पनि बाढीले क्षति पुर्‍याएको छ।

कार्यकारी निर्देशक अन्सारीका अनुसार याङ्ग्री र लार्केको निम्ति ११ किलोमिटर सुरुङ र सुन्दरीजलमा थप प्रशोधन केन्द्र बनाउनु पर्ने हुन्छ।

कति पानी कहाँ-कहाँबाट?

  • पानीको कुल परिमाण: मेलम्चीको १७ करोडमा याङ्ग्री र लार्केको पनि १७/१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना
  • थप दुई वटा सुरुङ: लार्केबाट याङ्ग्रीमा पानी खसाउन २ किमी लामो अनि याङ्ग्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९.५ किमि लामो अर्को सुरुङ आवश्यक
  • थप लगानी: बाढी पूर्वको अनुमानमा थप ३० अर्ब रुपैयाँ खर्च हुने
  • पहुँच सडक निर्माण: याङ्ग्री खोलाको आयोजना निर्माणस्थलसम्मको पहुँच मार्ग निर्माणाधीन, सडक निर्माणपश्चात् सुरुङ तथा हेडवर्क्स लगायतका मुख्य काम थाल्ने योजना

दातृ निकायको अध्ययन प्रतिवेदनअनुसार त्यसमा ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। तर त्यो बाढी पूर्वको अध्ययन भएकाले त्यो बजेट बढ्न सक्ने जानकारहरू बताउँछन्।

याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी ल्याउन सकिने बताइन्छ।

त्यो पानी आएमा थप ९६ हजार घरधुरीसम्म पुर्‍याउन पाइपलाइन बिछ्याउने योजना पनि अघि बढेको छ। आयोजना कार्यान्वयन निर्देशनालय प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार त्यसको निम्ति एशियाली विकास ब्याङ्कसँग सम्झौता हुन लागेको छ।

आयोजनास्थल

तस्बिर स्रोत, melamchiwater.gov.np

भक्तपुर, मध्यपुर ठिमीका साथै काठमाण्डूको कीर्तिपुर, पेप्सीकोला र गोकर्णमा पाइप लाइन बिस्तारको निम्ति त्यो सम्झौता हुन लागेको हो। त्यसको निम्ति १२-१३ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक आकलन गरिएको छ।

त्यो काम सुरु भएको तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको प्रवक्ता श्रेष्ठ बताउँछन्।

एकातर्फ मेलम्चीको पानी ल्याएको जस लिने राजनीतिक नेतृत्वबीच होडबाजी देखिएको छ। अर्कोतर्फ पानी नआउँदै मेलम्चीमा पुगेको क्षति र त्यससँगै बढेको लगानीले त्यो असफल आयोजना बन्ने आशङ्काले कतिपयले गर्न थालेको पाइन्छ।

अर्बौँ लगानी गरेर बनाइएका भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा आलोचना भइरहेका बेला मेलम्चीको पनि त्यही हालत हुने आशङ्का गर्नेहरू पनि छन्। कतिपय सञ्चार माध्यमहरूमा दातृ निकायका साथै आयोजनाका कैयौँ अधिकारीको नियतमाथि समेत औँला उठाएको पाइन्छ।

त्यसैले मेलम्ची आयोजनाको लगानी र सह योजना बिस्तार चुनौतीमुक्त नहुने जानकारहरूको ठम्याइ पाइन्छ। पछिल्ला दिनहरूमा संसदीय समितिले सक्रियता देखाउँदै सतर्कताको निम्ति दिने गरेका निर्देशनले पनि त्यसलाई बल दिएको ठानिएको छ।

मेलम्ची: लामो इतिहास सङ्क्षेपमा

विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन

विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान

विसं २०४९: याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर

विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर काम जारी

विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गर्दै ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। आयोजनालाई दुई भागमा विभाजन - मुख्य पानी पथान्तरणको काम विकास समिति र वितरण तथा व्यवस्थापन कार्य आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय

विसं २०७७ फागुन २२: सुन्दरीजलमा पानी झारियो

विसं २०७७ चैत १५: पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा

विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन

विसं २०७८ असार पहिलो साता: बाढीबाट ठूलो क्षति

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।