काठमाण्डूमा करिब पाँच महिना आउने मेलम्चीको पानी वितरणको 'शुभारम्भ'

तस्बिर स्रोत, PM Media
‘उद्घाटन गर्दा गर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन’ कवि अर्जुन पराजुलीले सोमवार आफ्नो फेसबुकमा यस्तो कविता राखे।
प्रसङ्ग अनुसारका छोटा-छोटा व्यङ्ग्यात्मक कविता लेखेर सामाजिक सञ्जालमा चर्चा पाउँदै आएका पराजुलीले लेखेजस्तै प्रधानमन्त्रीले सोमवार उद्घाटन गरेको मेलम्चीको पानी वितरण अर्को वर्ष पनि यसरी नै गर्नुपर्ने अवस्था आउन सक्ने अधिकारीहरू बताउँछन्।
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पनि प्रधानमन्त्रीले यसअघि चार पटक उद्घाटन भइसकेको मेलम्चीको पाचौँ पटक उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका छन्।
"हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर," बालेनले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्रीले यो पटक गरेको ‘शुभारम्भ’ सँगै मेलम्चीबाट ल्याइएको पानी वितरण उद्घाटन कति पटक भए भन्नेबारेमा सामाजिक सञ्जालमा चर्चा, आलोचना र व्यङ्ग्यात्मक टीप्पणी, सबै भइरहेको छ। कतिपयले यो आठौँ पटक भएको दाबी गरेका छन्।
विसं २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भृकुटीमण्डपमा ढुङ्गेधारा बनाएर तामझामसाथ उद्घाटन गरेको मेलम्ची खानेपानी आयोजनाको पानी त्यसको तीन महिना पछि आएको बाढीले मुहान पुरिदिएपछि बन्द भयो।

तस्बिर स्रोत, MWSDB
त्यसको केही महिनापछि २०७८ आषाढ १ गतेको बाढीबाट मेलम्चीको मुहान क्षतिग्रस्त भयो।
तर बाढीले जम्मा गरेको गेग्रान हटाएर र मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैसाखमा पुन मेलम्चीको पानी काठमाण्डू ल्याइएको थियो। यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थायी संरचना क्षतिग्रस्त बनाएपछि अस्थायी व्यवस्था गरेर पानी ल्याउन माघसम्म पर्खनुपर्यो।
गतवर्ष जस्तै अस्थायी संरचना बनाएर ल्याइएको पानी बर्खा लागेपछि पुन: बन्द गरिने खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बताइन्।

नेपालमा हरेक वर्ष जून महिनाबाट मनसुन भित्रिने गरेको छ। अघिल्लो पटक आयोजनाले मे अन्तिमबाट सुरुङमा पठाइने पानी क्रमिक रूपमा बन्द गर्दै लगेको थियो।
प्रधानमन्त्रीले सिंहदरवारमा बनाइएको एउटा धाराबाट मेलम्चीको पानी पिएर खानेपानी वितरणको शुभारम्भ गरेका थिए।
“…बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँदै यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्वबोध भएको छ,” पानी वितरण दीर्घकालीन नभएको स्वीकार गर्दै प्रधानमन्त्रीले आफ्नो भाषणमा भनेका छन्।
उनले आयोजनालाई दिगो रूपमा सञ्चालन गर्ने विषय सरकारले प्राथमिकतामा राखेको बताए।
दीर्घकालीन योजनाका लागि के हुँदैछ?

तस्बिर स्रोत, ASHOK DAHAL/BBC
एशियाली विकास ब्याङ्कले गरेको एक अध्ययनले मेलम्चीको पानी बाह्रै महिना काठमाण्डू ल्याउन अहिलेको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने औँल्याएको छ। सुरुङको मुहानमा बाढीले पुर्याएको क्षति र गेग्रान आएर मुहान थुनिने जोखिमका कारण यो विकल्पबारे आफूहरूले छलफल अघि बढाएको खानेपानी मन्त्रालयकी प्रवक्ता श्रेष्ठ बताउँछिन्।
“विज्ञ समूह र इन्जिनियरिङ विभागका विज्ञहरूबाट एशियाली विकास ब्याङ्क र क्यानडेली कन्सल्ट्यान्टले दिएको प्रतिवेदनबारे अध्ययन गर्न दिने तयारी भइरहेको छ,” उनले भनिन्।
आयोजनाका अनुसार नयाँ मुहान बनाएर स्थायी रूपमा मेलम्चीको पानी काठमाण्डू ल्याउने संरचना तयार गर्न अझै करिब चार वर्ष लाग्नसक्छ। नयाँ मुहान र त्यहाँसम्म पुग्ने सुरुङ बनाउनका लागि पनि करिब चार अर्ब रुपैयाँ लाग्ने अधिकारीहरूले आकलन गरेका छन्।
आयोजनाका लागि हालसम्म करिब ६० अर्ब खर्च भइसकेको अधिकारीहरू बताउँछन्।
मेलम्चीबाट पानी ल्याउन सुरुङ, त्यसका लागि आवश्यक सडक र अन्य पूर्वाधार निर्माणका लागि ३० अर्ब ६५ करोड र काठमाण्डू उपत्यकाभित्र वितरण सञ्जाल र पानी पोखरी निर्माणका लागि थप ३० अर्ब खर्च भएको छ।
मेलम्ची खानेपानी आयोजनाका पूर्व कार्यकारी निर्देशक ध्रुवकुमार श्रेष्ठ मेलम्चीको मुहानभन्दा करिब १० किलोमिटर माथिसम्म गेग्रान जम्मा भएका कारण केही वर्षसम्म अस्थायी संरचनाबाटै पानी ल्याउनु राम्रो हुने बताउँछन्।
“तुरुन्तै नयाँ मुहान बनाएर स्थायी अवस्था हुनलाई केही वर्ष लाग्छ। केही वर्ष गेग्रान स्थिर हुनका लागि पनि पर्खनुपर्यो। त्यसकारण अझै केही वर्ष यसरी नै ल्याउनुपर्ला,” उनले बीबीसी न्यूज नेपालीसँग भने।
हालै बनाइएको अस्थायी संरचनालाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन आफूले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको प्रधानमन्त्रीले बताएका छन्।
मन्त्रालयकी प्रवक्ता श्रेष्ठका अनुसार वर्षा याममा मेलम्चीको पानी बन्द भए पनि सुन्दरीजलमा मेलम्चीको पानी प्रशोधनका लागि बनेको संरचनाबाट वर्षा याममा वाग्मती नदीको पानी प्रशोधन गरेर उपत्यकामा वितरण गर्न सकिन्छ।
प्रधानमन्त्रीले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गरिने र काठमाण्डू उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने बताएका छन्।
सरकारले मेलम्ची आयोजनाको दोस्रो चरणमा याङग्री र लार्के नदीको पानी पनि मिसाएर काठमाण्डू उपत्यकामा थप पानी आपूर्ति गर्ने लक्ष्य राखेको छ।
हरेक वर्ष उद्घाटन गर्नुपर्ने अवस्था हो?

तस्बिर स्रोत, MELAMCHIWATER.GOV
हिउँदभरिका लागि मात्रै ल्याइएको पानी वितरणको उद्घाटनका लागि प्रधानमन्त्रीसहित दुई जना मन्त्री र सचिवहरूले सिंहदरबारमा गरेको विषयमा सामाजिक सञ्जालमा कवि अर्जुन पराजुली जस्तै कैयौँले यसबारे व्यङ्ग्य गरेका छन्।
काठमाण्डू उपत्यका खानेपानी लिमिटेडमा समेत रहेर काम गरिसकेका श्रेष्ठ मेलम्चीको पानी अझै केही वर्ष बर्खामा बन्द हुने र हिउँदमा सुरुङमा पठाइने अवस्था छ।
बर्खामा सुरुङ बन्द नगरे नदीमा बगेर आएका गेग्रानले अर्बौँ लागतमा बनेको २७ किलोमिटर सुरुङमै क्षति पुर्याउन सक्ने वा केही अंश बन्द गरिदिनसक्ने जोखिम हुने जानकारहरू बताउँछन्।
२७ किलोमिटरलामो सुरुङ
१७ करोड लिटर पहिलो चरणमा दैनिक पानी आपूर्ति
थप ३४ करोड लिटरयाङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर थप्ने योजना
रु २५ अर्ब थप लगानी आवश्यक
यसरी हरेक वर्ष केही महिना बन्द गरेर हिउँदमा काठमाण्डूमा वितरण गरिने पानीको उद्घाटन राजनीतिक विषय बनेको श्रेष्ठले बताए।
“अझै केही वर्ष यसरी नै चल्नुपर्ने हुँदा हरेक वर्ष यसरी नै उद्घाटन गर्नुपर्ने अवस्था देखिन्छ। तर यो राजनीतिक विषय भएकाले म केही नभनौँ,” उनले भने।
खानेपानी मन्त्रालयकी प्रवक्ता श्रेष्ठ हरेक पानी वितरणको शुभारम्भ फेरी गर्ने वा नगर्ने विषय राजनीतिक निर्णयमा भर पर्ने बताउँछिन्।
“तर यो उद्घाटनभन्दा पनि जानकारी दिएको हो। अब चाहिँ मेलम्चीको पानी वितरण सुरु भयो है भनेर सर्वसाधारणलाई एउटा सन्देश दिएको हो,” उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








