डोनल्ड ट्रम्पको 'ज्यानमाथि इरानबाट ठूलो खतरा', अमेरिकी गुप्तचर निकायले के भन्यो

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ट्रम्पले आफ्नो ज्यानमाथि इरानबाट खतरा रहेको दाबी गरेका छन्

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति तथा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पले इरानबाट आफ्नो ज्यानमाथि ठूलो खतरा रहेको दाबी गरेका छन्।

रिपब्लिकन पार्टीको निर्वाचन अभियानले अमेरिकी गुप्तचर निकायले ट्रम्पमाथि इरानले घातक आक्रमण गर्न सक्ने जोखिम भएको जानकारी दिएको जनाएको छ।

सामाजिक सञ्जाल 'एक्स'मा ट्रम्पले लेखेका छन्, "इरानले चाल चलिसकेको थियो तर त्यो सफल भएन। तर उनीहरूले फेरि प्रयास गर्ने छन्।"

इरानले "संयुक्त राज्य अमेरिकामा अस्थिरता सिर्जना गर्ने" उद्देश्यले उनको हत्या गर्न खोजेको भन्दै गुप्तचर निकायले त्यस विषयमा ट्रम्पलाई जानकारी दिएको रिपब्लिकन पार्टीले एउटा विज्ञप्तिमा भनेको छ।

तर उक्त विज्ञप्तिले आफ्नो दाबीबारे विस्तारमा केही भनेको छैन। उनीमाथि भएको भनिएको जोखिम नयाँ हो कि पुरानै हो भन्ने पनि स्पष्ट छैन।

रिपब्लिकन पार्टीको दाबीबारे बीबीसीले इरानसँग प्रतिक्रिया मागेको छ तर जबाफ प्राप्त भएको छैन।

यद्यपि यसअघि अमेरिकाको आन्तरिक मामिलामा इरानले हस्तक्षेप गर्न खोजेको भन्ने अमेरिकी आरोपको तेहरानले खण्डन गरेको थियो।

आफ्नो मृत्यु होस् भन्ने कामनासहित आक्रमण गर्न खोजिएको दाबी गर्दै 'सीक्रेट सर्भिस'लाई बजेट बढाएकोमा ट्रम्पले संसद्प्रति कृतज्ञता व्यक्त गरेका छन्।

हत्याको प्रयास

रायन राउथ

तस्बिर स्रोत, Getty Images

अभियोजनकर्ताहरूले फ्लोरिडामा पक्राउ परेका एक सन्दिग्ध व्यक्तिलाई पूर्वराष्ट्रपति तथा आसन्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको अभियोग लगाएका छन्।

ट्रम्पको स्वामित्वमा रहेको एउटा गल्फ मैदाननजिकै शङ्कास्पद गतिविधि गरेको थाहा पाएपछि सुरक्षाकर्मीहरूले गतसेप्टेम्बर १५ मा रायन वेस्ली राउथलाई नियन्त्रणमा लिएका थिए।

राउथले केही महिनाअघि ट्रम्पको हत्या गर्न चाहेको कुरा एउटा पत्रमा लेखेको प्रसङ्गसहितको दस्ताबेज अदालतमा पेस गरिएको भोलिपल्ट उनीविरुद्ध नयाँ अभियोग लगाइएको हो।

यसअघि उनलाई बन्दुकसँग सम्बन्धित दुइटा अभियोग लगाइएको थियो। उक्त कसुरमा ५८ वर्षीय राउथलाई २० वर्षसम्म कारागार हुन सक्छ।

तर अहिले लगाइएको अभियोग अझ गम्भीर प्रकृतिको छ। दोषी ठहर भएमा उनलाई अधिकतम सजाय अर्थात् आजीवन कारावास हुन सक्छ।

“सार्वजनिक पद धारण गरेका अधिकारीहरूलाई लक्षित हिंसाले हाम्रो देशले प्रतिनिधित्व गर्ने सबै कुरालाई खतरामा पार्छ,” महान्यायाधिवक्ता मेरिक गार्लन्डले एउटा विज्ञप्तिमा भने।

उनले राउथलाई कारबाही गर्न बनाउन सबै उपाय अवलम्बन गरिने पनि जनाए।

ट्रम्पले सरकारले उक्त मुद्दा उचित तरिकाले अघि नबढाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा सोमवार एउटा पोस्टमा उनले फ्लोरिडा राज्यलाई उक्त मुद्दा हेर्ने अनुमति दिन माग गरेका छन्।

तर गार्लन्डले ट्रम्पको दाबीको खण्डन गरे।

उनले मङ्गलवार सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आफूले नेतृत्व गरेको निकायले फ्लोरिडा राज्यका अधिकारीहरूसँग "कानुनी मर्मसँग अनुकूल हुने गरी" सहकार्य र सहयोग लिने बताए।

यो मुद्दा कसले हेर्छ

अदालतको दस्ताबेजले जिल्ला न्यायाधीश आइलीन क्याननलाई उक्त मुद्दा हेर्ने जिम्मा दिइएको देखाउँछ।

साउथ फ्लोरिडाकी न्यायाधीश क्याननले गत वर्ष ट्रम्पसँग सम्बन्धित गोप्य सङ्घीय दस्ताबेजहरूको मुद्दा पनि हेरेकी थिइन्। उनले उक्त मुद्दा खारेज गरिदिएकी थिइन्। उनको निर्णयविरुद्ध पुनरावेदन गरिएको छ।

अर्का एक न्यायाधीशले सोमवार राउथलाई हिरासतमा राख्नुपर्ने आदेश दिएका छन्। अभियोजकहरूले उनी भाग्ने खतरा रहेको र समुदायका लागि खतरा रहेको तर्क गरेका थिए।

सेप्टेम्बर १५ मा पक्राउ परेयता ती सन्दिग्ध आक्रमणकारी साउथ फ्लोरिडास्थित एउटा बन्दीगृहमा थुनामा छन्।

ट्रम्पको पक्षमा प्रचार गर्न प्रयोग गरिएको एउटा गाडी र उनका समर्थकहरू

तस्बिर स्रोत, EPA

त्यही दिन गुप्तचर निकाय 'सीक्रेट सर्भिस' का एक एजेन्टले वेस्ट पाम बीचस्थित ट्रम्प इन्टरन्याश्नल गल्फ क्लबको तारबारबाट उनको राइफल भित्रपट्टि ताकिएको देखेका थिए। त्यस बेला ट्रम्प गल्फ खेल्दै थिए। राइफल ताकिएको देखेपछि ती एजेन्टले गोली चलाएका थिए।

राउथले गोली पाएनन्। उनी आफ्नो हतियार र अरू सामान घटनास्थलमै छाडेर भागे।

सीक्रेट सर्भिसका अधिकारीहरूले ट्रम्पलाई सुरक्षित स्थानमा लगे।

तर एक व्यक्तिले उनलाई राजमार्गमा देखेको सूचना दिएपछि राउथ परे।

राउथले लेखेको पत्र

अदालतमा सोमवार पेस गरिएका नयाँ कागजपत्रले राउथले ट्रम्पमाथि आक्रमण गर्ने गर्ने योजना धेरै महिनाअघि नै बनाएको प्रमाण देखाएका छन्।

“विश्व”लाई सम्बोधन गर्दै लेखिएको र नाम उल्लेख नगरिएका एक व्यक्तिलाई महिनौँ अघि पठाइएको एउटा पत्रमा राउथले पूर्वराष्ट्रपतिको हत्याको योजना विफल हुन नदिने प्रयास गरेको सङ्केत देखिन्छ।

"मैले सक्दो प्रयास गरेँ र आफूले जुटाउन सक्ने सबै साधनस्रोत प्रयोग गरेँ," उक्त पत्रमा भनिएको छ। उनले त्यसमा "यो काम फत्ते गर्न सक्ने" व्यक्तिलाई नगद पुरस्कार दिने प्रस्ताव पनि गरेका छन्।

राउथमाथि अरू कस्ता अभियोग

ट्रम्पको हत्या गर्न खोजेको अभियोगबाहेक राउथविरुद्ध अरू अभियोग लगाइएको छ।

मङ्गलवार सार्वजनिक अभियोगपत्र आठ पृष्ठको छ। त्यसमा यस्ता अभियोग लगाइएको छ -

  • हिंसक अपराध गर्ने उद्देश्यले आफूसँग बन्दुक राखेको
  • अपराधी ठहर भइसकेको व्यक्ति भएर पनि आफूसँग बन्दुक राखेको
  • सिरिअल नम्बर मेटिएको बन्दुक आफूसँग राखेको
  • सङ्घीय अधिकारीमाथि आक्रमण गरेको

अभियोगपत्रका अनुसार राउथले सीक्रेट सर्भिसका एक गुप्तचरमाथि "बलपूर्वक आक्रमण, प्रतिकार, अवरोध, धम्की र हस्तक्षेप’ को अपराध गरेका थिए।

आगामी साता सोमवार (सेप्टेम्बर ३०) हुने सुनुवाइमा अदालतले राउथलाई उनी दोषी हुन् कि हैनन् भनेर सोध्ने छ।

छोरा पनि पक्राउ

रायन वेस्ली राउथका ओरन राउथ बाल पोर्नोग्राफिक सामग्री प्राप्त गरेको र आफूसँग राखेको आरोपमा मङ्गलवार पक्राउ परेका छन्।

ट्रम्पमाथि आक्रमण भएपछि सङ्घीय अधिकारीहरूले अनुसन्धानको सिलसिलामा ओरन राउथको नोर्थ क्यारोलाइनास्थित निवासमा गत सप्ताहान्त खोजतलास गरेका थिए। उनीहरूले त्यहाँ सयौँ अश्लील फाइल फेला पारे।

राउथले आक्रमण गर्न खोज्नुअघि गत जुलाईमा पेन्सिल्भेनिआमा निर्वाचन प्रसारप्रसारमा सहभागी हुन गएका बेला एउटा भेलामा ट्रम्पलाई ताकेर एक व्यक्तिले गोली हानेका थिए।

टामस म्याथ्यू क्रुक्स नामक आक्रमणकारीले प्रहार गरेको एउटा गोली ट्रम्पको एउटा कानमा लागेको थियो। तर उनलाई केही भए।

सुरक्षाकर्मीहरूले गोली प्रहार गर्दा २० वर्षे ती सन्दिग्ध आक्रमणकारी घटनास्थलमै मारिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।