युक्रेनमा रुसद्वारा भीषण हवाई हमला, निसानामा विद्युत् केन्द्रहरू

रुसले युक्रेनका विभिन्न क्षेत्रमा एकैपटक आक्रमण गरेको थियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसले दोस्रो दिनदेखि युक्रेनका विभिन्न स्थानमा हवाई आक्रमण गरिरहेको छ

रुसले युक्रेनमा दोस्रो दिन पनि शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका प्रमुखका अनुसार अहिलेको हमला रुसी सेनाले अहिलेसम्म युक्रेनमा गरेको सबैभन्दा भीषणमध्ये एक हो।

रुसले युक्रेनका आधाभन्दा बढी क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। रुसी आक्रमणबाट ऊर्जा उत्पादन गर्ने पूर्वाधारहरूमा क्षति पुगेको छ।

आक्रमणमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

युक्रेनी वायुसेनाका प्रमुख मिकोला ओलेश्चुकले मस्कोले प्रहार गरेका १२७ मध्ये १०० वटा क्षेप्यास्त्र र उत्तिकै परिमाणमा ड्रोनहरूलाई खसालिएको दाबी गरेका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त हमलाले त्यस्ता ड्रोन र क्षेप्यास्त्र झार्नका लागि किएभ र उसका साझेदारहरूले हवाई प्रतिरक्षाबारे एउटा साझेदारी गर्नुपर्ने देखिएको बताएका छन्।

रुस र युक्रेन

निसानामा ऊर्जा पूर्वाधार

युक्रेनमाथि शृङ्खलाबद्ध क्षेप्यास्त्र र ड्रोन हमला आइतवार राति सुरु भएको थियो। त्यसले सोमवार बिहान पनि निरन्तरता पायो।

रुसले ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाएको देखिन्छ। आक्रमणका कारण युक्रेनमा अन्धकार छाएको थियो।

युक्रेन सरकारले पूरै देशमा हवाई आक्रमणको जोखिमबारे चेतावनी दिँदै मानिसहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेको थियो।

रुसले आफूले युक्रेनको ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरेको भन्दै तोकिएका सबै निसानामा हमला गरेको उल्लेख गरेको छ।

पूर्वी युक्रेनको क्रिभी री सहरमा अवस्थित एउटा गैरसैनिक भवन रुसी क्षेप्यास्त्र हमलामा निसानामा परेको थियो।

त्यहाँ एक महिलाको मृत्यु भएको र अन्य पाँच जना सम्पर्कविहीन भएको स्थानीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर भिल्कुलले टेलिग्राममा बताएका छन्।

किएभको मेट्रो स्टेशनमा आश्रय लिइरहेका मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, किएभको मेट्रो स्टेशनमा आश्रय लिइरहेका मानिसहरू

युक्रेनको प्रतिकार

युक्रेनी वायुसेनाका प्रमुख मिकोला ओलेश्चुकका अनुसार रुसले १२७ वटा क्षेप्यास्त्र र १०९ वटा ड्रोन हमला आइतवार राति र सोमवार बिहानको समयमा प्रहार गरेको थियो। युक्रेनले १०२ वटा क्षेप्यास्त्र र ९९ वटा ड्रोन खसालिदिएको उनले टेलिग्राममा बताए।

ओलेश्चुकका अनुसार संयुक्त रूपमा गरिएको उक्त आक्रमण "अहिलेसम्मकै ठूलो हवाई हमला" हो।

नेटोको सदस्यराष्ट्र पोलन्डले उक्त हमलाको समयमा एउटा ‘वस्तु’ आफ्नो भूभागमा प्रवेश गरेको जनाएको छ।

“सम्भवतः त्यो ड्रोन थियो। हामीले त्यस्तो अनुमान गरेका छौँ किनभने त्यसको उडानको मार्ग र गति हेर्दा त्यो क्षेप्यास्त्र होइन,” सैनिक प्रवक्ता यात्सेक गोर्जोस्कीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।

नेटोका प्रवक्ताले युक्रेनमाथिको आक्रमणको निन्दा गर्दै नेटोको हवाई क्षेत्रको रुसले उल्लङ्घन गर्नु "गैरजिम्मेवारपूर्ण र खतरा हुने खालको" रहेको बताएको उक्त समाचारसंस्थाले उल्लेख गरेको छ।

रुसी हमलाका कारण क्षतिग्रस्त एउटा भवन

तस्बिर स्रोत, EPA

रुसको उद्देश्य

यसअघि गत डिसेम्बरमा युक्रेनमाथि १५८ क्षेप्यास्त्र र ड्रोनहरू प्रयोग गरी भएको रुसी आक्रमणलाई सबैभन्दा ठूलो हवाई हमला मान्ने गरिएको थियो।

आक्रमणको मुख्य निसाना ऊर्जा पूर्वाधार भए पनि यसलाई युक्रेनको आत्मबलमाथि प्रहार गर्ने मस्कोको रणनीतिका रूपमा पनि हेरिएको छ।

हालैका दिनमा युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा छिर्न सफल भएपछि युक्रेनीहरू हौसिएका थिए।

सोमवारको हमलाबाट रुसले युक्रेनका सर्वसाधारण र पश्चिमा नेताहरूलाई अझै पनि लडाइँमा क्रेम्लिनकै हात माथि रहेको सन्देश दिन चाहेको देखिन्छ।

रुसले युक्रेनभित्र आफूले चाहेको ठाउँमा प्रहार गर्न सक्ने भन्दै रुसलाई कम नआँक्न चेतावनी दिन खोजेको देखिन्छ।

विद्युत् आपूर्तिमा समस्या

हमलामा रुसले युक्रेनका १५ वटाजति क्षेत्रलाई निसाना बनाएको र उसले ड्रोन, क्रूज क्षेप्यास्त्र तथा सुपरसोनिक क्षेप्यास्त्रहरू प्रयोग गरेको युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलले यसअघि बताएका थिए।

हमलाले भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। किएभ र अन्य सहरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ भने पानीको आपूर्तिमा पनि अवरोध उत्पन्न भएको छ।

किएभको उत्तरमा अवस्थित एउटा जलविद्युत् केन्द्रलाई पनि प्रमुख निसाना परेको थियो। त्यहाँ पुगेको क्षतिको आकलन हुँदै छ।

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि सन् २०२२ को फेब्रुरीमा युद्ध सुरु भएयता नै निसाना बनाइरहेको छ।

हालैका महिनामा विद्युत् ग्रिडमा भएका निरन्तरका हमलाका कारण युक्रेनमा बारम्बार बिजुली आपूर्ति बन्द हुने अवस्था आएको छ।

गत जुन महिनामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको विद्युत् उत्पादन क्षमतामध्ये आधामा क्षति पुर्‍याइदिएको बताएका थिए।

मानिसहरू सुरक्षित आश्रयस्थल खोज्न बाध्य भएका छन् भने बिजुली आपूर्ति थप असहज भएको छ 

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मानिसहरू सुरक्षित आश्रयस्थल खोज्न बाध्य भएका छन् भने बिजुली आपूर्ति थप असहज भएको छ

युक्रेनले युरोपेली सङ्घबाट बिजुली किन्ने गरेको छ। तर त्यो पर्याप्त छैन। त्यही भएर अस्पताल र सैनिक शिविरजस्ता संवेदनशील क्षेत्रलाई ध्यान दिँदै त्यहाँ योजनाबद्ध तरिकाले विद्युत् आपूर्ति कटौती गर्ने गरिएको छ।

रुसको रक्षा मन्त्रालयले आफूले विद्युत् र ग्यास केन्द्रहरू साथै पश्चिमा अस्त्रहरू भण्डारण गरिएका ठाउँमा हमला गरेको जनाएको छ।

“निर्धारित सबै निसानाहरूमा आक्रमण गरिएको छ। त्यसबाट विद्युत् आपूर्ति बन्द भएको छ र अग्रमोर्चामा हतियार र गोलीगट्ठा पैठारी गर्ने रेल यातायातमा पनि अवरोध पुगेको छ।”

सोमवार राष्ट्रपति जिलेन्स्कीले ब्रिटेन, संयुक्त राज्य अमेरिका र फ्रान्ससहितका पश्चिमा साझेदारहरूलाई उनीहरूका नीति परिवर्तन गर्न अनि रुसको भित्री क्षेत्रसम्म हमला गर्न ती देशका अस्त्र प्रयोग गर्न युक्रेनलाई अनुमति दिन अनुरोध गरेका छन्।

युक्रेनले कतिपय पश्चिमा अस्त्र प्रयोग गरेर रुसभित्रका निसानामा हमला गर्न पाइरहेको छ तर लामो दूरीका हतियारहरू भने प्रयोग गर्न अनुमति पाएको छैन।

उनले युरोपेली वायुसेनाले युक्रेनी वायुसेनासँग मिलेर काम गरे आफूहरूले धेरै ज्यान जोगाउन सक्ने पनि बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।