रुससँगको युद्धमा एफ-१६ लडाकु विमानले युक्रेनलाई कसरी सघाउन सक्छन्

तस्बिर स्रोत, Getty Images
- Author, जेरमी हावल
- Role, बीबीसी विश्व सेवा
युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ। रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने ठानिएको छ।
दुई वर्षदेखि युक्रेनी नेताहरूले पश्चिमा देशहरूसमक्ष संयुक्त राज्य अमेरिकामा निर्मित लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए।
यद्यपि त्यस्ता विमानहरू निकै कम सङ्ख्यामा उपलब्ध गराइएकाले तिनको प्रयोगबाट रुसविरुद्धको लडाइँमा युक्रेनलाई ठूलो फाइदा पुग्न नसक्ने चिन्ता व्यक्त हुने गरेको छ।
युक्रेनलाई एफ-१६ विमान पठाउन किन धेरै समय?
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा रुसले आक्रमण थाल्नासाथ पश्चिमा राष्ट्रहरूसँग एफ-१६ सूपरसोनिक लडाकु विमान मागेका थिए। उनी रुसी लडाकु विमानहरूलाई युक्रेनको आकाशमा छिर्न नदिन र आफ्नो सेनाको हवाई प्रभुत्व कायम राख्न चाहन्थे।
बेल्जियम, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वे गरी चार देशहरूले आफूले अमेरिकासँग किनेका केही एफ-१६ विमान दिने तत्परता देखाए।

तस्बिर स्रोत, Getty Images
तर युक्रेनलाई उन्नत र शक्तिशाली अस्त्र उपलब्ध गराउँदा रुस आक्रोशित हुने हो कि भन्ने आशङ्कामा अमेरिकी राष्ट्रपति जो बाइडन हच्किए। सन् २०२३ मा आएर मात्रै अमेरिकाले युरोपेली देशहरूलाई लडाकु विमान पुन: निर्यात गर्न अनुमति दियो।
ती चार देशले उन्नत एफ–३५ लडाकु ल्याउन थालेकाले आफूसँग भएका पुराना एफ-१६ लडाकु विमान युक्रेनलाई दिएका हुन्।
पहिलो चरणमा युक्रेनले सन् २०२४ को जुलाईको अन्त्यमा १० वटा विमान पाएको ठानिएको छ।
पश्चिमा देशहरूले युक्रेनलाई कुल ६५ वटा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। तीमध्ये केही यसै वर्षको अन्त्यमा र बाँकी सन् २०२५ को अन्त्यसम्ममा पठाइने ठानिएको छ।
युक्रेनलाई एफ-१६ उपलब्ध गराउने कार्यमा ढिलाइ भइरहेको विमान उपलब्ध नभएर भने होइन। लन्डनस्थित थिङ्क ट्याङ्क रोयल यूनाइटिड सर्भिस इन्स्टिट्यूटसँग आबद्ध जस्टिन ब्रोङ्कका अनुसार युक्रेनमा लडाकु विमान चलाउन तालिमप्राप्त विमानचालक नभएका कारण ढिलाइ भइरहेको हो।
"पाइलटलाई एम-१६ का निम्ति प्रशिक्षित गर्न चारदेखि पाँच महिनाको तालिम चाहिन्छ र लडाइँमा ती विमान उडाउने सबै तरिका सिक्न वर्षौँ आवश्यक पर्छ," उनले भने।
"युक्रेन पश्चिमा देशहरूले एकैचोटि १०० जनालाई त्यस्तो तालिम प्रदान गरिदिऊन् भन्ने चाहन्छ। तर उनीहरूसँग त्यसो गर्न सक्ने क्षमता नै छैन।"
युक्रेनले एफ-१६ विमानको उपयोग कसरी गर्ला?
एफ-१६ लडाकु विमानलाई सन् १९७८ बाट प्रयोगमा ल्याइएको हो।
यसले क्षेप्यास्त्र प्रहार गर्न र शत्रुको लडाकु विमानलाई अवरोध गर्न सक्छ। यसले शत्रुपक्षलाई अवरोध पुर्याएर स्थलयुद्धमा सहभागी आफ्नो पक्षका सैनिकहरूलाई निकटबाट सघाउन पनि सक्छ।
"युक्रेनले मूलत: आत्मरक्षाका निम्ति यसको प्रयोग गर्ने छ," स्कटल्यान्ड स्थित सेन्ट एन्ड्रूज यूनिभर्सिटीमा रणनीतिक अध्ययनका प्राध्यापक फिलिप्स ओ'ब्रायनले भने।

तस्बिर स्रोत, Getty Images
एफ-१६ विमानसँग आकाशबाट आकाशमै क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ। ओ'ब्रायनका अनुसार त्यसैले युक्रेनले आफ्ना सेना र नागरिकलाई रुसी हवाई हमलाबाट जोगाउन यसको प्रयोग गर्न सक्छ। स्थलबाट वायुमा आक्रमण गर्ने क्षेप्यास्त्रजस्तै तिनीहरूले युक्रेनको हालको हवाई रक्षा प्रणालीसँग मिलेर काम गर्ने छन्।
"अमेरिकाले एफ–१६ का निम्ति आपूर्ति गरिराखेका क्षेप्यास्त्र तुलनात्मक रूपमा अत्याधुनिक नै हुन्," प्राध्यापक ब्रोङ्क भन्छन्, "तर ती अमेरिकासँग भएका उन्नतमध्येका चाहिँ होइनन्। ती रुसी क्रूज क्षेप्यास्त्र र ड्रोनहरूलाई खसाल्न सक्ने किसिमको भने हुनुपर्छ।"
"यदि तिनीहरूले रुसी सेनाको आक्रमणबाट विद्युत् केन्द्र र ताप उत्पन्न गराउने अन्य संरचनाहरूलाई क्षति पुग्नबाट जोगाउन सके भने युक्रेनका जनताले एफ-१६ लडाकु विमानको स्वागत गर्ने छन्," प्राध्यापक ओ'ब्रायन भन्छन्।
एफ–१६ विमानहरूसँग आकाशबाट जमिनमा क्षेप्यास्त्र हान्ने क्षमता पनि छ। प्राध्यापक ब्रोङ्क रुसी सेनाका कमान्ड सेन्टर र आपूर्ति केन्द्रहरूलाई लामो दूरीबाट निसाना बनाउन समेत यसको प्रयोग हुन सक्ने ठान्छन्।
"रणभूमिमा खटेएका युक्रेनी सेनालाई सघाउनका निम्ति भने सम्भवत: यसको प्रयोग हुने छैन। रुसी हवाई रक्षा प्रणाली अत्यन्तै बलियो भएकाले एफ-१६ विमानलाई अग्रमोर्चासम्म पुग्न कठिन छ।"
प्राध्यापक ओ'ब्रायनको विचारमा एफ-१६ विमानलाई 'ग्लाइड बम' (जमिनबाट उडान नियन्त्रण हुने) खसाल्न पनि कठिन छ र रुसले युक्रेनी सेना तथा सहरहरूलाई निसाना बनाउन ग्लाइड बमको प्रयोग बढाइराखेको छ।

तस्बिर स्रोत, Getty Images
के पश्चिमा देशहरूले युक्रेनलाई पर्याप्त एफ–१६ दिन्छन्?
अमेरिकी थिङ्क ट्याङ्क 'द सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टर्न्याश्नल स्टजीज' (सीएसआईएस)बाट प्रकाशित एउटा प्रतिवेदनमा रुससँगको लडाइँमा महत्त्वपूर्ण भिन्नता ल्याउनका निम्ति युक्रेनलाई ६५ वटाभन्दा धेरै एफ-१६ लडाकु विमान आवश्यक पर्ने उल्लेख छ।
उक्त प्रतिवेदनका अनुसार रुसी हवाई हमलाबाट जोगिनका निम्ति मात्र नभई युक्रेनस्थित रुसी हवाई रक्षा प्रणालीमा आक्रमण गर्न र रणभूमिबाट हेलिकप्टरजस्ता रुसी सेनाले प्रयोग गरेका विमान हटाउन समेत एफ–१६ को प्रयोग हुनुपर्छ।
"स्थलमा जारी लडाइँका निम्ति वायुसेनाको सहयोग उपलब्ध गराउन युक्रेनलाई झन्डै १२ वटा लडाकु विमानयुक्त टुकडीको आवश्यकता छ। उक्त उद्देश्य हासिल गर्न एउटा समूहमा १८ वटा विमान रहने गरी २१६ वटा एफ-१६ चाहिन्छ," सीएसआईएसको प्रतिवेदनमा भनिएको छ।
प्राध्यापक ब्रोङ्कका अनुसार उन्नत लडाकु विमान ल्याएपछि मात्रै पश्चिमा देशहरूले युक्रेनलाई आफूसँग भएका एफ-१६ विमान उपलब्ध गराउने हुन्।
"यो थालनी मात्रै हो," उनले भने, "युक्रेनलाई एफ–१६ को समूह बनाउन धेरै समय लाग्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








