बीपी राजमार्गमा डेढ साता गाडी कुरेका चालक र सहचालक 'रित्तै घर फर्किँदै'

डम्फुडाँडामा रोकिएका सवारीसाधन

तस्बिर स्रोत, Shekhar Kafle

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पोहोरपरार दशैँको मुखमा काठमाण्डू-धरान चल्ने माइक्रोबसहरूलाई यात्रु ओसार्न भ्याइनभ्याइ हुन्थ्यो। तर डेढ साताअघि भएको अविरल वर्षाका कारण बाढीपहिरोले बीपी राजमार्गमा सडक बगाएपछि सयौँ सवारीसाधन काभ्रेको मङ्गलटारनजिकै बाटोमा अलपत्र परे।

तीमध्ये एउटा माइक्रोबसका शेखर काफ्लेका अनुसार उक्त स्थान ११ दिनदेखि दुवैतिर सडक सम्पर्कबाट विच्छेद भएको अवस्थामा छ। माइक्रोबस बाहिर निकाल्न नसकिएपछि आफूहरू निराश मुद्रामा घर फर्किन लागेको उनले सोमवार बीबीसी न्यूज नेपालीलाई बताए।

“प्रहरी प्रशासनले पनि हाम्रा गाडीहरूलाई निकाल्न सक्दैनौँ भन्यो। त्यही भएर डम्फुडाँडामा हामीले लाइन लगाएर गाडीलाई थन्काएर छाडिदियौँ,” उनले भने।

उनका अनुसार उक्त स्थानमा १५०-१७५ वटा माइक्रोबस छन्। बाटो खुलिहाल्छ कि भन्ने आशमा चालक र सहचालक डेढ सातादेखि कष्ट बेहोरेर त्यहीँ बसेको काफ्लेले बताए।

“तीन दिनसम्म हामीलाई सेनाको हेलिकप्टरले पानी, चिउरा र चाउचाउ दिएको थियो। त्यसपछि स्थानीय तहहरूले पनि हामीलाई खासै सहयोग गरेनन्। त्यही भएर हामी गाडीलाई छोपछाप गरेर घर हिँडेका हौँ। अब दशैँको टीका लगाएर फेरि गाडी रुङ्न आउनुपर्ला।”

बीपी राजमार्गमा सडक काटिएपछि अलपत्र परेका सवारीसाधनहरू

तस्बिर स्रोत, Shekhar Kafle

तस्बिरको क्याप्शन, बीपी राजमार्ग पुनर्निर्माणका लागि समय लाग्ने अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले तत्कालै ती सवारीसाधन चलाएर लैजाने बन्दोबस्त मिलाउन सम्भव नभएको जानकारी दिएपछि त्रिपालले गाडीलाई छोपेर मङ्गलटारनजिकै डम्फुडाँडामा छाडिदिएको उनले बताए।

“सिन्धुलीले पहल गरिदियो र केही निर्माणको काम भयो भने हाम्रो गाडी यतातिर नै फर्किन सक्ला तर काभ्रेतिर जान सक्छ भन्ने कुरामा हामीले माया मारिदिएका छौँ।”

बिहान ५ बजे डम्फुडाँडाबाट पैदल हिँडेका काफ्ले र उनका साथीहरू पहाड र खोलाहरू पार गर्दै नेपालथोकसम्म पुगेका थिए। त्यसपछि स्थानीय जनप्रतिनिधिको सवारीसाधनमा ‘लिफ्ट’ मागेर उनीहरू खाना खाने समयमा खुर्कोट पुगेका थिए।

“चामल हाम्रो गाडीमा नै थियो। योपालि खोलाको पानी समेत खानुपर्‍यो। जोसँग पैसा थियो उनीहरूले घरमा वा होटलमा खाना बनाउन लगाएर खाए। यात्रुहरूको चामल थियो, गुन्द्रुक थियो - हामी त्यस्तै खाएर बस्यौँ।”

गत सातासम्म काफ्ले र उनका साथीहरूलाई दशैँका लागि सीट राखिदिन अनुरोध गर्दै तारन्तार टेलिफोन पनि आउने गरेको थियो। बाटो एकतर्फी खुलेको खण्डमा गाडीलाई काठमाण्डूसम्म ल्याउने र दशैँमा एक पटक यात्रु बोकेर फर्किने उनको इच्छा पूरा हुन सकेन।

वैकल्पिक सडक

दशैँ र तिहारजस्ता ठूला चाडपर्व यातायात व्यवसायीका लागि राम्रो आम्दानी गर्ने समय हो। यसपालि अविरल र मुसलधारे वर्षाका कारण देशका प्रमुख सडक सञ्जालहरूमा क्षति पुगेपछि दशैँमा त्यसको प्रत्यक्ष असर देखिएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता उमेशबिन्दु श्रेष्ठका अनुसार भकुन्डेबेँसीदेखि नेपालथोकसम्म विभिन्न स्थानमा सडकहरू बगाएको हुँदा त्यहाँ पुनर्निमार्णका केही कामहरू नगरीकन फसेका सवारीसाधनलाई बाहिर निकाल्न कठिन छ।

‍बीपी राजमार्गअन्तर्गत काभ्रेको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको सडकमा गम्भीर क्षति पुगेको छ

तस्बिर स्रोत, Shekhar Kafle

तस्बिरको क्याप्शन, बीपी राजमार्गअन्तर्गत काभ्रेमा भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको सडकमा गम्भीर क्षति पुगेको छ

“त्यहाँ माथि भीर छ, मुनि पानी छ। अहिले केही नै गर्न सकिँदैन।त्यहीँ खोलाछेउमा डाइभर्शन बनाउने भनेको, त्यो गर्न सकिएको छैन। बीपी राजमार्गबाट सुनकोशीपारि रामेछाप जाने र फेरि अर्को पुल तरेर बीपी राजमार्ग नै फर्किने गरेर विकल्प तयार भएको छ।”

“भकुन्डेबेंसी र नेपालथोकको बीचमा फसेका कतिपय गाडीहरू डाइभर्शन बनाएर निस्किए। तर बीचबीचमा फसेका गाडीहरू तत्कालै निकाल्न गाह्रो नै छ। त्यसका लागि बाटो नै चाहिन्छ।”

बीपी राजमार्गबाहेक अन्य सडकहरू सञ्चालनमा रहेका र काठमाण्डूबाट बाहिर जाने यात्रुहरूले विभिन्न वैकल्पिक मार्ग प्रयोग गरिरहेको सडक विभागका प्रवक्ता श्रेष्ठले जनाए।

सुनकोशी नदीमा बेलिब्रिज जडान गर्दै नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, सुनकोशी नदीमा बेलिब्रिज जडानका लागि सेनाले काम गरिरहेको छ। यो पुलले बीपी राजमार्ग र पुष्पलाल राजमार्ग जोड्छ

“काठमाण्डू आउने मुख्य मार्ग खुलिसक्यो। मुग्लिङ-नौबिसेको विकल्पमा पनि धार्केबाट सीतापाइला छ। गल्छी, त्रिशूली हुँदै छहरे-टोखाबाट आउने पनि छ। फाखेल र दक्षिणकालीतिरबाट हेटौँडाबाट आउने छ। चित्लाङबाट आउने पनि छ। वैकल्पिक बाटाहरू पनि धेरै भइसके।”

श्रेष्ठले ललितपुर हुँदै हेटौँडा जाने कान्ति राजपथमा भने पुल मर्मतको काम भइरहेको भन्दै साँझसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको जनाए।

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सडक भासिएको विवरण आएको छ। तर सडक विभागका अधिकारीहरूले त्यहाँ सडक भासिने समस्या पुरानै भएको भन्दै डेढ-दुई घण्टाभित्र नै यातायात सञ्चालन गर्ने हिसाबले आफूहरूले स्रोतसाधन परिचालन गरेको बताए।

कतिले राजधानी छाडे

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकाको अरुणखोला क्षेत्रमा धुलाम्मे सडक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकाको अरुणखोला क्षेत्रमा धुलाम्मे सडक

साधरणतया दशैँको समयमा २५ लाख मानिसले राजधानी छाड्ने गरेको पाइन्छ।

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीका अनुसार असोज १४ देखि २० गतेसम्मको अवधिमा झन्डै ४.५ लाख राजधानी छाडेका छन्।

“पानी परिरहेकाले गाडीहरू पनि अलमलिएका थिए। थुप्रै सडकहरू अवरुद्ध भएकाले सवारीसाधनलाई राजधानी छिर्न र बाहिर जान पनि गाह्रो भयो। पहिरोको पनि त्रास भयो। जहाँ सवारीसाधनहरू चलिरहेको छ त्यहाँ बिस्तारै मानिसहरूको चाप बढिरहेको छ।"

विभिन्न ठाउँमा बाढी तथा पहिरोले सडक संरचनामा पुर्‍याएको क्षतिका कारण यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न पनि केही बढी समय लागिरहेको छ।

यसपालि प्राकृतिक विपद्का कारण सडकसुरक्षा र सवारी व्यवस्थापनमा चुनौती देखा परेको छ। हजारौँ मानिसहरू महँगो शुल्क तिरेर आन्तरिक उडानमार्फत् राजधानी छाडिरहेका छन्। यद्यपि शुल्क तिर्न तयार भएका सबै जनाले टिकट पाउने अवस्था छैन।

सडकमार्गबाटै जान खोज्नेहरू पनि चर्को शुल्क तिर्न बाध्य भएको गुनासो आउन थालेपछि यातायत व्यवस्था विभागका अधिकारीहरूले अनुगमन भइरहेको जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।