राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका 'धराप'

सडकमा झर्दै गरेको पहिरो

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

धादिङ र काठमाण्डूको सीमानजिककै झ्याप्लेखोलामा ३५ जनाको ज्यान जाने गरी पुरिएका तीनमध्ये एउटा बस बुटवलबाट काठमाण्डूका लागि छुटेको थियो।

काठमाण्डू प्रवेश गर्ने नाका नागढुङ्गा चेकपोस्टमा पुग्न १० मिनेट बाँकी रहँदा पहिरोका कारण सडकमै रोकिएको उक्त माइक्रोबसलाई माथिबाट झरेको पहिरोले सडकमै थिच्यो। यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँर त्यो माइक्रोबस सहितका गाडीहरू पहिरोमा पर्नुको एउटा कारण समयमै नसकिएका सडक विस्तार आयोजनाहरू पनि रहेको ठान्छन्।

“बुटवलबाट तीन घण्टामा पुगिने नारायणगढ पुग्न अहिले आठ घण्टा लाग्छ। समयमै गन्तव्य पुग्न पाएको भए ती गाडीहरू पहिरोमा पर्ने थिएनन् होला नि,” स्वाँर भन्छन्।

यातायात व्यवसायीहरूका अनुसार झ्याप्लेखोलाको पहिरोमा परेका तीनैवटा गाडीहरू रात्रिबस नभएर दिवाबसहरू थिए। तर समयमै काठमाण्डू पुग्न नसकेका कारण पहिरोले अवरुद्ध बाटैमा रोकिएका बसहरू अर्को पहिरोमा परे।

चितवन, गोरखा र बुटवलबाट काठमाण्डू आइरहेका ती बसहरू सामान्यतया साँझ नपर्दै राजधानी आइपुग्नुपर्ने थियो। तर नारायणगढ-बुटवल मात्रै नभएर नागढुङ्गा-सिस्नेखोला र मुग्लिन-नारायणगढ खण्डमा पनि सडक विस्तारको काम नसकिएका कारण यो राजमार्ग क्षेत्रमा लामो समयदेखि सवारीसाधनहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन्।

“सडक विस्तार आयोजनाले समयमै काम नसक्दा त्यसको भार यात्रु र यातायात व्यवसायीहरूले खेपिरहेका छन्,” स्वाँर भन्छन्।

सडक विभाग के भन्छ?

सडकमा गाडीहरू

तस्बिर स्रोत, RSS

सडक विभागका अनुसार अहिले राजधानी काठमाण्डूलाई जोड्ने धेरै प्रमुख राजमार्गहरूमा सडक विस्तार आयोजनाका कामहरू अधुरै छन्।

तर सडक विभागका महानिर्देशक रामहरि पोखरेल सडक विस्तार भइरहेका आयोजनाभन्दा निर्माण सम्पन्न भइसकेका आयोजनामा पहिरोको समस्या धेरै देखिएको बताउँछन्।

धादिङको झ्याप्लेखोलामा गएको पहिरो पनि सडक विस्तार आयोजनाका कारण भन्दा पनि सडकभन्दा माथि भइरहेको जग्गा प्लटिङका कारण भएको सडक विभागका अधिकारीको दाबी छ।

“सानासाना पहिरा खसेका हुन् तर त्यस्तो भयावह पहिरो सडक विस्तार आयोजनाका कारण खसेका छैनन्,” उनले भने।

सडक विस्तार आयोजनाका कारण सवारी साधन नियमित गतिमा गुड्न नसकेको कुरा चाहिँ पोखरेल स्वीकार गर्छन्।

“यो पहिरो र सडक विस्तार आयोजना जोडिँदैनन्। तर पिच सडकमा जस्तो बनिरहेका सडकमा गाडीहरूले गति लिन नसक्ने चाहिँ ठिकै हो,” उनले भने।

सडक विभागले समयावधि पूरा भएर पनि नसकिएका आयोजनाहरू समयमै सक्नका ताकेता भइरहेको जनाएको छ।

“हामीले ताकेता गरिरहेका छौँ तर दुईतीन थरी समस्या छन् : कहिले स्थानीय जनताको समस्या आउने, कहिले ठेकेदारको क्षमता नहुने, कतै निर्माण सामग्री अभाव हुने,” उनले भने।

कुनकुन सडक विस्तार हुँदै छन्

सडकमा पहिरो

तस्बिर स्रोत, RSS

यात्रुहरूले राजधानीबाट बाहिरिने तथा भित्रिने प्रमुख सडक स्तरोन्नतिको काम चलिरहेका कारण सडकमा जाम हुने तथा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याबारे विगत लामो समयदेखि गुनासो गर्दै आएका छन्।

नागढुङ्गा-सिस्नेखोला सुरूङमार्ग निर्माणको काम चलिरहँदा राजधानी प्रवेशअघि यात्रुहरूले लामो समयसम्म जाम खेप्नुपर्ने बाध्यता छ। त्यसअघि नागढुङ्गा-मुग्लिन सडक स्तरोन्नतिको काम नसकिएका कारण राजमार्गमा आवतजावत सहज छैन।

चितवनको मुग्लिङलाई पर्यटकीय सहर पोखरा जोड्ने सडक विस्तारको काम चलिरहेका कारण यो सडकको यात्रा जोखिमपूर्ण हुनुका साथै लामो समय लाग्ने गरेको बताइन्छ। चितवनकै नारायणगढबाट रूपन्देहीको बुटवल जोड्ने सडकको दुरावस्थाका कारण पश्चिमतर्फ जाने यात्रुहरूले सास्ती खेप्दै आएका छन्।

केही साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले देशभर ७०० किलोमिटरभन्दा धेरै सडक विस्तारका आयोजना अघि बढिरहेको बीबीसीसँग बताएका थिए।

यातायात व्यवसायीहरूले पनि दशैँको अग्रिम टिकट बुकिङ खुलाउनुअघि सरकारसँग सडकको अवस्थाबारे गुनासो गरेका थिए।

जोखिमको कारण के हो?

पहिरोले बगाएको सडक

तस्बिर स्रोत, RSS

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी निर्माणाधीन सडकहरूमा पहिरो र विपद्‌को जोखिम अझै धेरै हुने बताउँछन्।

“हामीले बनाउने राजमार्गहरू फराकिलो बनाउने नाममा काटेर राखियो तर त्यसलाई राम्रोसँग समाधान ‍गरिएन भने सामान्य रूपमा पानी गर्दा पनि बग्ने हुन्छ,” अधिकारी भन्छन्।

उनी पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यसअघि पहिरो जानुको एउटा कारण विस्तारको क्रममा रहेको सडकका भित्ताहरूमा रोकथामको काम नहुनु पनि रहेको ठान्छन्।

“काटेर छोडिएका र राम्रोसँग रोकथाम नगरिएका स्थानमा पहिरो जानु स्वाभाविक नै हो,” अधिकारी भन्छन्।

सडक सुरक्षा अनुसन्धानकर्ता पुष्पराज पन्त लागत अनुमानभन्दा कममा ठेक्का लिने प्रतिस्पर्धाका कारण पनि नेपालका सडकहरू कमसल बनिरहेको बताउँछन्।

“लागत अनुमानभन्दा निकै कममा ठेक्का पारेर बनिरहेका सडकहरू जोखिमका कारण बनेका छन्,” पन्त भन्छन्।

“सय वर्ष पुराना पुलहरू अझै चलिरहने तर नयाँ पुलहरू बगाउने वा भासिने अवस्था किन आयो भनेर हामीले हेर्नुपर्छ।”

भित्तामा लगानीको पैरवी

सडकमा अलपत्र यात्रु

तस्बिर स्रोत, RSS

त्रिभुवन विश्वविद्यालयमा भूगर्भशास्त्रका सहप्राध्यापक तथा पहिरोविज्ञ रञ्जनकुमार दाहाल काठमाण्डू सडकसँगै सडकको भित्तामा पनि उत्तिकै लगानी गर्न आवश्यक रहेको बताउँछन्।

"हामीले भुइँ मात्र राम्रो बनाउने हो, त्यसमा पनि खाल्डा हुन्छन्। हाम्रा राजमार्गका भित्ता राम्रो बनाएका छैनौँ। अब कि त्यसका लागि पूर्वाधार खडा गर्न सक्नुपर्छ, नभए बर्खाको बेला राजमार्गहरू बन्द गर्नुपर्छ,” दाहाल भन्छन्।

पहाडको भित्ता काटेर बनाइने सडक जहिल्यै पहिरोको जोखिममा हुने भूगर्भशास्त्री दाहालको भनाइ छ। त्यसका लागि भित्तामा पहिरो र माटो बग्नका लागि रोक्ने संरचनाहरू बनाउन उनको सुझाव छ।

अनुसन्धानकर्ता पन्त पनि सडक फराकिला बनाउँदा भित्तामा पहिरो जाने समस्या धेरै देखिएका कारण त्यसलाई रोक्ने किसिमका योजना र नीतिहरू बनाइनुपर्ने बताउँछन्।

“हाम्रोमा सडक बनाइसकेपछि त्यसको सतह मात्रै हेरिन्छ तर भित्तालाई सीधा ९० डिग्री हुने गरी काटेर सडक बनाइएका ठाउँमा पानी परेपछि भित्तो बग्न थाल्छ, त्यतातिर ध्यान दिइँदैन,” उनले भने।

सडक आसपास भइरहेका उत्खननका कारण पनि सडकहरू जोखिममा रहेको पन्त ठान्छन्। अनि जोखिम भएका ठाउँमा यात्रुहरूको सुरक्षालाई प्रशासन र अधिकारीहरूले पर्याप्त ध्यान नदिएको उनको दाबी छ।

दाहाल र पन्तजस्तै भूगर्भशास्त्री अधिकारी सडक निर्माण र विस्तारका क्रममा 'पटकपटक व्यवस्थापकीय चुक' देखिएको बताउँछन्।

“हामीले सडक विस्तारका नाममा त्यसलाई काटेर मात्र छाडियो। त्यसो हुँदा सामान्य पानी पर्दा समेत ढुङ्गामाटो चल्ने प्रक्रिया त हुन्छ नै। यसपालि त झन् ठूलो पानी परेकाले भित्तो काटेर छाडिएका ठाउँमा पहिरो जानु स्वाभाविक नै थियो,” अधिकारीको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।