'दशैँ यात्रा सुरु नहुँदै बिथोलियो,' काठमाण्डू आउजाउ गर्ने मुख्य बाटो कहिलेबाट सामान्य होला?

तस्बिर स्रोत, RSS
गत सप्ताहान्तमा आएको वर्षाका कारण कम्तीमा पाँच दिन राजधानी जोडिने प्रमुख सडकहरू अवरुद्ध भएपछि "दशैँ यात्राको योजना सुरु नहुँदै बिथोलिएको" यातायात व्यवसायीहरूले बताएका छन्।
असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो।
तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला पछिल्लो विपद्ले "अग्रिम बुकिङ अनुसारको यात्रा योजना अब हुन नसक्ने" बताउँछन्। उनी अग्रिम बुकिङ गर्ने काम रोकिसकिएको बताउँछन्।
"राजधानीसँग जोडिने मुख्य सडकका हकमा अझै पनि अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द छन्। पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ-नारायणगढ, चन्द्रागिरी-चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड भने यतिखेर पूर्ण रूपमा सञ्चालित छन्," उनी भन्छन्।
"तर अझै कतिखेर के हुने हो भन्ने टुङ्गो छैन। बुधवारदेखि हुने भनेको वर्षाको असर कस्तो हुने अझै प्रस्ट छैन।"
सडक विभागका अधिकारीहरूले धुलिखेल-बर्दिबास जोड्ने बीपी राजमार्ग र ललितपुरलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ दुवै काम नगर्दा नारायणगढ एवं दामन हुँदै जाने त्रिभुवन राजपथको बाटोमा दबाव बढेको बताउँछन्।
त्रिभुवन राजपथ सञ्चालनमा रहे पनि साँघुरो र घुम्ती धेरै भएका कारण व्यापक रूपमा ठूला सवारी चल्न सहज नहुने बताइन्छ।
कसरी हुँदैछ व्यवस्थापन?
मङ्गलवार यातायात व्यवस्था विभागले उत्पन्न परिस्थितिसँग जुझ्नेबारे यातायात व्यवसायीसहित विभिन्न निकायका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।
त्यस क्रममा रातमा हुने जोखिम कम गर्न र साँझका बेला सडकमा चाप बढेर जाम हुने परिस्थितिलाई कम गर्न दिउसोमै नारायणगढसम्म पुग्ने व्यवस्था गर्न यातायात व्यवसायीलाई भनिएको सडक विभागका प्रवक्ता इश्वरीदत्त पनेरु बताउँछन्।
"यो निर्णय नभईकन हामीले गरेको आग्रह हो। नारायणगढसम्म पुग्ने बाटोमा धेरैतिर नै ठूला-साना चलायमान बनेका पहिरो छन्," पनेरु भन्छन्।
"दिउसैमा यात्रा गर्न सके सम्भावित जोखिम कम हुने र पहिरो गइहाले पन्छाउने काम गर्न सहज हुने भएकाले त्यसो गरिएको हो।"

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
उनले त्यो मौसम केही स्थिर नहुँदासम्म चाडपर्व लक्षित रणनीति मात्र रहेको बताउँछन्।
सडक विभागले पहिरोले अवरोधहरू सिर्जना गर्दाको अवस्थामा तिनलाई पन्छाउन भनेर मुख्य सडकका विभिन्न ठाउँमा २६४ वटा एक्स्काभेटर, लोडरजस्ता भारी उपकरणहरू तयारी अवस्थामा राखिएको बताउँछन्।
अवरुद्ध बनेको बीपी राजमार्गमा मात्र अहिले करिब ७०० गाडीहरू अड्किएर बसेको अवस्था रहेको भन्दै तिनलाई सक्दो छिटो त्यहाँबाट सहज अवस्थामा ल्याउने काम समेत ठूलो चुनौतीका रूपमा रहेको यातायात व्यवसायीहरू बताउँछन्।
सडक विभागका सहायक प्रवक्ता अमितकुमार शर्मा बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई तिरबाट खोला छेउछाउबाट डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा भइहाल्ला भन्ने सुनिश्चितता नरहेको बताउँछन्।
"पृथ्वी राजमार्गमा यतिखेर मुख्य चुनौती भनेको अतिरिक्त चापबीच व्यवस्थापन गर्नुछ।"
कान्ति लोकपथमा वाग्मती पुल जोड्ने बाटो बगाएको छ जसमा उच्चतम प्रयास गरेर दशैँअघि प्रयोगमा ल्याउन प्रयास जारी रहेको अधिकारीहरूको भनाइ छ।
'सङ्कट योजना'

तस्बिर स्रोत, Bijay Gajamer/BBC
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यतिखेर सक्दो धेरै सवारी साधन राजधानी भित्र्याउँदै पहिले टिकट काटिसकिएका यात्रुलाई गन्तव्यमा लैजाने आफूहरूको योजना रहेको जनाएको छ।
"खुलेका बाटोमा बुधवारबाट सहज रूपमा गाडीहरू चल्न सक्ने भनिए पनि त्यो एक पटक चलाइसक्दा मात्र थाहा हुन्छ," महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौला भन्छन्।
"अबको एक-दुई दिन हुने भनिएको वर्षाले फेरि थप कस्तो प्रभाव पार्छ भन्ने कुराले समेत धेरै कुरा बताउँछ।"
सिटौलाले सुरुमा सोचे जसरी काठमाण्डूबाट मानिसहरूलाई घर पुर्याउने भन्ने योजना भने 'बिथोलिइसकेको' बताउँदै अब सङ्कट व्यवस्थापन गर्ने योजना अनुरूप काम गरिने बताउँछन्।
सरकारसँगको छलफलमा कम्तीमा आउँदा केही दिन सङ्कटग्रस्त क्षेत्रमा दिउसोमा मात्र गाडी चलाउने कुरा भए पनि त्यो धेरै समयका लागि नभएको सिटौला बताउँछन्।
"रातिमा गाडी नचलाए त यति धेरै यात्रुलाई गन्तव्यमा पुर्याउने काम हुनै सक्दैन," उनी भन्छन्।
गत वर्ष दशैँका बेला काठमाण्डू उपत्यका छाड्ने यात्रुहरू '१२-१३ लाख' हाराहारीमा रहेको बताइएको थियो।
तर पछिल्लो समय वर्षा सकिएपछि पनि अवरोधका बीच सडक खुला हुँदा नारायणगढ पुग्न मात्र एक दिनभन्दा बढ्ता लागेको यात्रुहरूले बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








