मोरक्को भूकम्प: मृतकको सङ्ख्या २ हजार नाघ्यो

भूकम्प

तस्बिर स्रोत, Reuters

मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २,००० नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारिहरूले बताएका छन्।

गम्भीर रुपमा घाइते भएकाहरूको सङ्ख्या १,४०० भन्दा धेरै रहेको आन्तरिक मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मानवीय क्षति माराकेशको दक्षिणमा रहेको प्रान्तमा भएको छ।

राजा महम्मद छैठौँले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् र आवास, खानेकुरा र अरू सहयोगहरू मानिसहरूलाई उपलब्ध गराउन आदेश दिएका छन्।

धेरै मानिसहरूले दोस्रो रात पनि आकाशमुनी बिताइरहेका छन्। शुक्रवार राति गएको ६.८ म्याग्निट्यूडको भूकम्पले माराकेश र धेरै शहरहरुमा असर गरेको थियो। दुर्गम पहाडी इलाकामा पुरै गाउँहरू नै ध्वस्त भएका विवरण आएका छन्।

सम्पदास्थलमा उल्लेख्य क्षति

मोरक्को

तस्बिर स्रोत, Reuters

संयुक्त राष्ट्रसङ्घले मोरक्को सरकारको उद्दार प्रयासमा सघाउने जनाएको छ। कैयौँ अन्य देशहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।

उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ।

माराकेसबाट दक्षिणका क्षेत्रमा धेरै मानिसहरूले ज्यान गुमाएका बताइएको छ।

मोरोक्कोको प्रमुख मध्येको शहर माराकेशमा कतिपय परिवार भग्नावशेषमा पुरिएका विवरण आएका थिए।

उक्त शहरमा अवस्थित राष्ट्रसङ्घ सम्पदा सूचीमा परेको मेडिनामा उल्लेख्य क्षति पुगेका जनाइएको छ। माराकेशमा मानवीय क्षति कम भएको जनाइएको छ। अल हाउज प्रान्तमा सर्वाधिक मानवीय क्षति भएको अधिकारीहरूले जनाएका छन्।

मोरक्कोका राजाले आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मोरक्कोका राजाले उद्धार र राहत व्यवस्थापनमा केन्द्रित आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए

मोरक्कोको राजदरबारले जनाए अनुसार देशका सबै सार्वजनिक भवनहरूमा तीन दिन राष्ट्रिय झन्डा झुकाइनेछ।

राजाले सबै सशस्त्र बलहरूलाई उद्धारमा खटिन निर्देशन दिएका छन् र मोरक्कोका नागरिकहरूले पीडितहरूलाई सहयोग पुगोस् भनेर रक्तदान गरिरहेका छन्।

सन् १९६० मा ६.७ म्याग्नीट्यूडको भूकम्पका कारण मोरक्कोमा १२ हजार भन्दा बढीले ज्यान गुमाएका थिए। पछिल्लो भूकम्प त्यसयताकै खराब विपद् हो।

शुक्रवारको भूकम्प पछिल्लो सय वर्षमा मोरक्कोमा गएको भूकम्पमध्ये सर्वाधिक शक्तिशाली हो।

राष्ट्रसङ्घबाहेक स्पेन, फ्रान्स र इजरेलले पनि मद्दत गर्ने प्रतिबद्धता जनाएका छन्।

छिमेकी अल्जेरिया र मोरक्कोबीच हालैका वर्षहरूमा तनावपूर्ण सम्बन्ध थियो। उसले मोरक्कोमा मानवीय सहयोगका लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

अझै डरको वातावरण

मोरक्को

तस्बिर स्रोत, Reuters

सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ। धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ।

माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको एक जना स्थानीय बासिन्दाले रोयटर्स समाचार संस्थालाई बताएका छन्।

शक्तिशाली परकम्प आउनसक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर नै बस्ने निधो गरेका छन्।

विभिन्न देशहरूले खोज तथा उद्धारमा मद्दत गर्ने वाचा गरेका छन्

तस्बिर स्रोत, Getty Images

उक्त ऐतिहासिक शहरका अर्का व्यक्तिले ‘खतरनाक कम्पन’महसुस गरेको र घरहरू हल्लिएको देखेको बताए।

“मानिसहरू डराएका र स्तब्ध भएका थिए। बच्चाहरू रोइरहेका थिए र अभिभावकहरू तनावमा थिए,” अब्देलहक एल एमारानीले एएफपी समाचार संस्थासँग भने।

उनका अनुसार बिजुली र फोन लाइन १० मिनेटसम्म कटेको थियो।

एएफपी समाचार संस्थाले कैयौँ मानिसहरूलाई अस्पताल लगिएको जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्सको दुर्गम क्षेत्रमा भएको भएपनि कम्पनहरू राजधानी रुबात अनि कासाब्लाङ्का र सुइरासम्म महसुस गरिएका थिए।

भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ।

उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।

भूकम्प
रेखा
रेखा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।