तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा मानिसहरू स्वघोषित धर्मगुरु र पन्थप्रति किन आकर्षित हुन्छन्
- Author, जाह्नवी मूले
- Role, बीबीसी मराठी
“म लड्नासाथ ममाथि २० जनाजति लडे। मलाई सास फेर्न गाह्रो भयो। मैले आफ्ना करङ भाँचिएको भेउ पाएँ” अस्पतालमा शय्याबाट भगवान् देवीले भनिन्।
उत्तर प्रदेशको हाथरसमा आयोजित सत्सङ्गमा सहभागी दुई लाख व्यक्तिमध्ये उनी पनि एक थिइन्। उक्त सत्सङ्गको अन्त्य दुःखद रूपमा भयो।
सत्सङ्गमा भागदौड हुँदा १२१ जनाको ज्यान गयो जसलाई भारतमा भएका नराम्रामध्ये एउटा भागदौड मानिएको छ।
भोलेबाबा उपनामले परिचित स्वघोषित गुरुको प्रवचन र सत्सङ्गमा अधिकांश सहभागीहरू महिला थिए।
उनी पहिला प्रहरीमा काम गर्थे। उनी स्वघोषित आध्यात्मिक गुरुमध्ये एक हुन्। उनले विगतका वर्षमा भारतीय समाजमा धेरै जनालाई आकर्षित गरेका छन्।
“म भाग्यमानी रहिनछु, म अभागी रहिछु। भगवान्कै उपस्थितिमा मेरो प्राण गएको भए म खुसी हुने थिएँ र म स्वर्गमा जान्थेँ,” सामाजिक सञ्जालमा धेरै शेअर भएको एउटा भिडिओमा एक महिलाले पत्रकारलाई भनेको देखिन्छ।
आयोजकहरूले अनुमान गरेकोभन्दा तीनगुना मानिस कार्यक्रममा भेला भएका थिए। दुर्घटना निम्तिने गरी भएका घटनाहरूको शृङ्खलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
उक्त दुःखद घटनाका बावजुद बाबाका प्रशंसकहरू उनीप्रति अझै नतमस्तक देखिन्छन्।
“बाबालाई यसमा कसरी जिम्मेवार भन्न सकिन्छ?” भागदौडमा आफ्नी आमा गुमाएका अजय सिंह प्रश्न गर्छन्। “जे भयो त्यो उहाँ कार्यक्रम स्थलबाट निस्केपछि भयो। उहाँले त भिडभाड नगर्न र घर फर्किन नै भन्नुभएको थियो।”
भोलेबाबाले पछि एउटा भिडिओ वक्तव्यमार्फत् दुःख व्यक्त गरे र “अस्तव्यस्तता निम्त्याउनेलाई नछोडिनेमा आफू विश्वस्त रहेको” बताए।
भागदौड : विश्वभरि मानिसहरू हताहत हुने घटना
धार्मिक भेलामा यस्तो दुःखद घटना भएको पहिलो पटक होइन।
सन् २०१८ मा दशहरा उत्सव मनाइरहेको एउटा भिडमाथि रेल जोतिँदा ६१ जनाको ज्यान गएको थियो।
सन् २०१३ मा मध्य प्रदेशमा हिन्दू धर्मावलम्बीको अर्को एउटा पर्वका बेला भागदौड मच्चिँदा ११५ जनाको ज्यान गएको थियो।
यूके र संयुक्त राज्य अमेरिकाजस्ता विकसित देशमा पनि धार्मिक पन्थ जोडिएका घटना भएको पाइएको छ।
गत वर्ष केन्यामा निराहार बस्ने एउटा पन्थका ४७ जनाको शव फेला परेका थिए। त्यहाँ नियमन नगरिने गिर्जाघरहरू थिए।
“मानिसहरू चमत्कार अथवा अलौकिक शक्तिमा विश्वास गर्न चाहन्छ। त्यही भएर हाम्रा चलचित्रमा पनि सुपरहिरो हुन्छन्,” धार्मिक मामिलाका विज्ञ तथा रिलिजन वर्ल्ड नामक संस्थाका संस्थापक भव्य श्रीवास्तव भन्छन्।
सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा 'फलोअर' भएका स्वघोषित बाबाहरू खास गरी भारतको जस्ता समाजमा प्रभावशाली रहँदै आएका छन्।
“मानिसहरू भगवान् राम अथवा कृष्णको अवतारमा विश्वास गर्छन्,” श्रीवास्तव भन्छन्।
“सामान्य मान्छेले केही खालका तपस्या गरेमा ऊ दैवी हुने विश्वास छ। स्वघोषित गुरुहरू देखा पर्नु त्यो पनि कारण हो।”
स्वघोषित गुरुहरूको लोकप्रियता समुदायको कुरा पनि भएको समाजशास्त्री दीपङ्कर गुप्ता बताउँछन्।
“हिन्दू धर्ममा प्रायः सामूहिक प्रार्थना गर्ने चलन छैन। तपाईँ एक्लै साधना गर्नुहुन्छ र मोक्ष आफूभित्रबाटै प्राप्त हुन्छ।”
“त्यस कारण बाबाले मानिसलाई ठूलो समूहको एउटा अंश भएको महसुस गराउँछन्। यसले उनीहरूलाई पनि पहिचान दिलाउँछ।”
“यस्ता अवस्थामा आस्था महत्त्वपूर्ण हुन्छ।”
“त्यस्ता गुरुलाई प्रश्न गर्दा त्यो समुदायले तपाईँलाई मन पराउँदैन,” ‘इन्डियाज लीडिङ बाबाज’ नामक पुस्तकका लेखक तथा पत्रकार भवदीप काङ भन्छन्।
“तपाईँले उनीहरूको दैवीशक्तिलाई स्वीकार गरिसकेपछि परिवार, साथीभाइ र आफ्ना प्रियजनभन्दा माथि गुरुलाई ठान्न तपाईँबाट अपेक्षा गरिन्छ।”
बाबा बन्ने चलन नयाँ होइन।
ओशो रजनीशका विश्वव्यापी अनुयायी भए भने ठूला नेता, सैन्य अधिकारी र उच्च पदस्थ व्यक्तिहरू सत्य साईबाबाका भक्त बने।
सत्ता र ख्यातिसँगको निकट सम्बन्धले उनीहरूमा शक्तिको अनुभूतिलाई झन् बल दिन्छ।
कतिपय बाबामाथि बलात्कार र हत्याजस्ता गम्भीर आरोपहरू पनि लागेका छन्।
बलात्कार गरेको अभियोग लागेपछि सन् २०१९ देखि बाबा नित्यानन्द फरार छन्। संयुक्त राज्य कैलाशको नाममा उनले आफ्नै 'देश' पनि स्थापना गरेका थिए।
गुरु र पन्थप्रति मानिसहरू किन आकर्षित हुन्छन्?
भागदौडका घटना र आपराधिक गतिविधिमा संलग्न रहेका आरोप लाग्ने गरेको भए पनि भारतमा स्वघोषित गुरुहरूका धेरै अनुयायी छन्।
दैनिक जीवनमा संसारिक मोहबाट ध्यान मोड्ने कुरा होस् अथवा व्यक्ति निराशा हटाउने कुरा होस्, बाबाहरूले चमत्कार गरिदिने दाबी गर्दै आएका छन्।
उनीहरू आफ्ना भक्तका समस्या तत्काल समाधान गरिदिने चामत्कारिक शक्ति आफूसँग भए जस्तो गर्छन्।
“विश्वव्यापीकरणपछि संसार युद्ध र आर्थिक समस्याहरूबाट गुज्रेको छ। यस्ता समयमा सामान्यतया मानिसहरू सरकारलाई नभई ईश्वरलाई स्मरण गर्छन्,” श्रीवास्तव भन्छन्।
“मानिसहरूलाई एक्लोपन महसुस हुन सक्छ र समुदायसँग जोडिनुपर्ने आवश्यकता महसुस हुन सक्छ। यो अवस्थामा आधुनिक, सहरकेन्द्रित बाबाहरूको उदय हुन पुग्छ। तीमध्ये कतिपयका विश्वभरि धेरै अनुयायी हुन्छन्।”
गरिब र अशिक्षित मानिस मात्र उनीहरूका अनुयायी हुन्छन् भन्ने छैन।
समाजशास्त्री दीपङ्करका अनुसार आर्थिक सङ्क्रमण, आर्थिक अस्थिरताको डरले मानिसमा तनाव निम्त्याउँछ र अस्थिरता महसुस गराउँछ अनि बाबाहरूतर्फ आकर्षित हुनेतर्फ डोर्याउँछ।
“सन् १९८० को दशकमा संयुक्त राज्य अमेरिकामा राष्ट्रपति रोनल्ड रेगनको कार्यकालमा गोस्पेलका लेखक ठानिएकाहरू टेलिभिजनमा निकै लोकप्रिय भएर निस्के। यो त्यति बेला भयो जतिबेला अमेरिका नवउदारवादको सङ्क्रमणकालमा थियो,” गुप्ता भन्छन्।
विकासशील देशका अधिकांश स्वघोषित गुरुहरू जीवन, रोगनिदान र उपचारविधिबारे सुझाव दिन्छन्। उनीहरू आफूसँग अलौकिक शक्ति भएको दाबी गर्छन्।
उनीहरूमध्ये कतिपयले असमानतादेखि, वनफँडानीसम्मका सामाजिक विषयमा प्रवचन दिन्छन्।
महिलामाझ लोकप्रियता
“विशेष गरी महिलाहरू बढी जोखिममा हुन्छन् र बाबाहरू विशेषतः उनीहरूलाई नै लक्षित गर्छन्,” दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक तथा धर्मनिरपेक्षता, राजनीतिक सिद्धान्त एवं सामाजिक न्याय मामिलाका विज्ञ हरीश वानखेडे भन्छन्।
पुरुषहरू सामाजिक र राजनीतिक क्षेत्रमा हावी रहेका बेला भारतमा खास गरी महिलाहरूले संस्कृति र परम्परालाई धानिरहेका हुन्छन्।
“निकै अनुदारवादी पितृसत्ता रहेको उत्तर भारतमा यो प्रवृत्ति झन् बढी देखिन्छ जहाँ छ। यद्यपि दक्षिणी भेगमा पनि यो समस्या व्याप्त छ,” वैभव श्रीवास्तव भन्छन्।
“कतिपय महिला त्यस्ता सभामा सहभागी हुन्छन् जसले उनीहरूलाई स्वतन्त्र अथवा पुरुषसमान भएको आभास दिलाउँछ।”
अधिकांश भारतीय परिवारमा पुरुषहरू घरबाहिर काममा जान्छन् र महिलाहरू घर चलाउँछन्।
“त्यो कारणले पनि महिलाहरू त्यस्ता बाबाका कुराबाट प्रभावित हुन पुग्छन्। तर अरू जोखिम समूहको हकमा पनि यो लागु हुन्छ।”
यो समस्या भारतका लागि नौलो होइन। प्यू रिसर्चको हालैको एउटा प्रतिवेदनले धर्मसँग आबद्ध नहुने मानिसहरूको सङ्ख्या विश्वभरि घटिरहेको देखाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।