मोदीको भारतमा मुस्लिम: ‘आफ्नै देशमा अदृश्य’

    • Author, सौतिक विश्वास
    • Role, भारत सम्वाददाता

उत्तर भारतको सहर आगराको नाम चलेको विद्यालयबाट ६ वर्ष अगाडि एकजना मुस्लिम बालक क्रोधित र लज्जित भएर फर्किए।

“मेरा कक्षाका सहपाठीहरूले मलाई पाकिस्तानी आतङ्कवादी भने,” ९ वर्षीय ती बालकले आमासँग भने।

लेखिका एवं मनोपरामर्शदाता रिमा अहमद त्यो दिन स्पष्टसँग सम्झन्छिन्।

“उग्र स्वभावको सानो बालक मेरो अगाडि आउँदा उसले यति साह्रो मुठ्ठी कसेको थियो कि उसको नङ्ले हत्केलामा दाग बनाएको थियो। ऊ निकै रिसाएको थियो।”

छोराले उनलाई बताएअनुसार उनका सहपाठीहरू जिस्किएर लड्दै थिए र शिक्षक बाहिर निस्किएका थिए।

“त्यतिनैखेर बालकहरूको एक समूहले उनीप्रति इशारा गर्दै भने, ‘यो पाकिस्तानी आतङ्ककारी हो। मार यसलाई!’”

केही सहपाठीहरूले उनलाई ‘नालीको किरा’ पनि भनेको उनले सुनाए।

रिमा अहमदले उक्त घटनाबारे गुनासो गरिन् तर उनलाई भनियो ‘त्यो सबै काल्पनिक कुरा हो….त्यस्तो केही भएको छैन।’

पछि उनले छोरालाई उक्त विद्यालयबाट झिकिन्। अहिले १६ वर्ष पुगेका ती किशोरको पढाइलेखाइ घरमै भइरहेको छ।

“मैले यो समुदायले बेहोरिरहेको झट्कालाई आफ्नै छोराको अनुभवबाट जानेँ। म आफू यहाँ हुर्किँदा यस्तो अनुभूति कहिल्यै गरेको मलाई याद छैन,” उनले भनिन्।

“हाम्रो (उच्च) वर्गीय अवस्थाका कारण शायद हामीले हरदम आफू मुस्लिम भएको अनुभूति गर्नु परेको थिएन। तर अब यस्ता वर्ग वा विशेषाधिकारले त झन् तपाईँ दृश्य निशाना बन्ने सम्भावना ज्यादा देखिन्छ।”

अदृश्य अल्पसङ्ख्यक

सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आए यता, भारतका २० करोड मुस्लिमहरूको जीवनयात्रा उथलपुथलपूर्ण बनेको छ।

हिन्दू भिजिलान्ते समूहहरूले गाईका व्यापारीहरूको हत्या गरिदिएका छन् भने मुस्लिम स्वामित्वका स-साना व्यवसायहरू निशानामा परेका छन्। मस्जिदहरूविरुद्ध अदालतमा निवेदनहरू परेका छन्। इन्टरनेटमा ट्रलहरूद्वारा मुस्लिम महिलाहरूको अनलाईन ‘लिलामी’ गराइएका छन्। दक्षिणपन्थी समूह एवं मूलधारको सञ्चारमाध्यमका केही पक्षले ‘लभ जिहाद’ - मुस्लिम पुरुषहरूले हिन्दू महिलासँग बिहे गरेर धर्मान्तरण गराइरहेको झुटा आरोप) - जस्ता आरोप लगाएर इस्लामविरुद्ध त्रास फैलाएका छन्।

र मुस्लिमविरुद्धका घृणापूर्ण अभिव्यक्ति बढेको छ – जसको तीन चौथाइ मामिला बीजेपी शासित राज्यहरूमा भएका विवरण आएका छन्।

“मुस्लिमहरू दोस्रो दर्जाका नागरिक बनेका छन्, आफ्नै देशमा एक अदृश्य अल्पसङ्ख्यक,” बिइङ् मुस्लिम इन हिन्दू इण्डिया नामक एक नयाँ किताबका लेखक जिया उस सलाम भन्छन्।

तर भारतमा अल्पसङ्ख्यकहरूसँग गलत व्यवहार भइरहेका आरोपलाई बीजेपी र मोदीले अस्वीकार गरेका छन्।

“एक थरी मानिसहरू छन् जसले आफ्ना समूहभन्दा बाहिर गएर अरू मानिसलाई भेट्दैनन्। भारतका अल्पसङ्ख्यकहरूले पनि यस्ता कथनहरू अब विश्वास गर्न छाडिसके,” प्रधानमन्त्री मोदीले न्यूजवीक पत्रिकालाई भनेका छन्।

तर रिमा अहमद – जसको परिवार आगरामा दशकौँदेखि बस्दै आएको छ र सहरका नागबेली गल्ली अनि भिडभाडपूर्ण बस्तीमा जसका कैयन् हिन्दू साथीहरू छन् – ले बदलाव अनुभव गरिसकेकी छन्।

सन् २०१९ मा अहमदले स्कूलको एउटा ह्वाट्सएप ग्रुपबाट अलग्गिनु पर्‍यो जसमा उनी र अर्को एक जना गरी जम्मा दुई जना मुस्लिम थिए।

मुस्लिम बहुल पाकिस्तानमा रहेका विद्रोहीहरूविरुद्ध भारतले हवाई हमला गरेको सन्देश उक्त ग्रुपमा पोस्ट भएपछि उनी त्यहाँबाट हटिन्।

“यदि तिनीहरूले हामीलाई क्षेप्यास्त्र हाने भने हामीले तिनका घरभित्र घुसेर तिनलाई मार्नुपर्छ,” सो ग्रुपमा पोस्ट गरिएको सन्देशमा लेखिएको थियो। मोदीले आतङ्कवादी तथा भारतका दुश्मनहरूको घरमा घुसेर मार्नेबारे गरेको टिप्पणीसँग त्यो सन्देश मेल खान्थ्यो।

“मलाई रिस उठ्यो। मैले साथीहरूलाई के भनेको यस्तो भनेर सोधेँ? के तपाईँहरू गैरसैनिक तथा बालबालिकाको हत्याको समर्थन गर्नुहुन्छ?” अहमदले त्यतिखेर आफूले सोधेको सम्झिइन्। उनी शान्तिको कामनामा विश्वास गर्छिन्।

बिथोलिएको वातावरण

तर त्यसपछिको प्रतिक्रिया बडो तेज गतिले आयो।

“कसैले सोध्यो, के तपाईँ मुस्लिम भएकैले पाकिस्तान समर्थक हो? उनीहरूले मलाई अराष्ट्रिय भएको आरोप लगाए,” उनले भनिन्।

“अचानक अहिंसाको वकालत गर्नुलाई राष्ट्र विरोधीको संज्ञा दिइयो। मैले भनेँ मेरो देशलाई समर्थन गर्न म हिंस्रक हुनु जरुरी छैन। त्यसपछि म (ह्वाट्सएप) समूहबाट हटेँ।”

बदलिँदो वातावरणलाई अरू तरीकाबाट पनि अनुभव गर्न सकिन्छ। लामो समयदेखि अहमदको ठूलो घर उनका सहपाठीहरू भेट्ने एक थलो बनेको थियो। ती साथीहरूको प्रवेशलाई लैङ्गिक वा धार्मिक हिसाबले विभेद गरिएको थिएन। तर अब ‘लभ जिहाद’को चर्चाका कारण उनले हिन्दू केटी साथीहरूलाई निश्चित समयभित्रै फर्किहाल्न र छोराका कोठामा नबसिरहन भन्ने गर्छिन्।

“मेरो बुबा र मैले छोरासँग बसेर वातावरण ठिक नभएको कुराकानी गरेका छौँ – तिमीले आफ्ना मित्रता सीमित गर्नुपर्छ, सावधान रहनुपर्छ, धेरै अबेरसम्म बाहिर बस्नु हुँदैन। के थाहा, कुनै पनि समय ‘लभ जिहाद’का आरोप आउन सक्छन्।”

वातावरणसम्बन्धी अभियानकर्मी इरम आगरामा बस्न थालेको उनको परिवारको पाँचौँ पुस्ताकी हुन्। स्थानीय स्कूलहरूमा उनको कामको सिलसिलामा उनले सहरी बालबालिकाको कुराकानीमा बदलाव पाएकी छन्।

“मसँग नबोल, मेरी आमाले तिमीसँग नबोल्नू भनेकी छन्,” एकजना बच्चाले उसको मुस्लिम सहपाठीलाई भनेको इरमले सुनिन्।

“मलाई लाग्यो यसले [मुस्लिमहरू प्रति] गहिरो गरी गढेको त्रास झल्काउँछ। यो त यसरी विस्तार हुँदैछ जुन सजिलै निको हुने छैन,” इरमले भनिन्।

उनका आफ्नै भने कैयन् हिन्दू साथीहरू छन् र एक मुस्लिम महिलाका रूपमा उनी असुरक्षित महसुस गर्दिनन्।

यो केवल बालबालिकासँग मात्र सम्बन्धित विषय भने होइन। आगराको व्यस्त सडक नजिकै एउटा सानो अफिसमा बसेका स्थानीय पत्रकार तथा अन्तर धार्मिक कार्यक्रम आयोजक सिराज कुरेशी हिन्दू तथा मुस्लिमबीच रहेको पुरानो मित्रभाव खिइँदै गएकोमा चिन्तित छन्।

उनले हालैको एउटा घटना स्मरण गरे जसमा खसीको मासु वितरणका निम्ति कतै लैजाँदै गरेका एक पुरुषलाई हिन्दू दक्षिणपन्थी समूहका सदस्यहरूले रोक्छन् र तिनलाई प्रहरीकहाँ पुर्‍याउँछन्। ती जेल पर्छन्। “उनीसँग आवश्यक इजाजत पत्र थियो तर पनि प्रहरीले पक्राउ गर्‍यो। पछि उनी रिहा भए,” कुरेशीले भने।

रेलमा यात्रा गरेका मुस्लिम यात्रुहरूले गाईको मासु साथमा राखेको आरोपमा भएका आक्रमणका घटनाहरूका कारण मुस्लिम समुदायको रेल यात्राको व्यवहारमा परिवर्तन आएको उनीहरू ठान्छन्।

“अचेल हामी निकै सावधान हुन्छौँ। सार्वजनिक सवारीसाधनमा मासु खानबाट हच्किएका छौँ र सकेसम्म सार्वजनिक सवारीसाधन प्रयोग गर्दैनौँ,” अहमदले भनिन्।

कलीम अहमद कुरेशी एक सफ्टवेर इन्जिनियरबाट गहना डिजाइनर एवं सङ्गीतकर्मी भएका छन्। आगरामा बस्दै आएको उनको परिवारको उनी सातौँ पुस्ताका हुन् र उनले सहरमा सम्पदा चिनाउने पथप्रदर्शकको काम पनि गर्छन्।

केही समयअघि उनले एक जना हिन्दू सहयात्री सँगै मिलेर ट्याक्सीमा दिल्लीबाट आगरासम्मको यात्रा गरे। उनले त्यतिखेर रुबाब भनिने सितारजस्तो साधारणतया अफगानिस्तानमा बजाइने बाजा बोकेका थिए।

“त्यो बाजाको बाकस देखेपछि ती यात्रुले बन्दुक पो हो कि भन्ठानेर मलाई खोल्न लगाए। मेरो नामले शायद उनमा त्यस्तो प्रतिक्रिया उब्जिएको मैले ठानेँ,” कुरेशीले भने।

“एक किसिमको सुर्ता बोकेर [हामी बाँचिरहेका छौँ]। अचेल यात्रा गर्दा म कहाँ छु, के बोल्दैछु वा के काम गर्दैछु भनेर मैले विशेष ध्यान दिने गरेको छु। टिकट जाँचकीलाई समेत आफ्नो नाम भन्न असहज लाग्ने गरेको छ।”

कुरेशीले यसको मूल कारण स्पष्ट देखेका छन्: “समुदायबीचको सम्बन्धमा राजनीतिले विष घोलिदिएको छ।”

'गैरजिम्मेवार मिडिया'

“मुस्लिमहरूले चिन्तित हुनुपर्ने कुनै कारण छैन,” बीजेपीका एक जना राष्ट्रिय प्रवक्ता सैयद जाफर इस्लामले हालैको एक दिन दिल्लीमा मसँग भने। उनले मुस्लिमप्रति बढ्दो घृणा भावका निम्ति ‘गैर जिम्मेवार मिडिया’लाई दोष दिए।

“कतै एउटा सानो घटना हुन्छ अनि मिडियाले त्यसलाई कहिल्यै नभएको जस्तो गरी बढाइचढाइ प्रस्तुत गर्छ। १ अर्ब ४० करोड जनसङ्ख्या भएको देशमा त्यस्ता घटनाहरू समुदायभित्रै वा समुदायका बीचमा भइरहन्छ,” उनले भने।

“एकाध घटनालाई लिएर तपाईँले सामान्यीकरण गर्न [र सत्ताधारी दल मुस्लिम विरोधी हो भन्न] सक्नुहुन्न। यदि कसैले ती घटनालाई लिएर मुस्लिमहरू निशानामा पारिएका छन् भन्छ भने त्यो गलत हो।”

आफ्नो बच्चा विद्यालयबाट फर्किएर आफूलाई ‘पाकिस्तानी आतङ्कवादी’ भनिएको बताए भने तपाईँले के प्रतिक्रिया दिनुहुन्छ भनेर मैले उनलाई सोधेँ। सन् २०२४ मा बीजेपीसँग जोडिएका उनी पूर्व ब्याङ्कर हुन् र उनका दुई बच्चा छन् जसमध्ये एक जना अहिले विद्यालय पढ्दै छन्।

“अरू अभिभावकलाई जस्तै मलाई पनि नराम्रो लाग्नेछ। त्यस्ता घटना हुन नदिने जिम्मेवारी विद्यालयको हो,” उनले भने।

अनि बीजेपीले ७९% जनसङ्ख्या हिन्दू भएको देशमा हिन्दू राष्ट्र स्थापना गर्ने चर्चा चाहिँ के हो?

“मानिसहरूलाई थाहा छ यो केवल बयानबाजीको कुरा हो। के हाम्रो सरकार वा पार्टीले त्यस्तो कुरा गरेको छ? किन त्यस्ता बयानबाजी गर्ने मानिसहरूलाई सञ्चार माध्यमले ठाउँ दिइरहन्छन्? सञ्चार माध्यमले त्यस्ता मानिसलाई ठाउँ दिँदा नराम्रो लाग्छ,” इस्लामले भने।

मुस्लिम प्रतिनिधित्वको अभाव

बीजेपीको सरकारमा कुनै मुस्लिम मन्त्री छैनन्। संसद्को दुवै सदनमा उसका कुनै मुस्लिम सदस्य छैनन्। देशभरिका एक हजारभन्दा धेरै विधानसभा सदस्यमध्ये उसको केवल एक जना मुस्लिम विधानसभा सदस्य छन्।

बीजेपीका पूर्व सांसद समेत रहेका इस्लाम भन्छन् यो नियतवश होइन।

“मुस्लिमहरूलाई कंग्रेस तथा अन्य विपक्षी पार्टीहरूले बीजेपीलाई हराउने तिनको एजेन्डा अन्तर्गत उपयोग गरिरहेका छन्। यदि पार्टीले मुस्लिम उम्मेदवार मैदानमा उठाउँदा पनि मुस्लिमहरूले ती उम्मेदवारलाई भोट दिँदैनन् भने कुन पार्टीले त्यसरी टिकट देला?”

यो साँचो हो कि सन् २०१९ को चुनावमा भारतीय मुस्लिममध्ये केवल ८% ले मात्र बीजेपीलाई भोट दिए। तिनले मोदीको पार्टीविरुद्ध एउटा ब्लककै रूपमा भोट दिन थालेका छन्। सन् २०२० मा भएको बिहार राज्यको चुनावमा ७७% ले बीजेपीविरोधी गठबन्धनलाई भोट दिए; सन् २०२१ मा पश्चिम बङ्गालमा ७५% ले क्षेत्रीय दल त्रिणामूल कंग्रेसलाई भोट दिए; र सन् २०२२ मा उत्तर प्रदेशमा ७९% ले समाजवादी पार्टीलाई मत दिए।

इस्लाम भन्छन् कंग्रेस नेतृत्वका विपक्षी दलहरूले मुस्लिम समुदायमा त्रास फैलाइरहेका छन्। तर मोदी सरकारले कुनै भेदभाव नगरेको उनी बताउँछन्।

“कल्याणकारी योजनाहरू सबै समुदायलाई समान छन्। गत १० वर्षमा कुनै ठूलो दङ्गाको घटना भएको छैन।”

वास्तवमा सन् २०२० मा विवादास्पद नागरिकता कानुनको विषयमा दिल्लीमा भएको दङ्गामा अधिकांश मुस्लिमसहित ५० जनाभन्दा धेरैको ज्यान गएको थियो – तर भारत स्वतन्त्र भएयता निकै नराम्रा दङ्गाहरू भएका छन्।

मुस्लिमहरू मूलधारभन्दा अलग्गै भएर बस्ने गरेको प्रति उनले प्रश्न गरे।

“मुस्लिमहरूले आत्म निरीक्षण गर्नु पर्छ। कसैको भोट ब्याङ्क बन्न र धार्मिक नेताहरूको बहकावमा लाग्न हुँदैन।”

“मानिसहरू खुशीसाथ मिलेर बसून् भनेर मोदीले समाजलाई एकताबद्ध बनाउन मिहेनत गरिरहेका छन्।”

मैले उनलाई मोदीको नेतृत्वमा भारतमा मुस्लिमहरूको भविष्य कस्तो देख्नुहुन्छ भनेर सोधेँ।

“एकदम राम्रो छ …. मनस्थितिहरू बिस्तारै बदलिँदै छन्। थप मुस्लिमहरू बीजेपीसँग जोडिने छन्।”

भविष्यप्रति अनिश्चय

साँच्चिकै राम्रो भइरहेको छ कि छैन भन्न कठिन छ।

अहिलेको उतारचढावका माझ कतिपय मुस्लिमहरूले उनीहरूको समुदाय पनि सुधारको प्रक्रियामा लागिपरेको बताउँछन्।

“मुस्लिमहरूले स्वनिरीक्षण गर्दै छन् र शिक्षित बन्दै छन्। मुस्लिम शिक्षाविद् तथा बुद्धिजीवीहरूले समुदायका बालबालिकालाई मद्दत गर्न मिलेर प्रयास गरिरहेका छन्। आफ्ना समुदायमा सुधार ल्याउन गरिएको प्रयास प्रशंसनीय छ तर त्यसले सरकारप्रतिको अविश्वास पनि झल्काउँछ,” लेखक सलामले भने।

उसो भए वर्ग, सम्प्रदाय, जाति र क्षेत्रीय आधारमा बाँडिएको विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा मुस्लिमहरूको भविष्य कस्तो होला?

आफ्नो मनमा ‘डर’को अनुभूति रहेको सलाम बताउँछन्।

“मानिसहरू मुस्लिम समुदायमा रोजगार नभएको र महँगीले ढाड सेकेको बताउँछन्। तर यो केवल रोजगार र महँगीको विषय होइन। यो त बाँच्ने अधिकारसँग सम्बन्धित छ,” उनले भने।

युवा मुस्लिमहरूका हालै प्रकाशित संस्मरणहरूमा त्यस्तै डर पाइन्छ।

“लगभग सबैले आफू कुन देशमा भाग्ने भनेर रोजिसकेका छन्। कतिपयले क्यानडा, अमेरिका, टर्की वा यूकेमा रहेका आफन्तसँग सम्पर्क गरेका छन् – कहीँ कुनै बेला शरण पो चाहिन्छ कि भनेर। मजस्तो मानिसले पनि, जसले साम्प्रदायिक हिंसाका बेला पनि सुरक्षित अनुभव गरेको थिएँ, अब चाहिँ स्वदेशमा आफ्नो परिवारको भविष्यबारे चिन्ता गर्नु परेको छ,” हालै प्रकाशित किताब सिटी अन फायर: अ बोयहुड इन अलिगढका लेखक जेयाद मसरुर खानले लेखेका छन्।

आगरामा रिमा अहमदको मनमा पनि भविष्यलाई लिएर अनिश्चयको भारी छ।

“सुरु सुरुमा त यस्ता [मुस्लिमविरोधी] घटनालाई छिटपुट भन्दै यो समय बितेर जाने ठानेँ। त्यो १० वर्ष अगाडिको कुरा हो। अचेल त मलाई के लाग्छ भने धेरै कुरा स्थायी रूपमै हामीले गुमाइसकेका छौँ वा बिग्रिसकेको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।