भारतमा झन्डै ९७ करोड मतदाता, संसदीय चुनाव कहिले र कसरी हुन्छ

भारतमा अर्को साता आरम्भ भएर छ सातामा सकिने संसदीय निर्वाचन विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास हुने छ।

एप्रिल १९ देखि जुन १ सम्म चल्ने उक्त चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा नरेन्द्र मोदीको छ।

विपक्षी दलहरूले उनी सत्तामा रहिरहे भारतीय जनताले स्वतन्त्रता गुमाउने चिन्ता व्यक्त गरेका छन्।

नरेन्द्र मोदी र भाजपाविरुद्ध कुनकुन दल छन्

हालै गरिएका मतसर्वेक्षणहरूले संसद्को तल्लो सदन लोकसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका साझेदारहरूले तेस्रो पटक जित हासिल गर्ने देखाएका छन्।

लोकसभाले प्रधानमन्त्री निर्वाचित गर्छ र प्रधानमन्त्रीले सरकारका मन्त्रीहरू चयन गर्छन्।

सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।

भाजपाले बनाएको गठबन्धन 'न्याश्नल डेमोक्र्याटिक अलायन्स'मा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए।

प्रमुख विपक्षी इन्डियन न्याश्नल कङ्ग्रेस नेतृत्वको गठबन्धनबाट सन् २०२४ मा प्रमुख चुनौती हुने छ।

दुई दर्जन पार्टीहरू मिलेर मोदीलाई चुनौती दिन 'इन्डियन न्याश्नल डेभलप्मन इन्क्लुसिभ अलायन्स' (इन्डिया) नामक गठबन्धन बनाएका छन्।

उक्त गठबन्धनमा रहेका प्रमुख राजनीतिज्ञमा मल्लिकार्जुन खर्गे तथा दिवङ्गत प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुल र छोरी प्रियङ्का गान्धी छन्। उनीहरूकी आमा सोनिया गान्धी शक्तिशाली विपक्षी नेता हुन् तर उनले सन् २०१९ मा जस्तो सक्रिय रूपमा अभियानमा सहभागी नहुने ठानिएको छ।

उक्त गठबन्धनमा दिल्लीको सत्तारूढ आम आदमी पार्टी र कैयौँ महत्त्वपूर्ण क्षेत्रीय दलहरू पनि छन्।

आम आदमी पार्टीका तीन नेताहरूलाई हालै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। सो दलले मोदी र उनको दल भाजपाले प्रतिशोधको भावना राखेको आरोप लगाएको छ। तर भाजपाले त्यस्तो आरोपको खण्डन गर्दै आएको छ।

यो निर्वाचनमा प्रमुख मुद्दा के हुन्? भारतीय निर्वाचनको महत्त्व कस्तो छ?

मोदीले बढ्दो अर्थतन्त्र र चीनसँगको द्वन्द्वमा भारतलाई आफ्नो साझेदार बनाउन चाहिरहेको अमेरिकासँगको निकटताका कारण आफ्नो देशको विश्वव्यापी हैसियत बढेको दाबी गर्न सक्छन्।

हालै उनले एउटा कल्याणकारी नीति पनि ल्याएका छन्।

उक्त नीतिअन्तर्गत भारतका ८० करोड अतिविपन्न मानिसहरूलाई निःशुल्क अन्न र कम आय भएका परिवारका महिलाहरूलाई १,२५० रुपैयाँ भत्ता दिइन्छ।

आफ्नो घोषणापत्रमा कङ्ग्रेसले विशेष गरी युवाहरूमा बेरोजगारी उच्च तहमा रहेको जनाएको छ। उसले महिलाहरूलाई कल्याणकारी भुक्तानी बढाउने, ३० लाख थप रोजगारी सिर्जना गर्ने र कलेज छाड्नेहरूलाई तलबी प्रशिक्षण दिने वाचा गरेको छ।

उसले भारतलाई "निरकुङ्ता" तिर ढल्किन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। तर अल्पसङ्ख्यक समूहहरूले आफूले पटकपटक विभेद र आक्रमणको सामना गर्नुपरिरहेको र मोदीको शासनकालमा "दोस्रो दर्जा" को नागरिक बन्न बाध्य भएको बताएका छन्।

यद्यपि भाजपा त्यो आरोपलाई अस्वीकार गर्छ।

अन्तर्राष्ट्रिय नागरिक स्वतन्त्रताको पक्षमा पैरवी गर्ने एउटा समूह 'फ्रीडम हाउस'ले भाजपाको सरकारलाई प्रश्न सोध्ने पत्रकार वा अन्यमाथि "दुर्व्यवहार" को मात्रा बढेको जनाएको छ।

उसले भारतलाई "आंशिक स्वतन्त्रता" भएको देशहरूको सूचीमा राखेको छ।

मतदान कहिले हुन्छ? निर्वाचन सकिन किन लामो समय लाग्छ?

विभिन्न ठाउँहरूमा सात फरकफरक दिनमा मतदान हुने कार्यक्रम छ।

  • एप्रिल १९
  • एप्रिल २६
  • मे ७
  • मे १३
  • मे २०
  • मे २५ र
  • जुन १

सबैतिर मतदान सकिएपछि परिणाम जुन ४ मा घोषणा गरिने छ।

मतदान केन्द्रहरूमा प्रभावकारी सुरक्षाव्यवस्था मिलाउन र अधिकारीहरू खटाउ पनि चुनावलाई चरणबद्ध गर्न लागिएको हो।

मतदानका लागि दशौँ लाख विद्युतीय उपकरण पनि प्रयोग हुने छन्।

त्यसमा मानिसहरूलाई ‘कुनै पनि उम्मेदवारलाई मत दिन्न’ भन्नेमा मत राख्ने पनि व्यवस्था गरिएको छ।

लोकसभा निर्वाचनमा कसले मत दिन पाउँछन्?

मतदाता नामावलीमा सूचीकृत १८ वर्ष पुगेका सबै भारतीय नागरिकहरू मत दिन पाउँछन्।

उनीहरूसँग मतदाता परिचयपत्र पनि हुनुपर्छ।

भारतभन्दा बाहिर रहेका एक करोड ३४ लाख नागरिकले पनि मत खसाल्न सक्छन्। तर त्यसका लागि उनीहरूले नाम दर्ता गराउनुपर्छ र त्यसो गर्न भारत नै फर्किनुपर्छ।

लोकसभामा ५४३ सदस्य हुन्छन्। कुनै दलविशेष वा गठबन्धनलाई बहुमत पुर्‍याउन २७२ सीट चाहिन्छ।

लोकसभाका सदस्यहरू पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुन्छन् र प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ।

‘अनुसूचीकृत जाति’ र ‘अनुसूचीकृत आदिवासी’ समुदायका लागि १३१ वटा सीटको आरक्षण छ।

ती समूहलाई पछि परेको समुदायका रूपमा मान्यता दिइएको छ र उनीहरूले भारतको जनसङ्ख्याको एकचौथाइ भागको प्रतिनिधित्व गर्छन्।

भारतले एकतिहाइ सीट महिलाका लागि छुट्ट्याउने कानुन पनि अनुमोदन गरेको छ। यद्यपि त्यो अझै वकार्यान्वयनमा आइसकेको छैन।

भारतमा मत कसरी सङ्कलन गरिन्छ

भारतको क्षेत्रफल १३ लाख वर्गमाइल छ। निर्वाचनसम्बन्धी नियमले प्रत्येक मतदान केन्द्र मानवबस्तीनजिकै हुने व्यवस्था गरेको छ।

सन् २०१९ को निर्वाचनमा गुजरातको गीर राष्ट्रिय निकुञ्जको दुर्गम वनक्षेत्रनजिकै त्यहाँ बसोबास गर्ने एक व्यक्तिका लागि मतदान केन्द्र स्थापना गरिएको थियो।

सन् २०२४ को निर्वाचनमा उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशमा एउटी एकल महिलाको मत सङ्कलन गर्न अधिकारीहरूले २४ माइल यात्रा गर्ने भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।